गृह मन्त्रालयले गत पुस ८ गते जिल्ला प्रशासन कार्यालय डोटीलाई एक परिपत्र जारी गर्यो। विषय थियो, छाउगोठबारे।
छाउपडीप्रथा अन्त्यका लागि अभियान चलाउने निर्देशनसहितको उक्त परिपत्र सुदूरपश्चिम र कर्णालीका १९ जिल्लाले कार्यान्यन गर्नुपर्ने थियो।
छाउपडीबारे सुनेको थिएँ, तर देखेको थिइनँ। त्यसैले छाउगोठ हेर्न र गाउँको धारणा बुझ्न स्थानीय मानव अधिकारकर्मी र प्रहरीसहित डोटी जिल्लाको गोदरा गाउँतिर लाग्यौं।
हरियाली गहुँबारी र पहेँलपुर तोरीबारी, ढुंगाले छाएका प्रायः दुई तले घर। धुलेसडक र गोरेटो छिचोल्दै हामी गोदार पुग्यौं।
पहिलो, दोस्रो हुँदै तेस्रो घरमा पुग्दासम्म छाउगोठ भेटिएन। मैले सोचेजस्तो प्रत्येक घरमा छाउगोठ हुँदैन रहेछ। चौथो घरमा पुग्यौं। १०/१५ जना भेला भइसकेका रहेछन्। छाउगोठ त भेटियो, तर भत्किसकेको। गाउँलेहरू आफैंले भत्काएर हामीलाई देखाउन आतुर रहेछन्।
प्रहरी प्रशासन, स्थानीय तह र अभियन्ताहरूको सूचनाले पारेको प्रभावले उनीहरू आफैंले छाउगोठ भत्काएका रहेछन्।
५ घरपरिवारको सामूहिक छाउगोठ रहेछ, त्यो।
रोजगारीका लागि भारत गएकाले कोही पुरुष देखिएनन् त्यहाँ।
सोधें, ‘अब छाउ हुँदा कहाँ बस्नुहुन्छ?’
उनीहरूले घरको भुइँतलामा बस्ने विकल्प सुनाए। प्रायः घरका भुइँतलामा गाईभैंसी र माथिल्लो तलामा मान्छे बस्दा रहेछन्।
तल्लो टोलमा आमाछोरी मात्र बस्ने घर भेट्यौं।
‘छाउगोठ भत्काएपछि कहाँ बस्ने?’ भन्नेमा उनीहरू नाजवाफ थिए।
खाटमा सुते आफू देउतामाथि परिने भएकाले खाटमा सुत्न नमिल्ने मात्रै बताए।
मेरो लागि यी सबै दृश्य र अनुभव नयाँ थिए।
वरिपरिका सबै महिला र केटाकेटी भेला भए। त्यहाँ छाउगोठकी एक महिला अभियन्ता भेटिइन्। शिक्षण पेशा गर्ने उनले धामी परिवारकी बुहारी भएर २ वर्षसम्म छाउ लुकाउँदा कोही बिरामी नभएको प्रसंग सुनाइन्।
‘छाउपडी भ्रम हो’ भन्दा गाउँलेले आफूलाई बाठी र नेता भएको भन्दै हेयको दृष्टिले हेरेको अनुभव सुनाइन्।
लाग्यो, गाउँमा बुढापाका र पुरानो पुस्ताको डरले पनि छाउगोठमा बस्नुपर्दोरहेछ। ‘आफ्नो गाउँमा कसैले छाउ बार्न नपर्ने र कतै पनि छाउगोठ नरहेको’ प्रसंग मैले सुनाउँदा त्यहाँका मान्छे आश्चर्यचकित भए।
केही भलाकुसारी गरेर तल्लो टोल ओर्लियौं।
बाटोमा कक्षा १२ मा अध्ययनरत छात्रा भेटिइन्।
सोधें,‘तपाईं छाउगोठमा बस्नुहुन्छ?’
‘बस्छु’ उनले जवाफ फर्काइन्।
फेरि सोधें, ‘किन ?’
‘यहाँका मान्छेले भनेको मान्दैनन्,’निर्दोष भावमा जवाफ दिइन्।
छाउगोठमा नबस्दा केही पनि नहुने कुरा पुरानो पुस्ताले बुझिदिएको खण्डमा नयाँ पुस्ता छाउगोठबाट निस्कन तयार रहेको अनुभव भयो ।
ती छात्राले अर्को प्रसंगमा सुनाइन्, ‘हाम्रो स्कुलको पूजारी सरले केटी भए (अविवाहित) ६ दिन र महिला (विवाहित) भए ७ दिनपछि चोखिएर मात्र पूजाको चामल ल्याउनु भन्नुहुन्छ।’
उनलाई छाउगोठ भएका घर देखाइदिन भन्यौं। त्यसपछि केही घरहरूलाई औल्याउँदै आफ्नो बाटो लागिन्।
केही तल अर्को घरमा भेटिएको छाउगोठमा १६ घरका महिलाले छाउ बार्ने रहेछन्। ‘गोठमा बस्दा सुरक्षित भइन्न। घरमा बस्दा हुन्न ?’ मैले उनीहरूलाई सोधें।
‘छाउ नबार्दा देउता रिसाउँछ। भैंसीले दूध दिँदैन। बाघ आउँछ। गाईभैंसीलाई बाघले लान्छ। यो समय स्कुल जानु हुँदैन। दूधदही खानु हुँदैन। घर र भाँडाकुडा छुन हुँदैन।’ गालालाई हत्केलामा अड्याउँदै एक जना आमाले बेलिविस्तार लगाइन्।
यतिकैमा अछाम माइती भएकी बुहारी बोलिन्,‘अछामको सोकट गाउँमा महिलाहरू छाउ हुँदा आफ्नै घरमा बस्न थालेका छन्।’
उनको यो कुरा सुनेपछि मैले जिज्ञासा राखें, ‘अब यहाँ आफैंबाट सुरू गर्दा कसो होला?’
उनले भनिन्, ‘सम्झाउँछु। तर यहाँका मान्छे मान्दैनन्।’
त्यहाँबाट हिँड्नै लाग्दा एक जना आमाले कठोर वचनले बोलिन्, ‘हामीलाई नसम्झा। हाम्रो देउतालाई सम्झा।’
आमाले यति भनेपछि मनले सोचें ,‘छाउगोठ होइन, यहाँ त अन्धविश्वासलाई भत्काउनु पर्नेरहेछ। तर कसरी?
तेर्सो बाटो हिँडेर अर्को टोल पुग्दा छाउगोठ र शौचालय भित्तामा सँगै टाँसिएर रहेको देखियो।
शौचालयको छानोमा सिमेन्ट र छाउगोठको छानोमा माटो प्रयोग गरिएको थियो। संरचनाले नै विभेद गरिरहेजस्तो। चिसो र साँघुरो, अँध्यारो र होचो, रातो माटोले पोतिएको अनि ध्वाँसो लागेको छाउगोठ।
कुनै पनि छाउगोठमा ढोका थिएनन्, उदांगै। यस्तै छाउगोठमा ६/७ रात बस्नुपर्छ। नाम ‘गोठ’ भए पनि प्राय ४ फिट उचाइ र उस्तै लम्बाइ–चौडाइका यस्तो छाउगोठमा कसरी रात काट्छन् होला, महिलाहरू?
छाउगोठको अवस्था, घरसँगको दूरी, पानीको प्रयोग, सरसफाइ र सुरक्षासम्बन्धी जानकारी संकलन गरेर हामी त्यहाँबाट हिँड्यौं।
एक ठाउँमा भने घर बनाउँदा घरमै छाउ बार्ने स्थान बनाइएको रहेछ।
घरैमा भएकोले देउता रिसाएको विश्वासले छुट्टै स्थानमा बनाइएको रहेछ।
ओरालो लागेपछि बल्ल पुरुष अभिभावक भेटिए।
घरको माथिल्लो तलामा ३ कोठा रहेछन्। आफ्नो ३ बुहारीलाई छाउ हुँदा घरमै राख्ने कुरामा उनी उदार देखिए।
उनले घर नजिकैको छाउगोठ भत्काउने कुरा सुनाएपछि पुरानो पुस्ताको मानसिकतामा परिवर्तनको सुरूआत भएको अनुभूति भयो।
अपरान्हको ४ बजिसकेको थियो।
अब हामी एउटा टोल घुमेर फर्कने तयारीमा थियौं। उकालो लाग्दा बाक्ला घर आपसमा जोडिएर बसेको टोल देख्यौं। तर छाउगोठ देखिएन। कसैले देखाउन चाहेनन् पनि। त्यहाँ हामीलाई केटाकेटीले घेरे।
मैले उनीहरूमा होडबाजी लगाइदिएँ, ‘ल कस्ले पहिला छाउगोठ देखाउने है त!’ पहिलो हुने होडमा उनीहरू दौडिन थाले। मैले पनि उनीहरूलाई पछ्याउन थालें। बच्चाहरूले घरको जग र भुइँतलामा नै जोडिएका सुरुङजस्ता २ स्थान देखाए, जसलाई स्थानीय भाषामा ‘ठोटा’ भनिँदोरहेछ।
‘ठोटामा बस्न हुँदैन है!’ मैले उनीहरूलाई भनें।
‘यस’, एक बालक अंग्रेजीमा बोल्यो।
ती बच्चाहरूको मैले छोटो भिडिओ रेकर्ड गरें। छेवैमा उभिएकी १२/१३ वर्षीया बालिकालाई भनें, ‘छाउ हुँदा घरमै बस्नुपर्छ है!’
उनले त आश्चर्य मान्दै जिब्रा पो टोकिन्! छाउगोठका यी दृश्य हेरेपछि र छाउगोठबारे त्यहाँका स्थानीयका धारणा बुझेपछि हामी सदरमुकाम फर्कियौं।
निर्दोष अनुहार। आफ्नोपन र स्वच्छ मन। मौलिक गाउँले जीवन। सबभन्दामाथि देवता र भगवान। फर्किंदा बाटोमा पानी कुरेर बसेका खाली ग्यालेनका लस्कर हेर्दै फर्किरहँदा मनमा अचानक ती बच्चाहरुको याद आयो, ‘बिचरा! तँछाडमछाड गर्दै ठोटा देखाउने ती केटाकेटीले आमाहरूको कति गाली खाए होलान् !’