आजकाल म हैरान छु, मेरो बाआमाको जिन्दगी हेरेर। मलाई बेस्सरी अत्यास लाग्छ उहाँहरूको मौनता देखेर। कहिलेकाहीँ लाग्छ कति पट्यार लाग्दो जिन्दगी बाँचिरहेका छन्। यदि अक्षर फुटाउन जान्दा हुन् त जिन्दगी बाँच्ने होइन, जिन्दगी धान्ने कलामाथि आफ्नो क्षमता समाज र राज्यलाई देखाइदिन्थे होला।
उसो त मेरो बा-आमाको बोलीमा माधुर्यता छ। सानो छँदा उहाँहरूसँगै मेलापात, घाँस-दाउरा जाँदा सुनेको हुँ मैले उहाँहरूले गाएका गीत। तर मेरो बा आमा कहिल्यै गायक बनेनन् वा यो राज्यले उहाँहरूलाई गायक बन्ने वातावरण तयार गर्न सकेन।
आज बिहान घडीले ४:५० बजाएपछि मोबाइलले अलार्म बजायो। अलार्मसँगै म बिउँझिएँ। कोठाभरि अँध्यारो पोखिएको थियो। अँध्यारोमा मेरो सिरानको झ्यालनजिकै आगोको रातो वस्तु ठम्याउन मलाई समय लागेन।
‘यति बिहानै अर्काको कोठामा चुरोट सल्काएको?’
(मेरो बाबा सानैदेखि धूम्रपान प्रेमी, यसरी चुरोट तानेको मलाई पटक्कै मन पर्दैनथ्यो तर कहिलेकाहीँ लाग्छ यो प्रश्न पनि मेरो सानोतिनो विद्रोह नै हो।)
बाबाले सधैँ झैँ आज पनि जवाफ दिन जरुरी ठान्नु भएन। बरु प्रतिप्रश्न थियो, ‘चिया खाने?’
मैले तातोपानी मागेँ। मेरो आमाबाबाको उठ्ने समय प्राय: उस्तै हुन्छ। आमाले मलाई तातोपानी दिँदै भन्नुभयो, ‘तेरो बाबा आज रातभरि सुतेको छैनन्, आज मात्रै हो र अरू बेला पनि निदाएजस्तो लागेन। आज बेस्सरी गाह्रो भएछ। मलाई थाहा छ सजिलो त अरू बेला पनि थिएन तर आज त्यस्तो के भयो बालाई? ज्वरो आएको छ, पिसाब पोल्यो भनेर हैरान पारेका छन्।’
मैले सुनेँ तर प्रतिक्रिया जनाइनँ।
अहो! बाबालाई यति गाह्रो भएको मैले कसरी थाहा पाइनँ? म भान्सा कोठातिर लागेँ। त्यस दिन बाबा भान्सामा दाहिने हातले काम गर्दै हुनुहुन्थ्यो। सोचेँ, हात पनि बेस्सरी दुखेछ क्यारे। दुखेकै हातले बाबा धन्दामा लाग्नुभयो, आमा भैँसीगोठ तिर। अनि म आफ्नै काममा।
ज्यान कामतिर लागे पनि मन बाबाको बिसन्चोतिर गइरह्यो। प्रश्नका लस्कर आइरहे। मस्तिष्कमा चिसो पस्यो। बाबाको मौनताले बेस्सरी पिरोल्छ मलाई। झन् आजको मौनताले मुटुभरि तीर हानिरह्यो।
अक्सर बाआमाको महिमा गाथा गाउने, बलिदान र त्यागको व्याख्या गरी महान् गर्ने सन्तान मैजस्ता त हुँदा हुन् नि।
बाबालाई परिवारको स्तम्भ घोषित गरेर गर्वले छाती फुलाउँदै हिँड्नेहरूको अनुहार पनि मेरै जस्तो त हुन्छ होला। आमाको छातीमा गाँठो परेका बाध्यता फुकाउन चेष्टा नगर्ने तर उनको गुणगान गर्दै हिँडेकोमा आज मलाई लज्जाले घेरेको छ।
लेखक रामलाल जोशीको पुस्तकमा ‘आमा यथार्थ कि देवी, बाबा विश्वासका देवता’ उल्लेख छ। यसको असली अर्थ आज बुझेँ सायद।
१२ कक्षाको परीक्षासँगै राम्रो अंक ल्याएर पास गरेपछि स्नातक भर्ना हुनुपर्ने थियो। गाउँमा सानैदेखि बाआमाको काखमा दुःख सु:ख देखेर हुर्किएको म अचानक सङ्घर्षका समुद्रहरूमा पौडिन मन लाग्यो। सानैदेखि प्रशासनतर्फ रुचि भएर होला मैले स्नातक पनि प्रशासनतर्फ गर्ने सपनाको पहिलो अडान एक्लै तय गरेँ, पृथ्वीनारायण नारायण क्याम्पसमा।
एक्लै पोखरा जाने निर्णय गरेँ। यसरी सपनाको पहिलो उडान एक्लै तय गरेँ। जिन्दगीको पहिलो गन्तव्यको साक्षी म आफै हुँ र त्यसको भुक्तभोगी पनि आफैँ; केवल म अनि मेरा सपना। पढ्ने सपना आफै तय गरेँ, जिन्दगीको पहिलो यात्रा, थाहा थिएन पृथ्वीनारायण क्याम्पस कहाँ हो? म पढ्ने क्याम्पससम्म पुग्छु या पुग्दिनँ, त्यो पनि थाहा थिएन। थाहा थियो त केवल पढ्ने सपना पछ्याउने आँट। त्यो थियो जिन्दगीको एउटा पाठ।
पोखरा जाने निधो बा आमालाई सुनाएँ। दुवै जना प्रतिक्रियाविहीन हुनुभयो र उहाँहरू फेरि मौन रहनुभयो। आँखाबाट बलिन्द्र आँसुका धारा छुटिरहे। सायद उहाँहरूको भन्नु त्यति थियो। यसै पनि मेरो जिद्दी अगाडि उहाँहरूको आँसुको अर्थ थिएन। उहाँहरूले मलाई रोक्नु भएन। सायद उहाँहरूको सपना पनि मसँगै जोडिएको थियो र छ अझै पनि।
त्यो दिन आमाले खाना खानुभएन। मलाई थाहा थियो, आमालाई खाना नरुचेको कारण। उसो त मलाई पनि आमाबाबालाई छोड्न मन थिएन। दाइभाउजूबाट टाढा पुग्न मन थिएन। घर अगाडि पछाडि सुन्तलाको रुख मेरो हरेक सुखदुःखको साथी थियो।
त्यहाँ दुःख थियो तर शान्ति थियो। कष्ट थियो तर आनन्द थियो। सकस थियो तर सुख थियो। त्यही दुखसुखको आनन्दमा हामी बाँचेका थियौँ। अन्ततः आमाबाबाको आँसुले बाध्यता अघि घुँडा टेके र म हिँडेँ सपना खोज्न पोखराको खाल्डोमा।
आज त्यो दिनपछि जिन्दगीका पाँच वर्षहरू बितिसकेछ। यी बितेका वर्षमा आमाबाबालाई नजिकबाट नियाल्ने मौकै पाइनँ। आज पनि आमाबाबाको आँखा नियाल्ने हिम्मत हटिसकेको छैन। कुन्नि के-के सपनाका चिहान हुन् उहाँका आँखा? कति रहर दफन गर्नु भएकी होला तिनै आँखाका गहिराइमा?
विशाल समुद्रलाई मेरो बाआमाको आँखासँग तुलना गर्न मिल्छ कि मिल्दैन म जान्दिनँ। तर म यो जान्दछु, समुद्रको गहिराइ र मेरो बाआमाको आँखामा दबेको अभाव अनि रहरको रहस्यमा केही फरक छैन। उहाँहरूको चाउरी पर्नै लागेका अनुहारलाई आज पनि नियाल्ने हिम्मत छैन। सायद आज पनि मैले उहाँहरूलाई बुझ्न सकेको छैन। सायद सक्दिनँ पनि।
हुन त यो व्यवस्थाले नै आमाबाबालाई महान् करार गरिसक्यो। आमाहरूलाई उन्मुक्त हाँसो हाँस्नै सिकाएन। हामीले भर्खरै भव्यतासाथ सम्पन्न गरेको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्झन्छु। यस्ता अभियानले मेरा आमाबाबालाई समेट्दैनन्। समेट्नु पनि कसरी? सहर केन्द्रित यस्ता बहस मेरो आमाबाबाको भागमा छैन। छन् त केवल पहुँच हुनेहरूका लागि।