कुकुर तिहारमा नबोली सबेरै उठेर नुहाउनुपर्ने मेरी बहिनीलाई तीन चोटि त कुकुरले टोक्यो। त्यही पनि कहिले आफ्नै घरकोले, कहिले परकोले। कस्तो पीडा!
बाले गाउँमा कुकुरले टोकेको फुक्ने गर्नुहुन्थ्यो। अब कसले विश्वास गर्ने? तैपनि त्यो बेला फुकेर सन्चो भएको भन्न आउँथे गाउँलेहरू।
०४७ सालतिर सहरमा डेरा बस्दा घरबेटी दाइले एउटा सानो कुकुरको छाउरो ल्याएर पाल्नुभयो। सानैदेखि देखेको खेलाएको त्यो छाउरो लोसे भयो अनि भुकेन भनेर दाइले बारुद समेत खुवाउनु भयो। बिस्तारै कुकुर बढ्दै जाँदा भुक्ने भयो।
मुख्य सहरमा त्यो कुकुर दाइलाई घाँडो भयो। अनि तिम्रो घर गाउँमा एकलासमा छ काम लाग्छ लैजाऊ भन्नुभयो। मैले घर लगेँ। घर अगाडिको आँगनको डिलमा सुन्तलाको बोट थियो, त्यही बाँधेँ।
कुकुरको नाम टाइगर थियो। अजङको टाइगरलाई खाना दिन जाँदा बहिनीलाई टोक्यो। गाउँलेलाई समेत टोक्यो। पछि त्यो कुकुर मारियो। टोक्ने टोकाइ खाने पीडा एकातिर, त्यो अबोध प्राणीको ज्यान गएको अर्को पीडा थियो।
सुरुसुरुमा काठमाडौँ आएको मलाई एउटा जागिर खान बिहान ६ बजे नै पुग्न पर्ने थियो। अँध्यारो त्यसैमाथि यत्रतत्र कुकुर नै कुकुर भुक्ने। सबेरै भएकाले बस नपाउने हुँदा हिँड्दै जानुपर्ने थियो। बिहानै ट्रलिबस समेत चल्दैन थियो। हरेक दिन अफिस जाँदा कुकुरले लखेटेको पीडा सहन कठिन थियो तर टोक्न भने भ्याएको थिएन। कुकुरले नटोकोस् नभुकोस् भनेर गीत गाउँदै सुसेल्दै हिँड्थ्यौँ। त्यस्ता दिन पनि थिए।
एक जना प्रिय दाइ कुकुर प्रेमी हुनुहुन्छ। उहाँ सधैँ कुकुरको वकालत गर्दै दया देखाउनु हुन्थ्यो। सन्तान थरीथरीका भनेझैँ मन पराउनु र मन नपराउनु आआफ्नै स्वभाव हो। सबैको स्वभाव एउटै हुन्न।
पोखरा तथा काठमाडौँमा महानगरले विष खुवाएर कुकुर मारेको देखेको छु। कति पीडादायी र दर्दनाक अवस्था लाग्थ्यो। तर सडकमा साँझ बिहान हिँड्दा हामी भुईँमान्छे बटुवालाई भने साह्रै सकस छ। एकातिर प्राणीप्रति दया, अर्कोतर्फ आफूप्रति दया। फेरि अर्कोतर्फ अधिकारकर्मीका कुरा।
सबै आ-आफ्ना स्थानमा सही छन्। तर पेट पाल्न साँझ बिहान सडकमा हिँड्दा कुद्दा कुकुरको भुकाइ र लखेटाइ अर्को दर्दनाक पीडा छ नै। कारमा कुद्ने र कुकुर डुलाउने, कुकुर काखमा लिनेलाई सायद थाहा छैन कि भगवान् जानुन्।
हुन त कुकुरलाई पनि सडकमा आफ्नो जागिर गरे जस्तो लाग्दो हो बिचरा। तर हामी जागिरमा जानेलाई अर्को सडकको जागिर गर्ने कुकुरले लखेट्दा कता अर्को गाडी वा बाइकले हान्ने हो भन्ने पीडा छ।
फेसबुकमा दिनहुँ जसो आउँछ कि कुकुर पाल्नेले सडकमा आची गराउने असभ्य काम गरे। कुकुरलाई सडकमा गल्लीमा सार्वजनिक स्थलमा आची गराउन पाइन्न। हुन पनि हो, कुकुर पाल्ने सौखिनले त आची पनि तजबिजले गराउनु नि, अरूलाई दुख दिन त भएन नि। विदेशमा त प्लास्टिक बोकेर हिँड्छन् कुकुर डुलाउन अनि आची गरेर प्लास्टिकमा टिपेर आफै लग्छन्। कति सभ्य!
धनाढ्यहरू आफ्ना कुकुरको बारेमा बखान समेत लगाउन भ्याउँछन्। खैर यसमा त मेरो गुनासो छैन। तर टेकुमा दैनिक सायद ८/१० केस पक्कै आउँछन्। सुई लगाउन पर्ने कस्तो पीडा! एकातिर प्राणीमाथि दया छ, अर्कोतर्फ टोकाइको पीडा, जलन र सकस छ।
बच्चा हुँदा पनि मैले कुकुरबाट सकस बेहोरेको छु। स्कुल जाँदा आउँदा बाटामा कुकुरले लखेट्ने, भुक्ने र झम्टिने। फेरि कुकुर धनीले कुकुर नबाँध्ने धेरै समस्या थिए।
‘काली कुत्तिम महा उत्तिम खैरी कुत्तिम तथैबच’ भनेर घरबेटी बाले भन्नुहुन्थ्यो। कुकुर पनि अनेक रूपरंगका हुने, जात पनि फरक फरक। मेरो वेदना, पीडा र भोगाइ सडकका भुस्याहा मात्र होइन। धनीमानी सौखिन, ठालु, धनाढ्य, सहरिया र सभ्य जो कुकुर पाल्छन् तर बटुवालाई उनीहरूको कुकुरले सताउँछ र तर्साउँछ दुख दिन्छ भन्ने बिर्सिछन्।
कुकुरको किञ्चित दोष छैन, मालिक नै बदमास हुन् कि? कुकुर पाल्ने जुगमा यो कुरा गरे अधिकारकर्मीले टायरै बाल्लान् तर सत्य के भने, बटुवालाई सकस ज्यादा छ होस गर्ने कि?
एकताका जागिर खाने क्रममा त्यस अफिसका हाकिमलाई कुकुर औधी मन पर्ने। आफू भने नाम सुन्दै तर्सिने। तैपनि जेनतेन काल कोठरी कटाइयो। अचानोको पीडा खुकुरीलाई के थाहा? अनेक भोगाइ भएर जीवन भएको त होला नि।
एक थरी कुकुरसँग खेल्दा मुटुको रोग कम हुन्छ भन्छन्। अर्का थरी कुकुरको कारणबाट आँखामा सङ्क्रमण हुन्छ भन्छन्। घरमा कुकुर पालेपछि त पक्कै खेलिन्छ नै। फेरि कुकुरसँग खेल्न रमाउन अति आनन्द हुन्छ पनि। तर बटुवा बनेर कुकुरको टोकाइ, भुकाइ र तर्साइ भोग्नु अर्को कालकोठरी हो नै।
विदेशमा त कुकुर डुलाउने जागिर नै हुँदो रहेछ। यहाँ पनि छन् कि थाहा छैन। अस्पताल, अधिकारकर्मी, क्यानल क्लब, भेटेरिनरी, स्वास्थ्यकर्मी, दबाई, पेटी र खाना सबैले काम पाएका छन्। जाबो बटुवालाई टोकेर के भयो त भन्ने सोच त पक्कै होइन होला। आखिर बटुवा पनि मानव नै हुन्।
एकताका कुकुरको बन्ध्याकरणको कुरा पनि आयो। मत भिन्न भिन्न, सङ्ख्या बग्रेल्ती भएपछि पालिकाले यो कदम चलायो सायद। पालिकालाई चिन्ता नै छ। हुन त कुकुर इमानदार, असल, मानवमित्र हो। यद्यपि यसको सही पालन, भरण पोषण, व्यवस्थापन नहुँदा बटुवा पीडामा छन्।
एकताका सडकका भाइ बैनासँग पनि काम गरेँ। उनीहरू भोको पेट मार्न गम, सुलेसन र डेनड्राइट तान्ने तर प्लास्टिक टिपेर बेचेर आएको पैसाले सडकका कुकुरलाई पाउरोटी किनेर खुवाउँथे। त्यो देख्दा मन त गरिबको हुँदो रहेछ जस्तो लाग्थ्यो। कुकुरसँगै सडकमा सुत्थे।
आजकल पनि सितिमिति कुकुर भएको घरमा जान नपरे हुने भने जस्तो हुन्छ तर जीवनमा जे गर्दिनँ भन्यो त्यही नै गर्नुपर्ने बाध्यता। सोचे जस्तो हुन्न जीवन।
अन्त्यमा,
कुकुर पालौँ, बाँधेर राखौँ, डुलाऊँ तर घरबारी कम्पाउन्डमा। सडकमा नलैजाऊँ। कुकुर हाम्रो होला तर आची सही स्थानमा विसर्जन गरौँ। कुकुरलाई माया गरौँ, क्षमता र तागत सक्षम र सक्नेले मात्र कुकुर पालौँ। रहर नगरौँ। तपाईंको रहरले बटुवालाई कहर हुन्छ।