गाउँ बस्ने मध्ये धेरैको रहर हुन्छ सहर पस्ने। राजधानी बाहिर बस्ने धेरैको रहर हुन्छ काठमाडौँमा एउटा घर। काठमाडौँमा बस्नेको पनि रहर हुन्छ, घरमा एउटा कार होस् र त्यसमा बसेर चिल्लो सडकमा सरर डुल्न पाइयोस्।
म पनि गाउँबाट उच्च शिक्षा र अवसरको खोजीमा राजधानी छिरेँ। उच्च शिक्षामा नेपाली मापदण्डअनुसार सफल नै भइयो। उच्च शिक्षापछि सबैको जस्तो व्यावसायिक जीवन मेरो पनि सुरु भयो, जसलाई म सफल नै मान्छु।
पढाइपछि काम, कामपछि बिहे, घर, गाडी आदि–आदि। सामान्यतया मोफसलबाट राजधानी आएर यतै सफल भएर बस्ने आम नेपालीका सूची यस्तै–यस्तै हुन्छ। कसै कसैको चाहिँ प्राथमिकता र रहरअनुसार केही फरक पनि हुन्छन्। सबै सफल हुँदैनन्, उनीहरूलाई यी आकाशका फल मात्र हुन्छन्। कोही त देशै छोडेर बिदेसिन्छन् पनि– सक्ने अमेरिका, अस्ट्रेलिया। नसक्ने खाडी।
मैले पनि केही आवश्यकताले त केही श्रीमतीको करले एउटा चार पाङग्रे किन्ने भएँ। मेरो रहरै भएको भए दुई/चार वर्ष पहिले नै किन्न सक्थेँ तर करलाई केही पर धकेलेर अरूले चलाएको बजारमा पाउने सम्भवतः सबैभन्दा फुच्चे कार किनियो। त्यो थोत्रो फुच्चे कारले चार वर्षभन्दा बढी सेवा दियो। विशेषतः हाम्री पहिली छोरी जन्माउन, खोप हान्न र बिरामी पर्दा अस्पताल लग्न सजिलो भएको थियो।
त्यो कार पुरानो भएपछि झन्डै आठ वर्ष पहिले मैले थोरै ठुलो र थोरै बढी सुविधा भएको कारले पुरानो वाला फेरेँ। हुन त मेरा समकक्षीहरू तुलनात्मक रूपमा महँगा र विलासी कार नै चढ्थे तर मैले सामान्य कार नै रोजेँ।
म कार चढ्न खासै मन पराउँदिनँ। भुइँमान्छे हुनै रमाउँछु। त्यसैले सम्भव भएसम्म भुइँमान्छेकै अनुभव लिन खोज्छु। व्यस्त व्यावसायिक जीवन र घर-परिवारका आवश्यकता र कर्तव्यले सधैँ भुइँमान्छे हुन दिँदैन। समय छ भने एक्लै हिँड्दा म सार्वजनिक बस चढेरै हिँडिरहेको हुन्छु।
सार्वजनिक बसमा यात्रीहरूले गर्ने जीवन र जगतका कुराकानी मलाई मन पर्छ र ध्यान दिएर सुन्छु। हतार भएको बेला घरमा स्कुटर उपलब्ध भएसम्म त्यही चलाउँछु। कहिलेकाहीँ राइड सेयरिङ पनि प्रयोग गर्छु। धेरै जना मान्छे जानुपर्ने र पार्किङ सजिलै पाउने ठाउँमा आफ्नै कार प्रयोग गरिन्छ।
काठमाडौँमा कार चलाउन सजिलो पक्कै छैन। ट्राफिक जाम, साँघुरा र न्यून गुणस्तर एवम् मापदण्ड नपुगेका सडक, पार्किङ नपाउने समस्या, कम अनुशासित सवारी चालकले गर्दा सडकमा कार कुदाउँदा कोरिने ठोक्किने, पार्किङमा कोरिने ठोक्किने समस्या, महँगो सवारी कर, इन्धन तथा मर्मत सम्भार खर्चले काठमाडौँमा कार पाल्न र चलाउन राम्रो आम्दानी नभए मुस्किल छ।
काठमाडौँका साँघुरा सडक र पार्किङको समस्याले गर्दा यहाँ साना कार नै सजिला र छरिता हुन्छन्। अझ वातावरणप्रति संवेदनशील हुनेले भने पनि ठुला कार प्रयोग गर्दैनन्।
कार भइहाले पनि त्यो कारमा बेग्लै चालक नभए धेरै बेला काम दिँदैन। बिरामी भएर अस्पताल जानुपरे अस्पतालमा पार्किङ नपाउन सक्छ। मलाई काठमाडौँ दरबार स्क्वायर सपरिवार घुम्नुपरे त्यो कार घरमै छोडेर जानुपर्छ। ठमेल वा मंगलबजार जानुपरे त्यो कारको के काम? दिउसो कुनै औपचारिक मिटिङमा जानु परे पार्किङ नपाउने चिन्ताले मिटिङका एजेन्डामा सोच्न पाइँदैन।
कोही आफन्तकोमा बिरामी हेर्न जान परे वा पूजा, मरिमराउ, पारिवारिक, सामाजिक वा व्यावसायिक कार्यक्रममा जान परे पार्किङ कहाँ गर्ने? बिहे, व्रतबन्धमा जाँदा पार्किङ नपाउन सक्छ। अझ जमघट, भोजमा रम्न मन परे फर्कँदा कार चलाउन मिलेन।
यति हुँदाहुँदै पनि काठमाडौँमा कारको घनत्व तीव्र रूपमा बढ्दै छ। अझ विलासी, ठुला र महँगा कारहरूको सङ्ख्या थपिँदै छन्। कतिपय ती विलासी कारहरू काठमाडौँ उपत्यकाको जीर्ण, मापदण्ड नमिलेका र साँघुरो सडक संजालका लागि उपर्युक्त पनि छैनन्। स्पेयर पार्ट र मर्मत सम्भारका लागि समस्या छ। त्यही पनि कार बिक्रेता त्यस्ता कार बेच्न सफल छन्। अनि विलासी कार प्रेमी नेपालीले त्यस्ता कार किनिरहेका छन्।
धेरैजसो काममा सहयोगी नहुने कार घरमा भएर मात्र के गर्नु? अझ कतिले त घर डेरामा कार पार्किङ गर्ने ठाउँ नभए पनि कार किनेका छन्, चलाएका छन्। राति बाटैमा वा नजिकैको खाली जग्गामा वा पार्टी प्यालेस वा अन्त कतै पार्किङ गरेरै भए पनि। रहर भएपछि भरै नभएको कार पनि चढ्नुपर्ने रहिछ। अझ कतिपयले त कारलाई उच्च सामाजिक तथा आर्थिक मर्यादाको प्रतीकको रूपमा लिने गरेको पनि देखिन्छ।
म पनि काठमाडौँमा कार चढ्दै छु। रहरले हैन; केही आवश्यकताले, केही बाध्यताले त केही परिस्थितिले। तर मैले मेरो कारको सदुपयोग गर्न सकेको छैन। मेरो कारको चालक म र श्रीमती दुवै जना हुँदा पनि वर्षमा १०५ दिन जति यो कार चल्दैन, घरमै बस्छ। यो नचल्नुको कारण ट्राफिक जाम, पार्किङ नपाउनु, स्कुटरभन्दा ढिलो हुनु, व्यस्त दैनिकी, कारको लागि छुट्टै चालक राख्न सक्ने मेरो क्षमता नहुनु आदि हुन्।
यति हुँदाहुँदै पनि मैले यसलाई पालिरहेको छु। सरकारलाई वर्षैपिच्छे कर तिर्छु, झन्झटिलो प्रदूषण जाँच गराउँछु। धुलो पुछ्छु, धुन्छु, पखाल्छु। वार्षिक रूपमा बिमाको पैसा तिर्छु। समय–समयमा मर्मत पनि गराउँछु।
यसका अवगुण मात्र हैन, गुणहरू पनि थुप्रै छन्। घाम, पानी, चिसो, धुलोबाट जोगाउँछ। सानो परिवार सँगै हिँड्न मिल्छ। शनिवार र छुट्टीको दिन कतै सपरिवार घुम्नु परे गज्जब काम लाग्छ। लामो दूरीको यात्रा गर्नु परे किफायती र सजिलो हुन्छ। मोटरसाइकलभन्दा निकै सुरक्षित छ। बुढाबुढी र केटाकेटी लिएर हिँड्नुपर्दा धेरै सहज हुन्छ। भद्रगोल सार्वजनिक यातायात भएको राजधानीमा कार निकै सजिलो र सुविधायुक्त छ।
निजी सवारीसाधनको प्रयोग बढाउन सरकार र कर्पोरेट क्षेत्र ठुलो दोषी छ। उच्च सरकारी ओहदामा हुनेलाई ठुला र सुविधा सम्पन्न सरकारी गाडी दिने प्रचलन छ, त्यो पनि चालकसहित। यहाँसम्म कि उपत्यका बाहिर जाने काम नपर्ने कार्यालय र वातावरण संवर्धनको क्षेत्रमा काम गर्ने कार्यालयहरूले पनि असङ्ख्य फोर ह्विल ड्राइभ जिप नै प्रयोग गर्छन्।
मन्त्रीहरू र उच्चपदस्थहरूले थुप्रै सङ्ख्यामा यस्ता सवारीसाधनहरू प्रयोग गर्ने गरेको हामीले सुनेकै छौँ। सरकार पनि सवारीसाधन र पेट्रोलियम पदार्थको आयातबाट उठाउने करको परिमाण हेरेर दङ्ग छ, जुन दिगो हुन सक्दैन। कर्पोरेट क्षेत्रले पनि आफ्ना उच्च पदस्थ कर्मचारीहरूलाई कार दिने प्रचलनले विकृतिलाई प्रवर्द्धन गरेको छ।
काठमाडौँमा सार्वजनिक यातायातमा व्यापक सुधार नभएसम्म मान्छेले सकी नसकी भए पनि निजी सवारीसाधन किन्छन् र प्रयोग गर्छन्। काठमाडौँका समस्या अरू ठुला सहरहरूमा पनि सुरु हुँदैछन्।
हाल काठमाडौँ उपत्यकामा प्रत्येक घरको क्षमता र अवस्थाअनुसार दुई/चार वटा निजी सवारीसाधन हुन्छन्– दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरेर। सार्वजनिक यातायात सुधारका लागि भौतिक संरचना निर्माण मात्र हैन, सार्वजनिक सवारीसाधनको गुणस्तरमा व्यापक अभिवृद्धि, चालक, परिचालक र यात्रुका व्यवहार र अनुशासनमा आमूल परिवर्तन, सार्वजनिक यातायातको रुट, सेवा र समय विस्तार प्रारम्भिक आवश्यकताहरू हुन्।
काठमाडौँमा सिंगापुरको जस्तो मेट्रो ट्रेन वा भरपर्दो बस सेवा भए धेरैले कार किन्दैन थिए। कार भएकाले पनि कम प्रयोग गर्थे। राइड सेयरिङ व्यवस्थित, गुणस्तरीय र सस्तो भए काठमाडौँ उपत्यकाको यातायात व्यवस्था सुधार्न, ट्राफिक जाम र पार्किङको समस्या कम गर्न सहयोगी हुने थियो।
हामीले प्रयोग गर्ने सवारी साधनमा राज्यले ठुलो मात्रामा विदेशी मुद्रा खर्च गर्ने हुँदा राज्यले सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनलाई निरुत्साहित गर्न नीतिगत परिवर्तन मात्र हैन आवश्यक पूर्वाधारमा पनि लगानी गर्नै पर्ने हुन्छ। हामी नागरिकले पनि रहर र लहडमा निजी सवारी प्रयोग नगरी सार्वजनिक यातायातलाई प्रोत्साहित गर्नुपर्छ। सार्वजनिक यातायातलाई प्रवर्द्धन गरी यसको दिगोपनाका लागि योगदान गर्नु एक असल नागरिकको दायित्व पनि हो।