आज धेरै स्रोता दर्शकले मेरो गीत र स्वरलाई अथाह माया दिनुभएको छ। त्यही मायाले आर्जन गरेको पैसाले मैले आफू र आफ्नो परिवारका सदस्यका लागि गाँसबासको बन्दोबस्त गर्न सकेँ।
मेरो वर्तमान आज धेरै सहज छ, तर मेरो विगतको कथामा सजिलो भन्ने केही थिएन। थियो त केबल दुःखै दुःख। चुनौती नै चुनौती।
कतिलाई शान्तिश्रीले दुःखको कथा सुनायो भन्ने पनि लाग्न सक्छ, तर म मेरो विगतलाई परिमार्जन गरेर कथा बनाउन चाहन्नँ। झुटो कथाले आत्मालाई सन्तुष्टि मिल्दैन। आत्मालाई सन्तुष्ट मिल्ने भनेको त यथार्थमै हो।
मैले मेरो यथार्थलाई तोडमरोड गर्नु भनेको मेरी आमालाई झुक्याउनु बराबर हो। किनभने म कुन धरातल टेकेर यहाँ आइपुगेको छु भन्ने कुरा बिर्सिनु हुन्न। त्यो विगत नभएको भए आज यो वर्तमान हुने थिएन।
मलाई यथार्थ एकदम मन पर्छ। आफ्नो पनि, अरूको पनि। त्यसकारण म जे छु, जस्तो थिएँ त्यस चिजप्रति प्रेम छ। गहिरो प्रेम छ।
म आफ्नो जन्मथलो छोडेर ह्वामा गाउँ छोडेर रोल्पाको सदरमुकाम लिवाङ आउँदा सात वर्षको थिएँ। आफू जन्मेको ठाउँ र खेलेको माटो छोडेर नौलो ठाउँ झर्नु नयाँ संघर्षको सुरूआत थियो।
बुवाआमाका हामी सातजना सन्तान। दाइ र दिदीपछि जन्मेकी म। त्यतिबेला आमाबुवाको बलमा नै पेट पालियो। दुई तीन वर्षपछि बल्ल स्कुल जाने अवसर मिल्यो। त्यो पनि आमाको बलमा। मेरी आमा मेरो छोरीलाई नाम लेख्न सक्ने बनाउँछु भन्नुहुन्थ्यो। म आमालाई डोको बोक्नेदेखि गिट्टी कुट्ने काममा सघाउँथें।
आर्थिक अभाव कतिसम्म थियो भने त्यतिबेला अलिकति सफा र राम्रो देखिने भनेकै स्कुल ड्रेसमात्र हुन्थ्यो। मामाघर जाँदा होस् वा मेलामा जाँदा स्कुलको सर्ट र मिडी लगाएर जान्थेँ। स्कुल ड्रेस लगाएर जाँदा पनि मेरो लुगा राम्रो छ भन्ने लाग्थ्यो।
सानैदेखि गीत संगीतमा रूचि भएकोले स्कुलका अतिरिक्त क्रियाकलापमा गीत गाउँथे र पुरस्कारसमेत पाउँथे। त्यही पुरस्कार पाएको पैसाले जुत्ता र मोजा किन्थेँ। आफ्नो लागि आफै जिम्मेवारी लिने अभ्यास त्यहीबेलादेखि सुरू भयो।
मेरो बुवालाई त्योबेला युद्धमा जानुभन्दा आफ्नो सात सन्तान पाल्नु नै एउटासरह युद्ध थियो। आफ्ना सन्तानलाई दुई छाक कसरी खुवाउने भन्ने युद्ध सबभन्दा ठूलो युद्ध हो सायद।
त्यो युद्ध जित्न भनेर जब हाम्रा बुवाआमाले हाम्रो परिवारलाई सदरमुकाम ल्याउनुभयो। उहाँहरूले ट्रकको सामान लोड अनलोड गर्ने काम गर्नुभयो। त्यसपछि भारी बोक्ने काम गर्न नसक्ने भएपछि आमाले निगुरो पसल राख्नुभयो।
अहिले फर्किएर हेर्दा ती दिनहरू दुःखभन्दा पनि भर्याङ रहेछ भन्ने लाग्छ।
म दुःखका अग्ला अग्ला भर्याङ चढेर आज यहाँ आइपुगेकी हुँ। मेरो कथा यहाँ दिग्गजहरूसामु भन्न पाउँदा खुसी लागिरहेको छ।
मेरो कथा अभावको मात्र कथा होइन, गीत संगीतको कथा पनि हो। पहिलो पटक कक्षा २ मा पढ्दा पहिलो पटक गीत गाउन पाएँ। भदौ ४ गते बालदिवस मनाइन्थ्यो। बालदिवसमा कसले गाउन सक्छ भनेर सोध्दा मैले पहिलोचोटि म सक्छु भनेर हात उठाएकी थिएँ।
जुगाबाटो घाँस मैले बोकेर, दुध खान्छन् अरूले लुकेर त्यो गीत सौतेनी आमाको विषयमा थियो। यही गीत गाएर म प्रथम भएँ र पुरस्कारमा दुई सय रुपैयाँ पाएँ। कपी कलमसमेत पाएकी थिएँ। त्यो दिनको प्रोत्साहनले तानेर नै होला म आजसम्म गाइरहेकी छु।
मैले कलाकार बन्छु भन्ने संकल्प गरेको प्यूठानमा भएको दोहोरी गीत प्रतियोगितामा सहभागी भएपछि हो। दोस्रोपटक दाङ घोराहीमा भएको क्षेत्रीयस्तरमा भएको ठूलो दोहोरी प्रतियोगितामा सहभागी भएँ। मैले नारायण रायमाझीसहित बद्री पँगेनी र राजु परियारजस्ता कलाकारलाई देखेको त्यहीँ हो। उहाँहरूले लगाएको लुगा र प्रस्तुति देखेर मलाई आफू पनि त्यस्तै बन्नुपर्छ भन्ने लाग्यो। यो कुरा म आमालाई बारम्बार भनिरहन्थेँ।
त्यसबेला म स्वास्थ्य र शिक्षासम्बन्धी नाटक देखाउन गाउँतिर जान्थेँ। त्योबेला प्रकाश जिसी दाइसँग सूर्यचौरमा भेट भयो। उहाँले मसँग गाउनुभयो। दोहोरी साँझमा गायौं भने तिमी कलाकारका रूपमा धेरै अगाडि बढ्न सक्छौ भन्नुभयो। मैले आमालाई यो कुरा सुनाए तर उहाँले मान्नुभएन। त्यो बेला एक दुई महिनाका लागि भए पनि जानुपर्छ भनेर मैले विद्रोह गरे। १५ वर्षको उमेरमा आमाले नाइ भन्दाभन्दै पनि मैले काठमाडौं जाने निर्णय गरेँ।
अझै याद छ, त्यो असार १० गतेको रात थियो। म नाइट बस चढेर काठमाडौं हिँडेकी थिएँ। नाइट बसमा २४ घण्टामा चार पाँच घण्टामात्रै निदाएँ हुँला। म खासै धर्म मान्दिनँ थिएँ। तर त्यसदिन भगवान शिवलाई हरेक श्वासमा सम्झेँ। हुन पनि कोही नहुनेको भगवान हुँदोरहेछन्। किनकि म पढेलेखेको पनि थिइनँ। उमेरले समेत अपरिपक्क थिएँ।
काठमाडौंमा पाइला टेक्दा कहाँ टेकेजस्तो लागेको थियो। तर, मैले सही ठाउँमा टेकेको रहेछु। पुरूष खराब भनिने यो समाजमा मैले पूजा गर्ने पुरूषहरू हुनुहुन्छ। जसमध्ये मेरो बुवापछिको दाइ प्रकाश जिसी दाइ हुनुहुन्छ। पृथ्वी थकाली दाइलाई पनि म त्यति नै मान्छु। अरू पनि कलाकार हुनुहुन्छ। यो समाजमा पूजा गर्न मिल्ने पुरूष पनि हुनुहुन्छ। अर्का पुरूष, मेरो श्रीमानबिना यो सफलता सम्भव हुँदैन्थ्यो। आजसम्म उहाँ मसँगै उभिनुभएको छ।
प्रकाश जिसी दाइले मेरो कलालाई देखेर ल्याउनुभएको थियो। काठमाडौं आइपुगेकै दिन उहाँले विभिन्न दोहोरी साँझमा लानुभयो। सुरूमा धौलागिरी दोहोरी साँझमा गएँ। केटीहरू चिटिक्क परेर नाँचेको देखेँ। कपाल स्ट्रेट गरेको देख्दा खुब रमाइलो लागेको थियो। तीन/चार ठाउँमा जाँदा पनि म सेलेक्ट हुन सकिनँ।
भोलिपल्ट अरू दोहोरी चहारेँ। त्रिवेणी त्रिशूली दोहोरी साँझमा पहिलो पटक काम गर्ने अवसर पाएँ। त्यहाँका कलाकारसँग गीत गाउने ट्युनिङ मिलिसकेको थियो, तर त्यहाँ धेरै ग्राहक आउँथेनन्। नचलेको दोहोरी रहेछ जहाँ १६ दिन काम गरे।
१७ औं दिनमा रोल्पाकै अनिता खड्का दिदीले बागबजारको रमाइलो चौतारीमा मेरो सट्टा तिमी आऊ भन्नुभयो। साहुजी मेरो स्वर मन पराएपछि त्यहाँ काम सुरू गरेँ।
चलेको दोहोरी साँझमा खचाखच मान्छे हुँदारहेछन्। मलाई काम गर्न रमाइलो लाग्यो। त्यहाँ याम श्रेष्ठ सरसँग भेट भयो। जो मलाई छोरीजस्तै मान्नुहुन्छ। र, म बाबाजस्तै मान्छु अहिले पनि।
गाइसकेपछि उहाँले बोलाएर परिचय सोध्नुभयो। मैले नि केही चलाखी गरेँ। अर्कोमा ४ हजार दिएको छ भनेर गफ लाएँ। पुरानाको ३२/३५ सय पाउने रहेछन्, मैले पहिलो महिनामै चार हजार तलब पाएँ।
सुरूमा प्रकाश खड्का दाइले डेरा खोजिदिनुभयो। त्यसपछि म गीता खड्कासँग बसे। तर, एक महिनापछि अल्लगै बसेँ। कोठा सर्दा अनिता खड्का दिदीले साथ दिनुभएको थियो। उहाँले बेडदखि भाँडा र सिरक दिनुभएको थियो। सामाखुसीको टाउन प्लानिङमा १२ सयको रूममा बसेँ। त्यहाँबाट संघर्ष सुरू भयो। गरिब घरको छोरी भए पनि भात पकाउन अल्छी गरेको रहेछु। खाना पकाउँदा रून्थेँ।
जागिर पाएपछि गीत रेकर्ड पालो आयो। पहिलो गीत शम्भु थापा चर्चितको ‘अरूभन्दा फरक म किन’ बोलको गीत गाएकी थिएँ। दोस्रो गीत ‘घर छ तीनतले’। शिव हमालको शब्द र संगीतमा ‘एकतर्फी मायाले कति पीडा दिन्छ’ गीतलपछि भने करिअर अलि सजिलो भयो। यसमा मेरोसहित कुलेन्द्र विश्वकर्माको स्वर थियो।
सुरूवातीमा संगीतमा साधना भनेको दोहोरी साँझमै भयो। चार वर्ष बितिसकेपछि मैले बल्ल संगीत सिके। चन्दन श्रेष्ठ गुरूकहाँ गएर ७ हजार तिरेर भर्ना भएँ। चार वर्ष शास्त्रीय संगीत सिकेँ। त्यसपछि व्यस्तता बढ्दै गयो।
जन्मथलो छोडेर काठमाडौं आउनु मेरो संघर्षको अर्को चरण थियो। तर आमाबाबुबाट धेरै बसेर संघर्ष गर्दा पनि मेरो शिर र मुटुमा सधैं आमा बुवा र उहाँको आशीर्वाद रहिरह्यो। सबैतिर आमाबुवालाई राखेर हिँडियो भने कहिले पनि हारिँदैन।
मेरा गीतहरू चल्न थालेपछि मैले आमा बुवालाई घर किन्दिने सपना देखेँ। मेरो आमाबुवाको जिन्दगीको २७/२८ वर्ष भाँडाको घर सर्दै बित्यो। कहिले कता, कहिले कता सर्दा मलाई निकै दुःख लाग्थ्यो र सधै हाम्रो स्थायी घर कहिले हुन्छ होला भनेर सोचिबस्थेँ।
तर, २०७४ सालतिर म ठूलै दुर्घटनामा परेँ। ढाड भाँचिएकाले उठ्न नसक्ने भएँ र अब बाँच्दिन भन्नेसम्म लाग्न थाल्यो। जसरी भए पनि पैसा कमाएर छानो हाल्नुथियो। एक महिना आराम गरेर फेरि काम गर्न थालेँ। जब मैले बुवाआमाका लागि घर किन्दिएँ मलाई त्यो घरलाई महल भन्न थालेँ। आमालाई म के छ आमा तिम्रो महलको खबर भनेर जिस्काउँथें। आमाले तिम्रो महल हाँसिरहेको छ भन्नुहुन्थ्यो। अनि म हाँस्थें।
मैले हालसम्म लगभग तीन हजार गीत गाइसकेकी छु। अस्तिसम्म म हलचल नभएर कतै नठोइकिकन सललल बग्ने नदी झैं ठान्थेँ। तर, बग्दै जाने क्रममा ठोकिइदोरहेछ। हिँडदै जाने क्रममा बहकिइदोरहेछ। अरूको कारणले म मज्जाले ठोकिएकी छु। लडेकी छु, बजारिएको छु र रोएकी पनि छु। तै पनि सम्हालिँदै हिँड्ने, भिड्ने र बग्ने क्रम जारी छ।
(बोल माया, गलबन्दी, रुकुम मैकोट, घुमी घुमी, घर कता हो बैनीको, अरेली काँडैलेजस्ता दर्जनौं लोकप्रिय गीतकी गायिका शान्तिश्री परियारले काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको काठमाडौं उत्सवमा कवि दीप दर्पणसँग साधना र संघर्ष शीर्षकमा गरेको संवादको सम्पादित अशं)