दयाहाङ राई, विजय बराल सहितको अभिनय रहेको फिल्म 'वरिष्ठ बलराम' को छायांकन ३६ दिनमा सकिएको छ।
चितवन र हेटौंडाका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको हो। कथाले मागेको लोकेसनमा सोचेजसरी छायांकन सफल भएको निर्देशक सुरेन्द्र पौडेलले बताए।
उनले भने, 'अब पोस्ट प्रोडक्सनमा पनि मेहनत गर्नेछौं। र, दर्शकले चाहेजस्तै फिल्म निकाल्ने छौं।'
सामाजिक कथावस्तु पस्किने फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए।
फिल्म 'वरिष्ठ बलराम' मा दयाहाङ र विजयसहित समृद्धि अर्याल, गौमाया गुरूङ, पशुपति राई, माओत्से गुरूङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारहरूको अभिनय छ।
यो फिल्मको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की छन्। निर्देशक पौडेलकै कथा, महेश दवाडीको लेखन यसमा छ।
मानकृष्ण महर्जनको डिओपी, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी छ।
'‘वरिष्ठ बलराम' वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा निर्माण भएको हो। फिल्मको प्रदर्शन मिति यसअघि नै घोषणा भइसकेको छ।
लक्ष्मी पूजाका दिन कात्तिक ३ गते फिल्म रिलिज हुनेछ।
फिल्म काठामाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने छन्।
