फिल्म 'अञ्जिला' बिहीबारदेखि प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ। फागुन २९ गते रिलिज फिल्मले राम्रो व्यापार गरिरहेको छ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले बक्स अफिसमा ७ करोड ५० लाखभन्दा माथिको व्यापार गरेको छ। यो फिल्मको २ लाख ६९ हजार १ सय ५७ वटा टिकट बिक्री भएको विकास बोर्डले दिएको विवरणमा उल्लेख छ।
'अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन्। यसमा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ।
एन्जिलाको साथमा फिल्ममा सुनील थापा, दयाहाङ राई, विजय बराल, प्रेमकुमार श्रेष्ठ, सिर्जना सुब्बा, माओत्से गुरूङ, सुमीन गुरूङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।