'नेपाल ग्रामीण चलचित्र महोत्सव' तेस्रो संस्करणमा उत्कृष्ट फिचर फिल्मको अवार्ड 'झिंगेदाउ' ले जितेको छ।
काभ्रेको भकुण्डेबेंसीमा शनिबार आयोजित समारोहमा झिंगेदाउलाई उक्त अवार्ड प्रदान गरिएको हो। महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’ बाट विकास सुवेदीले प्राप्त गरे।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपालले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’ बाट मुकुन भुषालले हात पार्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’ बाट दीया मास्केलाई प्राप्त गरिन्। महोत्सवमा फिल्म ‘प्रकाश’ ले जुरी अवार्ड समेत पाएको छ।
उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’ बाट कमल एक्चै मगरले प्राप्त गरे। यसै फिल्मबाट चक्र बहादुर महर्जनले उत्कृष्ट फिचर फिल्म छायांकारको अवार्ड जितेका छन्।
उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ ले प्राप्त गरेको छ। महोत्सवमा उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’, उत्कृष्ट भाषिक फिल्म अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’, उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’, उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड ‘परिवर्तन’, उत्कृष्ट सर्ट फिल्मको अवार्ड ‘चरित्र’ ले प्राप्त गर्याे।
सर्ट फिल्म ‘परिवर्तन’ बाट प्रवण भुसालले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा ‘चरित्र’ बाट श्रोता आचार्यले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
शुक्रबारबाट भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिबार समापन गरिएको हो।