गीताञ्जली थापा, सौगात मल्ल, अनुपविक्रम शाहीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'जार' को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु, कलाकारहरूको भूमिकाबारे जानकारी दिएको छ।
यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित रहेर बनेको हो।
फेरी टेल पिक्चर्सको प्रस्तुति रहेको फिल्म फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। जारको कथालाई अन्याय हुन नदिएको उनको भनाइ छ।
'किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ‘जार’ तयार गरेका छौं,' उनले भने।
अभिनेताद्वय सौगात र अनुपविक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए।
फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेकी गीताञ्जली भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री हुन्।
'लायर्स डाइस' बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’ मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन्।
फिल्म ‘जार’ को सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। अधिकांश कलाकार र प्राविधिक टिम भारतबाटै छन्।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडिओ र किवा प्रोडक्सनको सहकार्य रहेको फिल्मको कार्यकारी निर्मातामा ज्योति क्षेत्री, नीरज राई, नुर्साङ भुटिया र पेमा रिन्जिङ लेप्चा छन्।
यो फिल्म नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ।
'जार' वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।