कोरोनाभाइरसको संक्रमणबाट बच्न र सतर्कताका लागि उपत्यकाका चोकचोकमा साबुन पानीको व्यवस्था गरिएको छ। आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका १६ स्थानमा साबुनपानीको व्यवस्था गरेको हो।
विशेष गरी उपत्यकाका बढी भीडभाड हुने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की तथा साबुनको व्यवस्था मिलाइएको हो। मानिसको बढी भीडभाड हुने स्थान काठमाडौंको रत्नपार्क, सिनामंगल, बानेश्वर, कोटेश्वर, गौशाला, तथा भक्तपुर र ललितपुरका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था मिलाइएको महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
आइतबारदेखि उपत्यकाका विभिन्न स्थानमा साबुनपानी राखिएको हो। बाटोमा आएका जोसुकैले पनि ती पानी तथा साबुन प्रयोग गर्न सकिने बताइएको छ। प्रहरीले माछापुछ्रे बैँकको सहकार्यमा पानी ट्याङ्की तथा साबुनको व्यवस्था मिलाएको हो।