केही मान्छे समूहमा मिलेर मसिनो रोडासहितको बालुवा धोइपखाली गर्दै थिए। उनीहरू बेल्चाले बिस्तारै बालुवा उठाउँथे। त्यसलाई बाबियोको डोरीले बाँधेर बनाएको बाँसका मसिना भाटाको चाल्नीमा राख्थे। चाल्नीले मोटो बालुवा रोक्थ्यो।
उनीहरू आपसमा मिलेर चाल्नी हल्लाउँदै पानी हालेर बालुवा चाल्थे। मुनिपट्टि काठको डुँठ राखिएको थियो।
उनीहरू डुँडमा जम्मा भएको मसिनो बालुवा सहितको पानी होसियारीपूर्वक हल्लाउँदै सुन छुट्याउने प्रयास गर्थे।
काठबाटै बनेको अर्को एउटा साधनमा बालुवा केलाउँदै थोरैथोरै पहेँलो पदार्थ निकाल्थे।
जति धेरै पहेँलो पदार्थ जम्मा हुन्थ्यो, उनीहरूमा त्यति नै बढी खुसी छाउँथ्यो। उनीहरूका अनुसार त्यो पहेँलो पदार्थ सुन हो।
यो गतिविधि यही चैत २२ गते दिउँसो दाङ देउखुरीको राप्ती नदी किनारमा देखिएको हो।
गढवा गाउँपालिका–४, पर्सेनीको नदीकिनारमा बालुवा चालेर सुन छुट्याउने उनीहरूको यो परम्परागत शैली निकै रोचक देखिन्थ्यो।
उनीहरू स्थानीयवासी थिएनन्, बर्दियाको ठाकुरबाबा नगरपालिका–५, सुनपुरका बासिन्दा हौं भन्थे।
उनीहरू राप्ती नदीको बालुवामा सुन खोज्न दाङ आएको १५ दिन भएको थियो। लमही नगरपालिका–६, सेमरहवामा कोठा भाडा लिएर बसेको बताउँथे।
यस अवधिमा कति सुन फेला पारे त?
उनीहरूले खुलेर बताउन चाहेनन्। बालुवाबाट निकालेको सुन आगोमा गालेर व्यापारीलाई बेच्ने गरेको उक्त समूहका एक जनाले बताए। उनले आफ्नो नाम कालीप्रसाद खुनाहा र उमेर ५८ वर्ष बताए।
उनले आफ्नो समूहमा १२ जना रहेको र नदीकिनारमा बालुवा चालेर सुन खोज्ने गरेको बताए।

समूहका अर्का व्यक्ति थिए शोभाराम थारू। उनका अनुसार उनीहरू खेतीपातीको काम सकेपछि हुने फुर्सदको समयमा सुन खोज्न निस्कन्छन्। सामान्यतया चैत–वैशाखमा बालुवामा सुन खोज्ने काम हुन्छ।
भदौ–असोजमा पनि खोज्छन् तर थोरै दिन मात्र।
उनीहरू धेरैजसो बाँकेको सिक्टाबाट दाङको लमही हुँदै भालुवाङ पुलसम्म राप्ती नदीको किनारमा सुन खोजी गर्छन्।
‘यो सिजन (चैत–वैशाख) मा हामी महिना दिनभन्दा धेरै यसरी नै यो राप्ती नदीको बालुवामा सुन खोज्छौं,’ शोभाराम भन्छन्, ‘सुन जम्मा गरेपछि त्यसलाई आगोमा गाल्छौं अनि नेपालगञ्ज र गुलरियातिरका सुन पसलमा बिक्री गर्छौं।’
समूहमा सुनपुरकै जुमबहादुर थारू पनि थिए। उनले बालुवामा सुन खोज्न धेरै मिहिनेत गर्नुपर्ने बताए। उनले भने, ‘बिस्तारै बालुवा चाल्दै सुनका ससाना कन (कण) जम्मा गर्नुपर्छ। एक तोला जति भएपछि पगालेर बेच्छौं।’
उनका अनुसार यस्तो सुन व्यापारीले चल्तीको बजारमूल्यभन्दा केही कममा किन्छन्। व्यापारीहरू सकेसम्म कम मूल्यमा किन्न खोज्छन्।
‘व्यापारीहरू तिमीहरूले किनेर ल्याएको होइन भन्छन्। हाम्रो मेहनत देख्दैनन्,’ जुमबहादुर भन्छन्, ‘राम्रो सुन होइन भन्छन् र बजारको भाउभन्दा तोलामा २० देखि ४० हजारसम्म कम दिन्छन्।’
यसरी सुन खोज्नु आफूहरूको पुर्ख्यौली पेसा रहेको समूहका अर्का सदस्य कालीप्रसादले बताए।
उनले भने, ‘मेरो परिवारको मात्रै होइन, हाम्रो समुदायकै पुर्ख्यौली पेसा हो। नदीको बालुवा चालेर निकालेको सुनले हाम्रो गृहस्थी चलाउन सजिलो भएको छ।’
सुन भएको ठाउँ कसरी चिन्ने?
कालीप्रसादका अनुसार बालुवाको बनावट र रङका आधारमा सुन भएनभएको थाहा हुन्छ। यही आधारमा बालुवा चाल्न सुरू हुन्छ।
उनी भन्छन्, ‘कहिलकाहीँ त एकै दिन एक तोलासम्म फेला पर्छ। कुनै दिन रित्तै पनि फर्किनुपर्छ।’
सुन फेला पर्नेनपर्ने कुरा अनुभवमा भर पर्छ। पुराना र अनुभवी मान्छे रहेको समूहले बढी सुन निकाल्न सक्छ।
‘कामले काम सिकाउँछ। ठाउँ चिन्न सक्नुपर्छ। कस्तो बालुवामा सुन फेला पर्छ भन्ने अनुभव भइसकेको छ,’ कालीप्रसाद भन्छन्, ‘सुन छ भन्ने भएपछि सबै मिलेर बालुवा चाल्छौं।’
राप्ती नदीमा सुन कहाँबाट आउँछ?
कालीप्रसादका अनुसार उत्तरका ठूला पहाडमा सुन छ। नदीमा बाढी आएको बेला पानीले काटेर मसिना टुक्रा पार्दै सुन बगाउँछ। त्यो सुन बालुवामा मिसिन्छ र समथर ठाउँमा आएपछि थिग्रिन्छ।
उनले बर्दियाको बबई नदीमा पनि सुन खोज्ने गरेको बताए।

राप्ती नदीमा भदौ, असोजतिर बढी सुन भेटिने कालीप्रसादको अनुभव छ।
‘वर्षामा बढीले कटान गरेर बालुवामा सुन ल्याउँछ। आजभोलि (चैत–वैशाख) भन्दा भदौ–असोजमा बढी सुन भेटिन्छ,’ उनी भन्छन्, ‘आजभोलि दिनभर खोज्दा मुस्किलले एक डेढ तोला भेटिन्छ। भदौ–असोजमा बढी भेटिन्छ।’
उनीहरू भदौ–असोजमा पनि सुन खोज्छन् तर धेरै टाढा जाँदैनन्।
बालुवा चालेर निकालेको सुनबाट एक सिजनमा एक जनाले एक लाख रुपैयाँसम्म कमाउने गरेको शोभारामको भनाइ छ।
‘ज्याला मजदुरी गर्नुभन्दा बालुवामा सुन खोज्न सके राम्रो कमाइ हुन्छ। आफ्नै तरिकाले काम गर्न पाइन्छ। कसैको किचकिच सहनु पर्दैन,’ उनी भन्छन्, ‘तर सुन खोज्न धेरै मिहिनेत गर्नुपर्छ। सीप पनि चाहिन्छ।’
उनीहरूले बालुवामा सुन खोज्ने तरिका परम्परागत हो। यसमा कुनै आधुनिक प्रविधिबारे यो समूहको कोही पनि जानकार छैन।
शोभाराम भन्छन्, ‘बाबुबाजेले जसरी सुन निकाले त्यसरी नै हामी पनि निकाल्छौं। नयाँ तरिका थाहा छैन। कुनै मिसिन भए धेरै निकाल्न सकिन्थ्यो होला।’
यसरी सुन खोज्नेमाथि राज्यको ‘आँखा लाग्ने’ डर पनि छ उनीहरूलाई। धेरै कमाइ हुन थाल्यो भने अरूले रिस गर्न सक्छन् भन्ने शोभारामलाई लाग्छ।
उनीहरू १०–१२ जनाको समूहमा हिँड्छन्। सबैले बराबरी काम गर्छन् र पैसा पनि बराबरी बाँड्छन्।
राप्तीको बालुवामा सुन कम हुँदै गएको जुमबहादुरको अनुभव छ। उनका अनुसार नदीबाट अत्यधिक मात्रामा गिट्टी–बालुवा निकाल्ने गरेकाले सुन पाउन कम भएको हो।
उनी भन्छन्, ‘नदीमा जथाभावी बालुवा निकालेपछि सुन स्वाहा हुन्छ। राप्ती नदीमा सुन घटेको छ।
यसरी राप्ती नदी र बबई नदीमा बालुवा चालेर सुन खोज्ने धेरैजसो मान्छे बर्दियाको सुनपुरकै हुन्। सुनपुर गाउँमा यस्ता ४० घरपरिवार रहेको जुमबहादुरले बताए।