नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएका छन्।
नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग आइतबार कुराकानी गर्दै महरले सरकारसँग विगतमा भएका सहमति अनुसार नै शिक्षकहरूका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाउनुपर्ने बताए।
‘प्रधानमन्त्रीले छिटो मन्त्रिपरिषद बैठक राखेर सम्बोधन गर्न सकिने शिक्षकहरूका माग पूरा गर्नुपर्छ,’ उनले भने, ‘बाँकी विषय विद्यालय शिक्षा विधेयकमा समेट्ने गरी समय तालिका बनाएर अघि बढ्नुपर्छ।’
शिक्षकहरूका मागमा सरकार गम्भीर बन्नुपर्ने पनि उनले बताए।
‘शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता संवाद गरी निष्षकर्षमा पुग्नु उपयुक्त हुन्छ,’ उनले भने।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।