नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिबारे छलफल गरेको छ।
सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे केही निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले वैशाख ९ गते स्थापना दिवस मनाउँदैछ।
स्थापना दिवसको अवसरमा विगतका वर्षहरूमा जस्तै कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेकाहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्ने निर्णय भएको छ।
त्यसदिन जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त कम्युनिस्ट योद्धा सम्मानले सम्मानित गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।
कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभाराम बस्नेत, गोरखाका बाचशपति देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई यस वर्षको कम्युनिस्ट योद्धा सम्मानबाट सम्मानीत गर्ने निर्णय भएको ज्ञवालीले बताए।
वैशाख ११ गते लोकतन्त्र स्थापना भएको दिनको अवसरमा पनि एमालेले काठमाडौंमा कार्यक्रम गर्दैछ। सो कार्यक्रमलाई भव्यताका साथ युवा उत्सवका रूपमा मनाउने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए।
'आजको युवापुस्तालाई लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रता, खुलापनको महत्त्व बताउन जनताले जितेको दिनको उत्सवको रूपमा भव्यता साथ मनाउँदै छौं,' उनले भने।
बैठकले तीनकुने घटना, समसामयिक राष्ट्रिय राजनीति र आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबारे पनि समीक्षा गरेको छ।
त्यसबारेमा एमाले सचिवालय बैठकले आपत्ति जनाएको छ।
‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौं, जुन गलत हो,’ बैठकपछि पत्रकारहरूसँग उपमहासचिव ज्ञवालीले भने, ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जागरण भन्ने हो भने- सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, राजनीतिक पार्टी कार्यालयमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौं।’
यो पनिः
प्रचण्डलाई प्रदीप ज्ञवालीको जबाफ- अरूलाई मात्रै औंला उठाउने, आफूले चाहीँ जिम्मेवारी लिनुपर्दैन?
एमाले सचिवालय बैठकपछि ज्ञवालीले भने- तीनकुने घटनामा पूर्वराजाले जिम्मेवारी लिनैपर्छ
सरकार परिवर्तन प्रचण्डको चाहना हो, सम्भव छैन: प्रदीप ज्ञवाली
तीनकुने घटनालाई पूर्वराजाले जनतामा आएको जागरण भन्नु आपत्तिजनक: एमाले