राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन्।
राष्ट्रपति पौडेलले नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो। आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ।’
न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको उनले बताए।
राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रबर्घन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको पनि उनले उल्लेख गरेका छन्।
‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ। पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्दछ,’ उनले भने।
राष्ट्रपति पौडेलले काठमाडौंको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको र यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरब र शान भएको उल्लेख गर्दै जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योगदान दिएको पनि बताए।
‘यसलाई अझै विकसित, आधुनिक र सुविधासम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पयर्यटन व्यवसायीसहित संघ, प्रदेश सरकार र विशेषत यहाँका चारैवटा नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु’, उनले भने।
राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृंखला, सूर्योदय र सूर्यास्त एवम् सुन्दर काठमाडौं उपत्यका अवलोकनको लागि स्वदेशी विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्दै यसको निकटमा अवस्थित् विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मन्जुश्री गुफा, ऐतिहासिक भंगेरी र पुतली दरबार, शंखरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर र साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको पनि बताए।