नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष बिष्णु पौडेललाई जोडेर पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।
एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीका नेताहरुलाई जोडेर षड्यन्त्र भएपनि त्यो पूरा नहुने बताए।
‘प्रदेश अधिवेशनको बीचमा जसरी मलाई र उपाध्यक्ष बिष्णु पौडेलको नाम जोडेर पार्टीलाई कमजोर बनाउन खोजिएको छ, त्यो कदापि पूरा हुने छैन,’उनले भने, ‘प्रतिनिधिहरूले उनिहरुको षड्यन्त्रलाई मिथ्या सावित गर्नुहुने छ।’
महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनैतिक, बैचारिक र सांगठनिक रुपले एकताबद्ध रहेको उल्लेख गर्दै त्यो एकताको सन्देश लुम्बिनी अधिवेशनले पनि पुष्टी गर्ने बताए।
उनले जनजिविकाका मुद्दालाई बलियो बनाउन, केपी ओलीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न एमालेलाई एकताबद्ध बनाउन जरुरी रहेको बताए।
महासचिव पोखरेलले लुम्बिनी प्रदेश अधिवेशनमा मात्र नभई सातवटै प्रदेश अधिवेशनमा पनि उपाध्यक्ष पौडेल र आफू एक ठाउँ रहने बताए।