पठन अनुभव
आख्यानका पात्रहरूले बिट मार्दा मुटु चुँडेजस्तो नहुनुपर्ने। तर उपन्यासको एकतिहाइ पनि नसकिँदै मन परेको पात्रको जुनी सकिएपछि म हतप्रभ भएँ।
लियो टोल्सटोयको लामो उपन्यास 'युद्ध र शान्ति' मा यो पात्र किन यति छिट्टै सकिन्छ?
लिज बोलकन्स्की प्रसव पीडाले जवानीमै बितिन्। लडाइँमा हिँडेका पति आन्द्रेइको सकुशल आगमनको प्रतीक्षामा थिइन् उनी। त्यही बेला प्रसव पीडा सुरू भयो। बालक जन्मिएको पनि हेक्का नहुने बनाएर कालले उनलाई टपक्क टिप्यो।
भर्भराउँदो रानी चरीजस्ती लिज फुल्नुअघि नै झरेकी पारिजात लाग्छिन् मलाई। उपन्यास पढ्न सुरू गर्दा लागेको थियो, यति सुन्दर पात्र बिस्तारै बलियो बन्दै जाला। लेखकले यिनलाई आख्यानको अन्तसम्मै लैजालान्। तर यो पात्र उपन्यासमा त्यति खुल्न पाएकै हुन्न, ओइलाइहाल्छ।
चिसो व्यवहार देखाउने आन्द्रेइ चाहिँ पटक पटक युद्धको भयानक मोडमा मृत्यु नजिकबाट बाँचेर फर्किन्छ।
म सोच्छु — के कुनै पात्रसित लेखकको विशेष मोह हुन्छ? त्यहीँ अर्को पात्रलाई चाहिँ लेखक किन मन्दिरमा फ्याँकिएको फूल बाटो हिँड्ने बटुवाले कुल्चेजस्तै किचिमिची पारिदिन्छ?
सबै पात्रले उत्तिकै भाउ नपाउलान्। तर कुनै पात्र कथामा आइसकेपछि उसको भूमिका र उपस्थितिलाई, न्यूनतम नै सही, अर्को विन्दुसम्म पुर्याउनुपर्छ कि पर्दैन?
कथाको कुनै प्रसंगमा झुल्किएको पात्र अनायस हराएर जाँदा पाठकलाई त्यसले निरास पार्ला कि जिज्ञासु बनाइदेला?
कथानक संसारमा हराएर लेखिरहँदा लेखकले यस्तो कुरा कसरी हेक्का राख्छ होला?
कसरी लेखिन्छ सदियौंसम्म पाठकको मन छुने आख्यान? कसरी बनाइन्छ मनमा बस्ने पात्रहरू? कथा र कहानीको सीमा केले छुट्याउँछ?
यिनै प्रश्न मनमा सोच्दै आख्यानको आकार, खाका, स्वरूप र ढाँचामा पढ्न थालेँ 'युद्ध र शान्ति', 'अन्ना करिनिना' र टोल्सटोयका अरू आख्यानहरू।
'युद्ध र शान्ति' (War and Peace) टोल्सटोयकै भनाइमा उपन्यास होइन। लेखकले चाहेको र जुन स्वरूपमा लेखिएको छ त्यसैमा भन्न सकिएको आख्यान हो। मानव इतिहासकै महानतम मध्येका यी लेखकको भनाइसँग अरू विमर्श गर्न जरूरी छैन।
डेढ सय वर्ष अघिदेखि सारा पाठकले 'उत्कृष्ट उपन्यास' भनी पढ्दै आएको यो कृति युद्धको रिपोर्टिङ हो। शक्तिको खेलमा घुमिरहने मानव चोलाको दार्शनिक आयाम हो। सभ्यताहरूको किचघानमा पिल्सेर हिँड्नुपर्ने सैनिक जवानहरूको निस्सार जीवन, शासकहरूको लोभ र स्वार्थ र एक जना लेखकले देखेको इतिहासको एउटा खण्डको दस्तावेज हो।
यो बाक्लो किताबभित्र धेरै कुरा छ — मस्को र सेन्ट पिटर्सबर्गका सम्भ्रान्त पाँच परिवारको कहानी छ। सन् १८०५ को अस्टरलिट्ज युद्धदेखि सन् १८१२ को बरोडिनो युद्ध छ। कथाको केन्द्रमा संसार जित्न हिँडेका फ्रेन्च सम्राट नेपोलियनको युद्ध छ। सानो कदका सम्राटको ठूलो युद्धकौशल छ। जार अलेक्जेन्डर प्रथमको भद्रगोल शासनकाल छ। यहाँ दुवै युद्ध जितेर पनि हारेका छन् नेपोलियन, अनि दुवै युद्ध हारेर र राजधानी मस्को सहर पूरै दन्दनी आगोमा जलेर पनि नहारेको अवस्थामा छ रूसी सेना।

आख्यानको सुरूमा कलिला देखिने नानीहरू अन्तसम्म आइपुग्दा जवान भइसकेका हुन्छन्। केटाकेटीका आमा बन्छन्। सुरूमा भर्भराउँदा देखिएका ठिटौले केटाहरू युद्ध सम्हाल्ने कमान्डर हुन्छन्। समयसँगै पात्रहरूको उमेर बढ्छ। उनीहरूको भूमिका फेरिन्छ। घटनाहरू बदलिन्छन्। उपन्यासको दृश्य फेरिन्छ। रिमोट छाड्नै मन नलाग्ने टेलिसिरियलजस्तो बन्छ आख्यान, एकपछि अर्को घटनाक्रम थपिँदै जाँदा।
मुख्य कुरा, पात्रहरूभन्दा पनि घटनाहरू महत्त्वपूर्ण हुन्छन् आख्यानमा। एउटामाथि अर्को आड लागेर उभिएको संरचनाजस्तै हुन्छ, आख्यानको संरचनाभित्र घटनाहरू। उपन्यासका कथाभित्र पसेर हेर्ने हो भने प्रत्येक दृश्य आफैभित्र र एउटा दृश्यदेखि अर्को दृश्यसम्मको बाटो मफ्लरजस्तै उनिएको हुन्छ।
ब्रिटिस 'बेस्टसेलर' लेखक केन फोलेटको भनाइमा — घटनाहरू अर्थात् 'ड्रामा' जति धेरै पस्किन सकियो, पाठक उत्तिकै टाँसिएर बस्छ आख्यानमा। लेखकको मन हुन्छ पाठकहरूले किताबको पाना पल्टाउन नछाडून्, त्यसैले प्रत्येक पानामा केही न केही भइरहेको हुनुपर्छ जसले पाठकलाई पाना पल्टाउन आतुर बनाओस्। कुतूहल जगाइरहोस्।
टोल्सटोयका आख्यान पढ्दा मलाई त्यस्तै भइरह्यो।
सम्भ्रान्त लोग्ने छाडेर अन्ना परपुरूषसँग त हिँड्दिन नि? नताशाको भर्भराउँदो सौन्दर्य कसको आँखामा पुगेर अडिएला? जीवन्त परेडको लाइनमा उभिइरहेका जवानहरू भोलि अर्काको घाँटी रेट्न कसरी तयार होलान्? यस्ता एकपछि अर्को ड्रामाले मलाई लगातार घच्घचाइरह्यो।
सन् १८०५ जुलाई महिनाको एक साँझ सेन्ट पिटर्सबर्गका सम्भ्रान्तहरूको ऐयासी पार्टीमा सुरू हुन्छ उपन्यास 'युद्ध र शान्ति'। आख्यानका मुख्य पात्रहरू पियर बेजुखोभ, आन्द्रेइ बोल्कन्स्कि, कुराजिन र रस्तोभ पारिवारका सदस्यहरू नताशा, निकोलाई सबैसँग पाठकको भेट त्यहीँ हुन्छ। आउँदै गरेको युद्धको झल्को हरेकजसो कुराकानीको पेटबोलीमा भेटिन्छ। त्यो साँझको धेरैजसो बातचित बेजुखोभ, बोल्कन्स्कि र रस्तोभ परिवारका सदस्यहरूबीचको संवादमा सकिन्छ।
पछि आन्द्रेइ बोल्कन्स्कि र निकोलाई रस्तोभ अस्ट्रियाको मोर्चामा लड्न पुग्छन्। त्यो मोर्चाको नेतृत्व जनरल कुतुजभले सम्हालेका छन्। फिल्ड मार्सल मिखाइल कुतुजभ, जसले तीन पुस्ताको रूसी राजशाहीअन्तर्गत सैनिक अफिसर र कूटनीतिक प्रतिनिधि भएर काम गरे, उनैमाथि टोल्सटोयले रचेका औपन्यासिक पात्र जनरल कुतुजभ उपन्यासको अन्तसम्म पुग्दा नेपोलियनविरूद्ध लड्ने रूसी सेनाका सर्वोच्च कमान्डर हुन्छन्।
अस्ट्रियाको त्यो मोर्चा — १८०५ को अस्टरलिट्ज युद्ध — मा आन्द्रेइ बोल्कन्स्कि घाइते हुन्छन्। सेन्ट पिटर्सबर्ग र मस्कोका सम्भ्रान्तहरूबीच उनी मारिए भन्ने गाइँगुइँ चल्छ घर नफिर्दासम्म। त्यही बेला त हो, प्रिन्सेस लिज बोल्कन्स्कि प्रसाव पीडाले छटपटाइरहेकी। युद्धको घाउ बोकेर फर्कन्छ आन्द्रेइ। कलिलै उमेरमा लिजको प्राण प्रसव पीडाले चुँडेर लग्छ।
पाठक भएर पढिरहँदा मैले यति मिठो मायालु पात्र त्यति सजिलै सकियोस् भन्ने कहिल्यै चाहिनँ। मलाई त लाग्थ्यो, घाइते नै भए पनि आन्द्रेइले घर फर्केपछि पीडामा डुबेकी लिजलाई मह्लम लगाइदेओस्। प्रसव पीडाबाट लिज सहजै उत्रिऊन्। नाबालक छोरो काखमा राकेर मातृत्वको धारा बगाऊन्। थोरै भए पनि कुराकानी होस् श्रीमान-श्रीमतीको। अहँ! त्यस्तो कत्ति हुन्न! नमिठोसँग निमोठिन्छ मलाई मन परेको पात्रको घाँटी।
कुन मनोदशामा पाठकलाई कुदाउनुपर्छ, सायद लेखकलाई थाहा हुन्छ। त्यो घाउ चहराइरहोस्, अझै दुखोस्, आँखा रसाओस्, छातीभित्र असह्य वेदना भरियोस्। त्यस्तो कसरी बनाउन सकिन्छ? त्यो विन्दुसम्म पाठकलाई पुर्याउन चाहन्छन् लेखक। त्यसैले उनी आफ्ना पात्रलाई यसरी घचेट्छन्, त्यसले जीवनको अन्तिम सास फेरेजस्तो देखियोस्। यस्तो छेउमा होस् कि त्यहाँबाट फर्किन बाटै नभेटिओस्।
लेखकको आँखाले सायद यसरी हेर्छ — पात्रहरूबीच लडाइँ हुँदैछ भने त्यसलाई युद्धको टर्निङ प्वाइन्ट बनाउनुपर्छ। कोही प्रेममा बाँधिएको छ भने उसको जिन्दगीकै ठूलो प्रेम त्यसैलाई बनाइदेऊ, ताकि सानो दरारले पनि त्यो भत्किन सकोस्।
पात्रहरू भिरको डिलमा पुर्याइन्छन्। पात्रहरूको अवस्थाले सिर्जना गरेको त्रास, पीडा र क्रोधले अक्षर अक्षर छामिरहेको हुन्छ पाठक। प्रसव वेदनाले जलिसकी लिज, तैपनि लाग्दैछ केही नहोस् उसलाई। आख्यानको अन्तसम्मै बाँचिरहोस्। गोली र बारूदले छिया छिया भइसक्यो आन्द्रेइ, तर लाग्दैछ उसको प्रेममा परिरहोस् नताशा।
लेखकको सफलता यस्तै कमजोर र भावनात्मक क्षणहरूमा हुने होला!
नाटकको दृश्य फेरिएजस्तो फ्याट्ट नयाँ घटना आउँछ। त्यही घटनाले पाठकको मन फेरि तान्न थाल्छ। यस्ता कयौं अरू घटना छन् र कयौं पात्र आउँछन् उपन्यासभरि। आन्द्रेइ, जो आफूलाई प्रेम गर्नेलाई वास्तै गर्दैन। जसलाई मन पराएर मगनी गर्छ उसैबाट धोका खान्छ। रूसी जारको सान र सफलताका लागि दुईचोटि युद्ध लड्न जान्छ। प्रत्येकचोटि असफल घाइते भएर फर्कन्छ।
आन्द्रेइको मिल्ने साथी छ पियर बेजुखोभ। सुस्त व्यक्तित्वको ऊ कोरा भावना र आवेगमा हेलेन कुराजिनसँग विवाह गर्छ। वैवाहिक सम्बन्धमा बेइमानी गर्छे हेलेन। उसको को-कोसँग लसपस हुन पुग्छे। अन्तमा विवाह भत्किन्छ र अप्रत्यसित, सायद ओभरडोजले अल्पायुमै लीला समाप्त हुन्छ। मस्को कब्जा गर्न आइपुगेको नेपोलियनको हत्या गर्ने रूमानी योजना बनाउँछ पियर। ऊ उल्टै फ्रान्सेली सेनाको कब्जामा पर्छ र अन्तमा नताशाको प्रेममा बाँधिन्छ।
टोल्सटोयन सुन्दरताको नमूना पात्र नताशाको आँखामा चाहिँ सुरूमा बसेको हुन्छ विदुर आन्द्रेइ। बेइमानी गर्छे नताशा। सम्बन्ध टुट्छ। त्यसपछि न हो, पियरसँग प्रेममा बाँधिएको।
कति धेरै धोखाधडी, बेइमानी र कमजोरीहरू!
पात्रहरू त्यस्तै छन्। विशाल दरबारमा बस्छन्, तर भित्र गरिबीले खुम्चिएका छन्। सुन्दर देखिन्छन् तर कुरूप मन बोकेर हिँडेका छन्। बलियाबांगा छन् तर डरले लुगलुग कामेका छन्।
हरेक मान्छेको कमजोरी नै उसको वास्तविकपना हो। कालो र सेतो जस्तो दुइटा पाटा मात्र कसैको जीवन हुँदैन। कोही पनि पर्फेक्ट 'सिद्द' छैन। नदी पनि कुनै बेला एउटा रूपमा प्रकट हुन्छ, अर्को बेला फरक रूपमा। सबैलाई लाग्छ म अरूको प्रिय बनूँ। तर कुनै बेला यस्तो समय आउँछ, नचाहेर, थाहै नपाई ऊ खराब कामको हिस्सा बन्न पुग्छ। यी सबै असल-खराबको जोड-घटाउ नै मानव जुनी हो। असल र राम्रा कामको मात्र पुञ्ज हुने हो भने बेस्वादिलो लाग्छ होला मान्छेलाई आफ्नै जीवन।
मान्छेभित्रका खराबी, असल हुन चाहने इच्छा, लोभ र क्षुब्धा, सबै पोखिएकाले होला, यति मिठास भरिएका यी आख्यानहरूमा।
मान्छेको जीवनमा कहिलेकाहीँ चाहेको एउटा हुन्छ, हात लाग्छ अर्कै। टोल्सटोय लेख्न चाहन्थे सन् १८२५ को असफल डिसेम्ब्रिष्टहरूको कथा, जसले जारसाही फालेर संवैधानिक राजतन्त्र स्थापना र दासत्व 'सर्फडम' अन्त्यका लागि विद्रोह गरेका थिए। घटना खोतल्दै जाँदा सन् १८१२ को बरोडिनो युद्धमा पुगे। त्यो युद्धको कारण खोतल्दा १८०५ को अस्टरलिट्ज युद्धसँग जोडिए।
र, झन्डै ६ वर्ष लगाएर सन् १८६० को मध्यतिर लेखिसिध्याए 'वार एन्ड पिस'। यसमा झन्डै ६०० पात्र छन्। विभिन्न परिवारको उतारचढावको कथा छ। नेपोलियनको युद्ध हेडक्वार्टरदेखि अलेक्जेन्डर प्रथमको रूस, आगोमा दन्दनी जलेको मस्को, मस्कोभन्दा बढी युरोपियन देखिने सेन्ट पिटर्सबर्ग, अनि अस्टरलिट्ज र बरोडिनोको युद्ध छ।
'अन्ना करिनिना' लेखनको पनि त्यस्तै कथा छ। लेख्न सुरू गर्दा उपन्यासको मूल पात्र अन्ना — जसको नामबाटै रह्यो आख्यानको नाम — लाई चरित्रहिन परपुरूषवादी देखाउन चाहन्थे टोल्सटोय। लेख्दै जाँदा उनी यति सुन्दर रूपमा प्रस्तुत भइन्, जे कुरामा पनि पर्फेक्ट 'पूर्णता' खोज्ने बनिन्। त्यस्तो पूर्णता खोज्ने बन्दा दैनन्दिन व्यवहारमा यति अनुपयुक्त हुन पुगिन्, आफ्नै चाहनाको बोझले थिचिएर अन्तमा आफैलाई सिध्याइन्।
तीन परिवार — अबलन्स्कि, करिनिन र लेभिन — को वरिपरि घुम्छ उपन्यास अन्ना करिनिना।
कथाको केन्द्रमा छिन अन्ना। कठोर, कत्ति पनि रोमान्टिक हुन नसक्ने कुलिन वर्गका करिनिनसँगको विवाहले अन्नाको मनमा घर बन्दैन। बरू जवान भरन्स्किसँग लसपस बढ्छ। खास प्रेम विवाहेत्तर सम्बन्धमा फक्रिन्छ। भरन्स्किसँग अन्ना इटाली भाग्छे। जब मुख्य पात्र नै पोइल हिँड्छे, आख्यान एउटा उत्कर्षमा पुग्छ। कथा सकियो कि भन्ठान्नुहोला! होइन। यो त एउटा क्लाइमेक्स मात्र हो।
अरू मिनी-क्लाइमेक्स पनि आउँछ, जब लेभिन किटीसँग विवाह गर्छ। किटी खासमा भरन्स्किसँगै नाता जोड्न चाहन्थी। किटीको हात माग्न आउँदा बाटैमा भरन्स्किको आँखा जुध्छ अन्नासँग। कस्तो फिक्सनल हुन्छ घटना! अन्ना भरन्स्किको आँखामा बस्छे, मन मुटुमा राज गर्छे। प्रेमको गहिराइमा डुबेको यो जोडी इटालीतिर भागेपछि किटी हार खान्छे र पुरानो चिनजानका लेभिनसँग नाता जोड्छे। लेभिन टोल्सटोयकै छायाँजस्तो देखिन्छ आख्यानमा। मृत्यु र जीवनको अर्थ खोज्दै हिँड्छ ऊ। सहर छाडेर गाउँको जमिन सम्हाल्न पुग्छ। घरभित्रको ऐयासी छाडेर सर्फ 'दास' हरूसँग रातबिरात गोठमा बस्छ। परालमा सुत्छ। काममा रमाउँछ।
अन्तिम क्लाइमेक्स अन्नाको दोस्रो इनिङमा देखिन्छ, जब अन्ना र भरन्स्कि इटालीबाट फर्किन्छन्।
फर्केपछि सहरभन्दा परको मौजामा महल बनाउँछन्। सम्भ्रान्तहरूको समाजमा पोइल जाने यो जोडी त्यति रूचाइन्न। सुरूमा त दुवैको केमेस्ट्री बेजोडले मिल्छ। केही समयपछि त्यो प्रेमको आयोनिक बोन्ड खिइँदै जान्छ। पूर्वपति 'करिनिन' को थर छाड्न चाहन्न अन्ना। अर्काको थर बोकेर हिँड्ने स्वास्नीमाथि भरन्स्कि रिस थाम्न सक्दैन। एकदिन अन्ना रेलको प्लेटफर्ममा आफैलाई सिध्याउँछे।
आइरोनी हो कि संयोग — प्लेटफर्ममै भेटेकी थिई अन्नाले भरन्स्किलाई, जोसँगको सम्बन्धमा आफ्नै घर बिगार्न कत्ति हिच्किचाइन र प्लेटफर्ममै सिध्याई त्यो सम्बन्ध र आफ्नै लिलालाई।
यति धेरै चरमोत्कर्षयुक्त घटनाहरू भएपछि जति नै ठूलो आकारको भए पनि आख्यान पढिरहूँ किन नलागोस्! पात्रहरू प्वाइन्ट 'ए' देखि प्वाइन्ट 'बी' सम्म पुग्दा पार गरिने भौतिक दूरी त देखिने गरीकै भयो। ती पात्रहरूको मनोदशा, आफैभित्रको अन्तर्द्वन्द्वमा रूमल्लिएको आन्तरिक यात्रा (इन्टर्नल जर्नी) अझ रूचिकर बन्दो रहेछ आख्यान पठन बेला।
पढ्ने खास लेखकलाई होइन, आफैलाई हो। अमूक लेखकको आख्यानभित्र म छु कि छैन? आफूलाई कति पाउँछु त्यसमा? हो, त्यही चिज हो जसले तानिरहन्छ पाठकलाई चुम्बकले जस्तै।
लेखकीय डिजाइनको अर्को महत्त्वपूर्ण कुरा हो, द्वन्द्व। युद्ध, लडाइँ या पात्रहरूबीच हुने भौतिक विवाद, सम्बन्धहरूबीचको दरार या आफैभित्रको पहिरो। 'युद्ध र शान्ति' त यसै पनि युद्धकै पार्श्वधुनमा लेखिएको छ। आख्यानको मूल गोहो नै लडाइँ हो। त्यो पनि भौतिक।
हुनु र नहुनुबीच पातलो रेखाको अन्तरमा हुन्छ मान्छे युद्धमा। लडाइँको मैदानमा उभिएको सिपाहीका लागि जित्नुपर्ने एउटै कुरा हो मृत्यु। मृत्यु अन्तिम सत्य हो। मृत्युको आगो नजिक पुगेपछि गुमाउनुपर्ने बाँकी केही रहन्न। त्यहीँनेर देखिन्छ मान्छेको चोखोपना। त्यस्तै देखिन्छ जब पियर बारूदले पोलिएर बाहिर निस्किन्छ। आन्द्रेइ निको नहुने घाउ बोकेर फर्किएको हुन्छ। ऊ घाइते छ र कसैको शरणमा छ। जहाँ शरण लिइरहेको छ, त्यो सहर नेपोलियनका सेनाहरूले जलाउँदै हिँडेका छन्। आगोमा जलिरहेको मस्कोबाट भाग्नुछ। भाग्दै गर्दा जुन बग्गीमा कसैको दयाले घिटी घिटी बाँचेको सास लतारेर बसेको छ, त्यही बग्गीको अर्को कुनामा धोका दिएकी प्रेमिका नताशा पनि भाग्दै गरेकी भेटिन्छे।
आन्द्रेइ बाँचेको छ, तर बाँच्नका लागि मात्र। ऊ अभागी पात्र हो। कहिल्यै खुसी हुन सकेन। सुखको सास फेर्न पाएन उसले। असफलताको पीडामा बाँच्न अभिशप्त रह्यो। उपन्यासको उपसंहारबाट भेउ लाग्छ — आन्द्रेइ-लिजको छोरो टुहुरो 'डिसेम्ब्रिष्ट विद्रोह' का एक जना पात्र थिए।
उस्तै छ 'अन्ना करिनिना' पनि। अभौतिक लडाइँ अर्थात द्वन्द्व। लेभिन आफैसँग सन्तुष्ट हुन सक्दैन, जीवन र मृत्युको चित्तबुझ्दो जबाफ नभेटेर। आफूले सबभन्दा धेरै प्रेम गरेको मान्छे पाएर पनि भरन्स्कि बेखुस छ। खासमा सबै पात्र कुनै न कुनै कुराले बेखुस छन्। एकअर्काबीच गलतफहमीले राज गर्छ। यति गहिरो चिरा पर्छ सम्बन्धहरूमा, फूलको धारले रेटेजस्तै हुन्छ। विवाहेत्तर सम्बन्धहरू असरल्ल हुन्छन्। पुरूषहरू घरभित्रको प्रेमको दिवारमा मात्र अट्न सक्दैनन्। महिलाहरूलाई यही कुराको सधैं डर भइरहन्छ, आफ्नो पुरूषलाई वशमा पारिरहन नसकूँला कि!
लोग्ने र स्वास्नी दुवैले त्यस्तो चाहनालाई बलिमै चढाउन सक्नुपर्छ, यदि पारिवारिक सम्बन्ध सफल बनाउने हो भने, परिवारको खुसी चाहने हो भने। यो पनि त्याग नै हो, व्यक्ति केन्द्रित आँखाले हेर्दा। कति ठूलो द्वन्द्व चल्छ मान्छेभित्र, परिवारको खुसीका लागि आफ्ना चाहनाहरूलाई बलि चढाउने? कि आफ्नो खुसीका लागि अरू सबै त्यागिदिने?
सम्बन्धहरू के हुन्? के कुराले बाँधेर राख्छ मान्छेलाई लामो जीवन बाँच्दासम्म सँगै बस्न? भुइको लोभ गर्दा पोल्टाको पोखिन्छ भन्ने जान्दा जान्दै किन मान्छे छिमेकीको घाँस चर्न मन गर्छ?
सारा प्राणी जगतकै नियति यस्तै हो त? कि मान्छेको मात्रै!
वैज्ञानिक लेखक ज्यारेड डाइमन्ड अर्काको घाँस चर्न मन गर्ने लोग्ने मानिस र स्वास्नी मानिसको बानी अरू जीवको भन्दा भिन्न प्रकृतिको देख्छन्। 'किन यौन रमाइलो छ' पुस्तकमा उनी लेख्छन् — मानिस मात्र यस्तो प्राणी हो जो ओभ्युलेसन साइकलमा फक्रने यौनजन्य चाहना लुकाएर राख्छ, तर मनोरञ्जनयुक्त यौनका लागि सधैं तयार रहन्छ।
अलि दार्शनिक भयो कि यस्तो तर्क? तर यिनै गुणले निर्देशित गरेका होलान् हाम्रा सम्बन्धहरूलाई — त्यो बेला र अहिले पनि।
परस्त्री सम्बन्धले जेलिएका दाजुको व्यवहारबाट आजित भाउजूलाई यति मजाले सम्झाउँछे अन्ना। पछि आफै परपुरूषको अंगालोमा बाँधिन्छे। मनोदशा या परिस्थिति! मर्यादाको सीमारेखा कहाँबाट सकिन्छ? अपत्यारिलो लाग्ने सम्बन्धहरूको यस्तो सवाल आज पनि कत्ति फेरिएको छैन। अनि त लाग्छ नि — सक्ने हो भने प्रत्येकले 'अन्ना करिनिना' एकचोटी पढून!
भीमकाय आख्यान 'वार एन्ड पिस' को अन्तमा टोल्सटोय भन्छन् — स्वतन्त्र चाह र प्रकृतिको नियम, यी दुई चिजले बाँधिएर मान्छे कुनै पनि घटनामा समाहित हुन्छ; युद्धमा, यौनमा, बसाइँसराइमा, राम्रा या नराम्रा काममा। प्रकृतिको नियम जीव विज्ञानले जबाफ दिएजस्तो सपाट छैन। माहुरीहरू एउटाले अर्कोलाई सिध्याउँछ, मान्छे नै पनि परिआए अर्कोलाई कत्लेआम पार्न पछि पर्दैन। यस्तो डरलाग्दो काममा उद्दत हुने चाहनाको, प्राकृतिक नियमको कुनै उत्तर हुँदैन। उत्तरै नभएको त्यही चिजले घचेटिरहेको हुन्छ मान्छेलाई।
लोभ, चाह, इर्ष्या, मोह, प्रेम, घृणा, मोक्ष — टोल्सटोयका सबैजसो कृतिमा भेटिने विषयवस्तु हुन् यी। गान्धीलाई लेखेको चिठी 'अ लेटर टू हिन्दु' होस् कि 'सुरथको कफी हाउस' या 'इभान इल्यिचको मृत्यु' जस्ता कथाहरू; मानव जीवनका शाश्वत सत्य नै उनको आख्यानका केन्द्र हुन्। (यो अर्कै प्रसंग हो, टोल्सटोयले कसरी गान्धीभित्र अहिंसा र भद्र अवज्ञाको बीउ रोपिदिए।)
सायद त्यसैले डेढ सय वर्षपछि पनि यत्तिको रूचिकर मानेर पढिरहेका छौं हामी। लामो समय बाँच्ने लेखनको विषय त्यही हुन्छ, जुन आममानिसको साझा भोगाइभित्र पर्छ — प्रेम, वियोग, प्राप्ति र असफलता! आफ्नै खुसीका लागि या बेखुसीका लागि पनि, आफैले देखे-जानेको लेख्छ लेखक। त्यसभित्र कतै अन्तरामा मैले पनि आफूलाई पाउँछु अलिकता, र त म पढिरहेको छु टोल्सटोय, आइबी राई, नारायण वाग्ले, हेमिङ्ग्वे, पारिजात र नयपालहरू।
क्लासिक आख्यानहरू यस कारण 'क्लासिक' हुन्छन्, किनभने यिनीहरूको औपन्यासिक संरचना, पात्रहरूको उठान-बैठान, घटनाहरूको विकास विस्तारै बग्दै क्लाइमेक्समा पुगेर ओरालो झर्ने तरिका उस्तै उस्तै देख्छु म त। चाहे 'युद्ध र शान्ति' होस् या लीलबहादुर क्षेत्रीको 'बसाइँ'। धने र मैनाको मूल प्लटमा रिकुटे र झुमाको सहायक प्लट अनि मनकारी मोटे कार्की — सम्झनुहोस् त पहाडमा हुनेखानेबाट भएको थिचोमिचो खप्न नसकेर बसाइँ हिंडेकाहरूको कथा। औपन्यासिक संरचना हेर्दा, जसले जहिले लेखेको भए पनि आख्यानको खास प्रारूप उस्तै हुन्छन्।
तेस्रो महत्वपूर्ण कुरा हो लेखाइ। रङ भर्ने कुचिकारको आ-आफ्नो स्वाद भए जस्तै कसैलाई गाढा रङ मन पर्छ, कसैलाई फिका रङ मन पर्छ। फरक यत्ति हो, लेखकले कुन गहिराइमा त्यो लेख्न सकेको छ? यस्तो गहिराइ लेखकको व्यक्तिगत अनुभव र भोगाइबाट आएको छ कि कोरा कल्पनाबाट?
टोल्सटोय रूसी सम्भ्रान्त वर्गका थिए। सानैमा अभिभावक गुमाए। तन्नेरी वयमै युद्ध लडे। दाइसँग ककेससको लडाइँमा सामेल भए। पछि क्राइमिया युद्ध बेला तोपखानामा भर्ती भए। तोपखानामा काम गर्दा गोलाबारूद जति भरे, त्योभन्दा धेरै कलममा मसी भरे, कागज भरे। त्यसै क्रममा क्रिमियन युद्धको डायरी लेखे, 'सेभास्तोपोल स्केचेज', युद्ध साहित्यको मास्टरपिस।
युद्ध साहित्यको अर्को उत्कृष्ट कृति पढ्न हेमिंग्वे पुग्नुपर्ने हुन्छ।
टोल्सटोय रूसी कुलीन समाजका सदस्य थिए। तर सामान्य मान्छेले पूरा गर्ने अप्ठ्यारा मोडहरू उनले पनि हिँडेका थिए। त्यही अनुभव, वरिपरिका परिवारहरूको सम्बन्धका आयाम लेखे। आफै युद्धमा सामेल थिए, युद्धकै उत्कृष्ट कथा लेखे। युद्धको बयान कतिसम्म मिठासपूर्ण छ भने बरोडिनो युद्ध पियरको आँखाबाट उनी देखाउँछन् — 'धुवाँका गुच्छाहरू एकअर्कासँग बयली खेल्दैछ। एकैछिन स्थिर हुन्छ, अर्कोछिन कुद्छ। जंगल, घाँसे मैदान पार गर्दै संगीनको चम्किलो धारमा टुंगिन्छ।'
बारूदको यात्रा हो यो। पढ्दा यस्तो लाग्छ, उनी युद्धको दर्दनाक दृश्य कलाकारको सुन्दर चित्रजस्तै कोरिरहेका छन्। ब्रिटिस कवि/क्रिटिक म्याथ्यू आर्नोल्डको टिप्पणी छ — टोल्सटोयको आख्यान कला होइन, जीवनको अंश हो।
लेखकको संसार कति महत्त्वपूर्ण हुने रहेछ भन्ने यति बेला म अझ बढी महसुस गर्दैछु, जब केही लेखकको आख्यान पढ्दा देख्छु — बेजोडको कल्पनाशीलता छ, फूलजस्तै सुकोमल भाषा छ, पढेका किताब, हेरेका फिल्म, भेटिएका मान्छेहरूका प्रसंग छन्। तर प्लट कमजोर लाग्छन्।
जिन्दगीको वास्तविक भोगाइ हुने हो भने कस्तो हुन्थ्यो होला त्यो लेखाइ? कल्पनाले मात्र त कहानी बन्छ, कथा बलियो नबन्दो रहेछ।
पाठकको मनमा बसिरहने आख्यान लेख्न अर्थपूर्ण हुने रहेछ लेखकको आफ्नै भोगाइभित्रको संसार।
***