राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले दुई ठूला दल मिल्दा देश झन् बिग्रिएको टिप्पणी गरे।
शुक्रबारबाट सुरू भएको संसदको बर्खे अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा बोल्दै उनले प्रमुख दल हरू नमिलेर आपसी कलहले देश बिगारेको भन्ने भाष्य थियो, तर यी दल मिल्दा त बिग्रने रहेछ भन्दै टिप्पणी गरेका हुन्।
‘यथास्थितिका कारण नागरिकमा आक्रोश बढ्न थालेको छ। ती व्यवस्थालाई दोष दिने हदसम्म पुग्न थालेका छन्। तर सरकार र सत्तारूढ दल खै किन हो, व्यवस्थाभित्रका कमजोरी र नागरिकका स्वाभाविक असन्तुष्टि सम्बोधनमा अग्रसर छैन,’ उनले भने।
प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ताको सुरक्षामै सक्रिय रहेको बताए।
समीक्षा, सुधार र सम्बोधनले गणतन्त्रलाई समुन्नत बनाउँछ भन्ने सत्य स्वीकार गर्न प्रमुख दलहरूले कञ्जुस्याइँ गरिरहेको पनि बताए।
‘राजनीतिमा नयाँ शक्ति जन्मदैनथ्यो जब पुराना दलहरूले नागरिकको चाहना र आकांक्षा सम्बोधनको प्रयास गर्थे, सुशासन अभिवृद्धि र सेवा प्रवाहमा सुधार गर्थे, कानुन कार्यान्वयनमा दलीय आस्था र पहुँचका आधारमा विभेद गर्दैनथे र भ्रष्टाचारीको पाता कस्थे,’ उनले भने।
तर प्रमुख दलहरूले प्राथमिकताका साथ केही नगरी शासन र सत्तालाई केन्द्र बनाएको उनको आरोप छ।
‘प्रधानमन्त्रीको म्युजिकल चेयर चलाए र रोलक्रम पनि आफै निर्धारण गरे। जनताका आवाज तिरस्कृत मात्रै गरेनन्, दबाउने नीति लिए। प्रमुख दलहरू नमिलेर आपसी कलहले देश बिगारेको भन्ने भाष्य थियो, तर यी दल मिल्दा त बिग्रने रहेछ!,’ उनले भने।