कांग्रेस सांसद माया राई पक्राउ परेको बारेमा प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।
काठमाडौं प्रहरी परिसरले शनिबार नै संसद सचिवालयलाई पत्र लेखेर सांसद राई पक्राउ परेको जानकारी गराएको हो।
सांसद पक्राउ परेपछि प्रहरीले त्यसबारेमा सभामुखलाई जानकारी गराउनुपर्ने प्रावधान छ। उनलाई स्वर्णलक्ष्मी सहकारीमा भएको ठगी र संगठित अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी गराएको छ।
शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सांसद राईलाई पक्राउ गरेको थियो।
जिबी राई अध्यक्ष भएको स्वर्णलक्ष्मी सहकारीमा राई २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।
उनीसहित ३९ जनाविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन कसुरमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितलाई प्रतिवादी बनाएर एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो।
तर त्यति बेला माया राईलाई प्रतिवादी बनाइएको थिएन।
राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो। पछि सरकारी वकिलले उनीमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थिए।
निर्देशनसँगै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी लिएको लामो समयपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
