यस वर्षको मदन पुरस्कार कवि घनश्याम कँडेलको खण्डकाव्य 'धृतराष्ट्र'ले पाउने भएको छ। यो खण्डकाव्य एेरावती प्रकाशनले बजारमा ल्याएको हो।
यस वर्ष गुठीमा प्राप्त १९५ पुस्तकहरू मध्येबाट नौ पुस्तकहरू क्रमश: गुहा,
गुहालेख,
गुहाचित्र एवं अन्य सम्पदा,
छाउघर,
तपन,
दोहाको सीधा उडान,
धृतराष्ट्र,
प्रतिनायक,
म स्त्री अर्थात् आइमाई,
शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ट नौ पुस्तकका रूपमा छनौट गरेको थियो।यस्तै जगदम्बा श्री पुरस्कार कार्टुनिष्ट वात्सायन (दुर्गा बराल) लाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ।
समसामयिक विषय र विसङ्गतिहरूलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरिरहे वापत श्री वात्सायनलाई जगदम्बा-श्री पुरस्कार दिइएको गुठीले जनाएको छ।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट वि.सं २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको 'हाम्रो लोक संस्कृति',
सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको 'जनरल भीमसेन थापा' तथा विज्ञान विधामा बलराम जोशीको 'अधिकविभव स्थिरविद्युत् उत्पादक' पुस्तकलाई प्रदान गरिएको थियो।२०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा-श्री पुरस्कारको स्थापना गरिएको हो।
हाल दुबै पुरस्कारको राशी २-२ लाख रहेको छ।
यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन प्रदान गरिन्छ।