'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५' स्कटल्याण्डको लागि आवेदन खुला गरिएको छ।
नेपाल आयोजक तर्फबाट फिल्मकर्मी महासंघ कोशी प्रदेशले एक विज्ञप्ती जारी गर्दै फिल्मका लागि आवेदन खुला भएको जनाएको हो। महोत्सवका नेपाल आयोजकमा नेपाल चलचित्र निर्देशक समाज रहेका छन्।
स्कटल्याण्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ। गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रमबीच 'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५' स्कटल्याण्ड घोषणा भएको थियो। 'नेपाल स्कटल्याण्ड एशोसियसन' (एनएसए) को आयोजना रहेको महोत्सवको संयोजक विजय डंगोल रहेको छ।
महोत्सवमा सहयोगी संस्थाको रूपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल रहेको छ।
महोत्सवमा आदिवासी जनजाति विषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीकाका फिल्मले सहभागीता जनाउन सक्नेछन्।
महोत्सवमा आदिवासी कथामा बनेका मुलधारका कथानक फिल्मलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराए।
हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकारलाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्सव, जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए।
'पहिलो पटक एडम्बरामा हुन लागेको महोत्सवका लागि हामी उत्साहित छौं महोत्सवले पक्कै पनि आदिवासी जनजाति फिल्म क्षेत्रमा थप योगदान पुर्याउनेछ,' आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष तथा महोत्सव संयोजक विजय डंगोल भने।
महोत्सव स्कटल्याण्डमा आयोजना हुने विश्वको चर्चित महोत्सव 'एडम्बरा महोत्सव' कै अवसर पारेर आयोजना हुन लागेको हो।