वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'ऊनको स्वीटर' ले प्रचार-प्रसारलाई अझ तीव्र बनाएको छ।
फिल्म युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ। यही शृङ्खलामा शुक्रबार साँझ पोखरामा 'ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं' शीर्षकको कार्यक्रम गरिएको छ।
फेवाताल किनारको हल्लनचोकमा आयोजित कार्यक्रममा गायक तथा फिल्मका गीत निर्देशक सुजन चापागाईंले दर्शक झुमाए।
उनले 'ऊनको स्वीटर' को 'मखमली', 'काफ्ले', 'फूल' लगायत गीतहरू प्रस्तुत गरे।
साथै, सोहीदिन प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९० औं जन्म जयन्तीको अवसर पारेर उनले झलकमानलाई समर्पित विशेष प्रस्तुति समेत दिए। झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँग उनले ‘बाला जोबन’ गीत गाएका थिए। सो अवसरमा झलकमानको परिवार र सारंगी पाठशालालाई सम्मानसमेत गरियो।
फिल्मको टिमबाट अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरूङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री लगायतको उपस्थिति थियो।
कार्यक्रमकै अवसरमा फिल्मका तीन नयाँ पोस्टरहरू समेत सार्वजनिक गरियो। अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै फिल्म 'ऊनको स्वीटर' मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे। माओत्से गुरूङले आफू सधैं राम्रो ब्यानरको फिल्ममा काम गर्न चाहने बताउँदै आर्टमाण्डुको अफर सजिलै स्वीकारेको बताए।
निर्देशक नवीन चौहानले आर्टमाण्डुका गीतहरूले जस्तै फिल्मले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास दिलाए।
अभिनेत्री परीक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताइन्। यही फिल्मबाट डेब्यु गरेका एलेक्स पारसले दर्शकमाझ प्रत्यक्ष रूपमा आउन पाउनु ठूलो खुसी भएको बताए। एलेक्स यसअघि आर्टमाण्डुकै गीत 'फूलथुङ्गे रानी' मा अभिनय गरेर चर्चा कमाएका थिए।
कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले 'काफ्ले' गीतमा रमाइलो नृत्य प्रस्तुत गरे। साथै, पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। अब 'ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ' को अर्को शृङ्खला वैशाख १८ गते धरानमा हुनेछ।


