सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड बनाएको 'पूर्ण बहादुरको सारंगी' का निर्देशक सरोज पौडेलको आगामी फिल्म 'कोशेढुंगा' को फर्स्टलुक सार्वजनिक गरिएको छ।
निर्माण टिमले फर्स्टलुकका रूपमा पोस्टर ल्याउँदै प्रदर्शन मिति समेत घोषणा गरेको छ। फिल्म भदौ १२ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको हो।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन्। ग्रामीण परिवेशमा रहेर तयार पारिएको पारिएको पोस्टरमा सुरक्षालाई पछ्यौरा ओढेर छड्के हेरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ।
फिल्मको कथाबारे निर्माण पक्षले केही खुलाएको छैन।
फिल्मका निर्देशक पौडेलले भने, 'पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ। यसलाई अहिले यतिमै सीमित गरौं। अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौं।'
यो फिल्ममा सुरक्षासहित आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारहरूको अभिनय छ। महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन्।
