ओलम्पिकमा नेपाली श्रृंखलाः नेपालले विश्व खेलकुदको 'कुम्भ मेला' ओलम्पिकमा भाग लिन थालेको ५६ वर्ष भइसकेको छ।
सन् १९६४ को ओलम्पिकमा पहिलो पटक झन्डा फहराएको नेपालले १९६८ को ओलम्पिकमा भाग लिएन। सन् १९७२ देखि लगातार भाग लिँदै आएको नेपालले हिउँदे (विन्टर) ओलम्पिकमा भने सन् २००२ देखि मात्र सहभागिता जनाउन थालेको हो।
गृष्मकालीन र हिउँदे ओलम्पिक गरी १७ संस्करणमा ९१ नेपाली खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन्।
सन् १९८८, दक्षिण कोरिया, सोल ओलम्पिकको प्रदर्शनी खेलमा समावेश तेक्वान्दोमा विधान लामाले कास्य जितेका थिए। तेक्वान्दो त्यति बेलासम्म ओलम्पिक खेल नभएकाले लामाले जितेको पदक आधिकारिक होइन।
ओलम्पिकमा नेपालको प्रदर्शन फिक्का छ। लगातार खराब प्रदर्शन गरिरहँदा नेपालले तत्काल पदक पाउने सम्भावना देखिँदैन।
तर झन्डै सय वर्षअघि नै नेपालीले ओलम्पिक पदक पाएका थिए भन्दा हामी धेरैलाई कौतहुल होला- कसले, कसरी?
त्यो इतिहास रचयिता हुन् तेजवीर बुरा (बुढा)। उनले सन् १९२४ को हिउँदे ओलम्पिकमा पदक पाएका थिए।
सन् १९२२ को सगरमाथा आरोहण दलमा समावेश तेजवीरलाई सम्मानस्वरूप ओलम्पिक पदक प्रदान गरिएको थियो।
तेजवीर गोर्खा सेनाका 'लान्सनायक' थिए। उनी भारतीय सेनाको कमान्ड छैठौं गोर्खा राइफलको २ नम्बर बटालियनमा कार्यरत थिए। गोर्खा सेनामा जागिरे हुँदै तेजवीर सन् १९२२ मा 'ब्रिटिस माउन्ट एभरेस्ट एक्सपिडिसन' मा सहभागी थिए।
एक्सपिडिसनले ९८ वर्षअघि विश्वको अग्लो चुचुरो सगरमाथा चढ्ने प्रयास गरेको थियो। नेपाली भूभागबाट चढ्ने अनुमति नभएका कारण बेलायती टिमले तिब्बतको उत्तरी मोहडाबाट चढ्ने प्रयास गरेको थियो।
पर्वतारोहणको नेतृत्व बेलायती सेनाका ब्रिगेडियर जनरल चार्ली ब्रुसले गरेका थिए। उक्त दलमा १३ जनाको नाम उल्लेख छ। सगरमाथा चढ्ने अभियानमा अन्य सयौं सहभागी भए पनि उनीहरूको नाम अहिलेसम्म उपलब्ध हुन सकेको छैन।
सगरमाथा चढ्ने पहिलो प्रयास असफल भएको थियो। त्यसपछि जर्ज फिन्च, जियोफ्री ब्रुस र गोर्खा सेना तेजवीरले बोतलमा राखिएको अक्सिजनको सहायताले सगरमाथा चढ्ने दोस्रो प्रयास गरेका थिए।
७ हजार ४ सय ६० मिटर आरोहणपछि तेजवीरलाई सगरमाथामा चलेको तीव्र हावाले असर गरेको थियो। मौसम खराब भइरहेपछि हावा छेक्न नसक्ने लुगा लगाएका तेजवीरलाई फिर्ता पठाइएको थियो। संसारका महान् पर्वतारोहीमा गनिने जर्ज फिन्चले तेजवीरको प्रशंसा गर्दै 'हाम्रा गोर्खामध्ये सबैभन्दा दृढ' भनेका थिए।
बेलायती समूहले तेस्रो प्रयासमा सागरमाथाको ८ हजार ३ सय २६ मिटरसम्म आरोहण गरे। चुचुरोमा पुगेनन्। लगातार मौसम खराब भएपछि पर्वतारोहीहरू फर्कन बाध्य भएका थिए।
यो प्रयासको दुई वर्षपछि फ्रान्सको चेमोनिक्समा भएको पहिलो हिउँदे ओलम्पिकमा सगरमाथा चुचुरो चुम्न प्रयास गरेकालाई सम्मानस्वरुप ओलम्पिक स्वर्ण पदक प्रदान गरिएको थियो।
पर्वतारोहीलाई स्वर्ण दिनुपर्ने लबिङ आधुनिक ओलम्पिकका पिता पियरी डे कुबरतिनले गरेका थिए। उनी त्यति बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थिए। उनले उक्त पदक कुनै देशका लागि नभई मानवताका लागि दिएको बताएका थिए।
सन् १९२४, जनवरी २४ देखि फेब्रुअरी ५ सम्म भएको पहिलो हिउँदे ओलम्पिक्सको समापन अवसरमा गोर्खा सेनाका लेफ्टिनेस्ट कर्णेल एडवार्ड स्ट्राउस पर्वतारोहीको मेडल लिन पुगेका थिए। समारोहमा पर्वतारोहण टोली नेता चार्ली ब्रुस भने उपस्थित थिएनन्।
सुरूमा १२ जना बेलायती र एक जना अस्ट्रेलियन पर्वतारोहीलाई मात्र पदक दिइएको थियो।
१३ जनालाई मात्र पदक दिइएपछि चार्ली ब्रुसले अभियानमा खटिएका अन्य ८ जनालाई पनि पदक दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई आग्रह गरेका थिए। जसमा तेजवीर र अन्य सात जना भरिया भएको विश्वास गरिएको छ। ब्रुसको आग्रहपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ८ जनाका लागि पदक पठाएको थियो।
सबै पदक 'अल्पिनिजम' (पर्वतारोहणसम्बन्धी) विधामा दिइएको थियो। उक्त हिउँदे ओलम्पिक्सको अल्पिनिजम पदक भने बेलायतले पाएको उल्लेख छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि सन् १९२२ मा सगरमाथा आरोहणमा गएका पर्वतारोहीलाई हिउँदे ओलम्पिकमा स्वर्ण दिइएको पुष्टि गरेको छ।
'हामीलाई प्राप्त तथ्यांकअनुसार पर्वतारोहीलाई ओलम्पिकको समापन समारोहमा पदक दिइएको थियो,' अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मिडिया रिलेसन टिमले इमेलमार्फत भन्यो, 'आइओसीको आधिकारिक समारोहमा पदक दिइए पनि पर्वतारोहणलाई आधिकारिक खेलकुद प्रतिस्पर्धा मानिएको थिएन। त्यसैले सन् १९२४ को हिउँदे ओलम्पिकको आधिकारिक नतिजामा पदक समावेश छैन।'
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले क-कसले पदक पाएको भने पुष्टि गर्न नसकिने बताएको छ। इंग्ल्यान्डको विनचेस्टरमा रहेको द गोर्खा म्युजिमले भने पर्वतारोहीमध्ये तेजवीर बुराले पनि पदक पाएको पुष्टि गरेको छ।
'सगरमाथा आरोहण दलमा गोर्खा सेनाका लान्सनायक तेजवीर बुरा पनि थिए। उनीसहितको पर्वतारोही समूहलाई १९२४ को हिँउदे ओलम्पिक्समा पदक दिइएको थियो,' द गोर्खा म्युजियम ट्रस्टका कलेक्सन अफिसर डग्ड हेन्डर्सनले इमेलमार्फत जानकारी दिए, 'यो पदक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका संस्थापक तथा तत्कालीन प्रमुख पियरी डे कुबरतिनले प्रदान गरेका थिए।'
गोर्खा म्युजियमका अनुसार पर्वतारोहीलाई दिइएका सबै पदक 'गोल्ड' जस्तो लागे पनि तेजवीरलाई दिइएको पदक रजत थियो।
'पर्वतारोहीलाई दिइएका सबै पदक स्वर्ण भनिन्छ, तर तेजवीरलाई दिएको रजत हो जुन गोर्खा संग्रहालयमा सुरक्षित छ,' गोर्खा म्युजियमको भनाइ छ।
तेजवीरलाई दिइएको पदकका विषयमा नेपाल ओलम्पिक कमिटीसँग भने आधिकारिक तथ्यांक जानकारी छैन। उनको जन्ममिति, जन्मथलो लगायत विवरण अहिले पनि बाहिर आउन सकेको छैन।
'लन्डन ओलम्पिक्स २०१२ को आधिकारिक वेबसाइटमा नेपालका तेजवीर बुराले सन् १९२४ मा पदक पाएको उल्लेख थियो। त्यसपछि मात्र तेजवीरका बारे सार्वजनिक भएको हो,' नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने।
श्रेष्ठले तेजवीरका अरू विवरण र जानकारी खोज्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोग लिएर काम गर्ने बताए।
'यो पदक नेपालको आधिकारिक त होइन तर पनि ओलम्पिक पदक पाएको विषय ऐतिहासिक र महत्वपूर्ण हो। त्यसैले हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग सहयोग लिएर आधिकारिक सूचना ल्याउने प्रयास गर्नेछौं,' श्रेष्ठले भने।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुहोस्ः