ओलम्पिकमा नेपाली
काठमाडौंको मरूटोलमा एकाएक उमेश मास्केको चर्चा चुलियो। ०३२ सालको कुरा हो, कमलपोखरी बक्सिङ क्लबले आयोजना गरेको प्रतियोगितामा मास्केले आफूभन्दा १० केजी बढी तौल भएका प्रतिस्पर्धीलाई 'नकआउट' गरेका थिए। त्यसपछि त टोलटोलमा उनकै गफ हुन थालेको थियो।
नियमअनुसार बक्सिङ खेल्न समान तौलका प्रतिस्पर्धी हुनुपर्छ। तर मास्के आफूभन्दा १० केजी बढी तौल भएका वसन्त राईसँग खेल्न तयार भए। त्यसमाथि राई उनीभन्दा अग्ला थिए। आफ्नो ६३ केजी तौल समूहमा कोही खेल्न तयार नभएपछि राईसँगै भिड्न मास्केले नाम लेखाएका थिए।
उनको उचाइ र तौल समूह देखेर सिंगापुर पुलिसका जागिरे राईले मुड्की उज्याउँदै भनेछन्, 'यो ज्यापूलाई आज खतम बनाउँछु।'
पहिलो राउन्डमा मास्केले राम्रो खेल्न सकेनछन्। राईको पञ्च खाएर अनुहारभरी निलडाम पारेर आए। उनले हार पनि मानिहालेछन्, प्रशिक्षकसँग दोस्रो राउन्ड खेल्न नसक्ने बताए।
'मास्के, तैंले एकदमै राम्रो खेलिरहेको छस्। तैंले हानेको उसले हेरेको छैन। एक पञ्च उसको चिउँडोमा लाग्यो भने नकआउट भइहाल्छ,' प्रशिक्षकले सम्झाए।
प्रशिक्षकले भने जस्तै मास्केले बुद्धि लगाएर खेले। आफूभन्दा अग्ला र मोटा राईलाई चिउँडोमा हान्दै रिङमा ढलाए।
'मेरो पञ्चले राई नकआउट भए। चोट गहिरै परेछ, राई उठ्न सकेनन्,' मास्केले भने, 'त्यसपछिका मैले कुनै राष्ट्रिय प्रतियोगिता हार्नुपरेन। सधैं पहिलो भएँ।'
त्यसपछि त हो मरूटोलमा उनको चर्चा चुलिएको।
मास्केको पञ्चबाट ढलेका राईले त्यसपछि कहिल्यै बक्सिङ खेलेनन्। मास्केका लागि भने त्यो खेल जीवनकै 'टर्निङ प्वाइन्ट' बन्यो। राष्ट्रिय प्रतियोगितामा उनलाई हराउने बक्सर निस्किएन। त्यसैले उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए। विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा दुईपटक सहभागिता जनाए। बक्सिङबाट पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने इतिहास बनाए।
२०१४ सालमा जन्मिएका मास्केले बाल्यकालदेखि नै बक्सिङ सिकेका थिए।
'स्कुलमा कुनै नै कुनै खेल खेल्नुपर्ने नियम थियो। अरूको कुटाइबाट बच्न बक्सिङ रोजेँ,' सुरूमा पद्मोदय र पछि ल्याब स्कुल पढेका मास्केले भने,'स्कुलबाट फर्किएपछि जैसीदेवलको योङ स्टार क्लबमा सिक्थ्यौं।'
स्कुल र क्लबमा सिकेपछि बक्सिङमा लत बस्दै गयो।
२०२९ सालमा उनी १३ वर्षका हुँदा पहिलोपटक बक्सिङ प्रतियोगितामा भाग लिए। बाग्मती बक्सिङ संघले गरेको प्रतियोगितामा स्वर्ण जिते।
उनको फोटो गोरखापत्रमा छापियो।
पत्रिकामा फोटो छापिएपछि उनका बुवा निकै खुसी भए। बुवा नापीका सुब्बा थिए, छोराले राम्रो पढ्दैन कि भन्ने चिन्ता लिइरहन्थे।
'खेलेपछि पढाइमा ध्यान नदेला भन्ने बुवालाई चिन्ता थियो,' उनले भने, 'जब मेरो फोटो पत्रिकामा छापियो, उहाँ धेरै खुसी हुनुभयो। खेल र पढाइ दुवैमा ध्यान दिन भन्नुभयो।'
त्यति बेला बक्सिङ खेल्न सहज थिएन। 'हेडगार्ड' लगाउने चलन थिएन। रिङ व्यवस्थित थिएनन्। कमसल पञ्जा लगाएर खेल्नुपर्थ्यो।
'चार कुनामा लठ्ठी गाडिन्थ्यो। अनि डोरीले बाँधेपछि रिङ बन्थ्यो। रिङमा न पिच हुन्थ्यो, न म्याट,' मास्केले भने, 'हेडगार्डको चलनै थिएन। जुटबाट बनेका भारतीय पञ्जा खस्रो हुन्थ्यो। झेली गर्नेले पञ्जाको भित्री भाग सार्थे। खेल्नै डर मर्नु थियो।'
काठमाडौंमा हुर्किएकाले मास्के खेलकुदमा लाग्ने मौका पाए। तर खेलाडीका लागि सुविधा भने काठमाडौंमा पनि एकदेशको कथा थियो। जे थियो, त्यसमा अभ्यास गर्नुको विकल्प थिएन।
उपलब्ध सुविधामै २०३२ सालदेखि राष्ट्रिय च्याम्पियन बनेका मास्केको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९७९ को प्रि-ओलम्पिक हो।
मस्कोमा भएको प्रि-ओलम्पिकमा २०४ देशले भाग लिएका थिए। मास्केसहितका नेपाली बक्सर प्रशिक्षकबिनै पुगेका थिए। प्रशिक्षक नभएपछि रिङमा मास्केलाई धावक बैकुण्ठ मानन्धले लिएर गए।
रिङ पुगेपछि फसाद पर्यो। ओलम्पिक अधिकारीहरूले बुट नलगाई खेल्न नदिने बताए।
'तिम्रो बुट खोइ,' अधिकारीले प्रश्न गरे।
'नो सर,' मास्केले अंग्रेजीमा यति मात्र जवाफ फर्काउन सके। अधिकारी खुब रिसाए। मास्के चिन्तामा डुबे।
'खेल्न भनेर पुगेपछि त्यत्तिकै फर्कनुजस्तो लाजमर्दो केही होइन,' मास्केले सम्झिए, 'म लाजले पानी पानी भएको थिएँ।'
मास्केलाई अप्ठ्यारो परेको एक जना जापानी प्रशिक्षकले देखेछन्।
'धन्दा नमान, तिम्रो साइज कति हो?,' जापानी प्रशिक्षकको प्रश्नपछि आफ्नो मनै उज्यालिएको उनी सम्झिन्छन्। बल्लतल्ल बुट पाएर रिङ छिरेका मास्केलाई प्रतिद्वन्द्वीले सातो लिए। प्रतिस्पर्धी मंगोलियाका थिए, एसियन च्याम्पियन पनि।
'धेरै कुटाइ खाएँ। उसको पञ्च जिउभरी लागेको थयो। अनुहार सुन्निएर चस्मा समेत लगाउन निमिल्ने भएको थियो। त्यस्तो बेला मलाई देखेको भए आफन्तले पनि चिन्दैनथे,' उनले भने।
पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै मास्केको होस उड्यो। बक्सिङ नखेल्ने निर्णय गरे। बरू टेनिस खेल्ने सोच बनाउँदै समान किनेर नेपाल फर्किए। उनले बक्सिङ छोड्न लागेको खबर राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले थाहा पाए। तत्काल मास्केलाई बोलाएर सम्झाए।
'मास्के, तिमी राम्रो खेलाडी हौ। किन यसरी डराएको,' शाहका भनाइ सम्झिँदै मास्केले भने, 'तिम्रो खेल एसियाको गोल्ड मेडलिस्टसँग पर्यो। कहिलकाहीँ भाग्यले साथ दिँदैन। तिमी जस्ता राम्रा खेलाडीले पनि खेल्दिनँ भन्यो भने अरू कसले खेल्छ भन त?'
शाहले सम्झाएपछि मास्के सन् १९८० को मस्को ओलम्पिकको तयारीमा जुटे। रंगशालाको प्यारापिटमुनि क्याम्प थियो।
'हामी सुत्ने कोठामाथि माकुराको जालैजालो थियो, ओछ्यानभरी धूलो हुन्थ्यो,' उनले खेलाडीका पीडा सुनाए। मस्को जानु दुई महिनाअघि रंगशालाबाट क्याम्प सारेर महेन्द्र युवालयमा राखियो। त्यहाँ झन् पानीको समस्या भयो।
सामान्य तयारीमा मस्को पुगेका उनको खेल राम्रो हुन सकेन। ६० केजीको लाइटवेट प्रतिस्पर्धामा भाग लिए। नाइजेरियन प्रतिद्वन्द्वीसँग पहिलो चरणमै पराजित भए।
'खेल्न असाध्यै गाह्रो भयो। मैले हान्दा उसलाई नछोएको जस्तो लाग्ने,' मास्केले भने, 'उसले हानेको चाहिँ हतौडाले नै हानेकोजस्तो हुन्थ्यो।'
ओलम्पिकको अनुभव त्यही वर्ष भातरको मुम्बईमा भएको एसियन एमेच्योर बक्सिङ च्याम्पियनसिपमा काम लाग्यो। उनले यो प्रतियोगितामा कास्य पदक जिते। त्यो पदक नेपालले अन्तर्राष्ट्रिय बक्सिङमा हात पारेको पहिलो पदक हो। सेमिफाइनलमा कोरियन खेलाडीसँग पराजित भएपछि मास्केको स्वर्ण जित्ने सपना भने पूरा हुन सकेन।
कोरियनसँगको सेमिफाइनल खेलमा उनी घाइते समेत भए।
'आँखाबाट रगत आइरहेको थियो। अब आँखा देख्दिन भन्ने डरले रोएँ पनि,' उनले हाँस्दै सम्झिए, 'आँखा नदेख्नेलाई कोही केटीले हेर्दैनन्, अनि मेरो बिहे नै हुन्न भन्ने पीर पनि कम्ता परेन।'
उनको आँखा सन्चो भयो। पछि बिहे पनि भयो।
घाइते भए पनि बक्सिङबाट नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएर फर्कँदा मास्केलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह विमानस्थाल पुगेका थिए।
'उहाँले त खुसीले मलाई जुरुक्कै बोक्नुभएको थियो,' मास्केले प्रधानमन्त्रीले गरेको सम्मान सम्झे। त्योबाहेक उनलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
सन् १९८२ को एसियाली खेलकुद मास्केको खेल जीवनको अर्को महत्वपूर्ण प्रतियोगिता हो। मास्केसहितका नेपाली खेलाडी एसियाली खेलकुदको तयारीका लागि साढे चार महिनाअघि नै बैंकक पुगेका थिए। त्यति बेला मास्केको तौल ७२ केजी थियो। उनी ५२ केजी तौल समूहमा भाग लिन पुगेका थिए। त्यसैले उनको पहिलो काम नै तौल घटाउने थियो।
त्यति बेला बक्सिङ संघका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ थिए। उनले तत्कालीन राजा वीरेन्द्रलाई एसियाली खेलकुदको ब्रिफिङ गर्ने क्रममा मास्केबाट पदकको सम्भावना रहेको बताएका थिए।
'विष्णुगोपाल सरले मास्केले तौल घटायो भयो पदक जित्न सक्छ भनेर राजालाई बिफ्रिङ गर्नुभएछ,' उनले भने।
यता तयारीका लागि बैंकक पुगेका नेपाली खेलाडीलाई भने बस्न-खानै निकै समस्या थियो। मास्केका अनुसार फुटबल खेलाडीलाई ५ सय भाट भत्ता थियो। बक्सिङकालाई जम्मा १५० भाट। त्यो पैसाले खानै धौधौ हुन्थ्यो।
त्यही बेला खेलकुद परिषदका सदस्य अनुप राणा बैंकक पुगे।
'राम्रोसँग खानै पाउँदैनौं सर,' खेलाडीहरूले राणासँग गुनासो गरेपछि उनले अध्यक्ष श्रेष्ठसँग कुरा गर्ने बचन दिए। भत्ता बढाएर १७५ भाट पुर्याइयो।
यी समस्याका बावजुद बक्सर नरबहादुर योञ्जनका रमाइला क्षण मास्के सम्झिन्छन्। योञ्जन आफ्नी प्रेमीकालाई चिठ्ठी लेखेर पठाइरहन्थे रे।
'चिठ्ठीका लागि चाहिने टिकट किन्न नरबहादुर खाना नै कम खान्थ्यो,' मास्केले भने।
यता खेलाडीले कम पैसामा चल्न यति दुःख गर्थे, उता प्रशिक्षकले उनीहरूलाई धोका दिए। खासमा बक्सिङ खेलाडीको भत्ता २ सय भाट पुगेको रहेछ। त्यो कुरा उनीहरूले नेपाल आएपछि मात्र थाहा पाए। खेलाडीलाई १७५ भाट दिएर दैनिक २५ भाट प्रशिक्षकले खाइदिएको मास्के बताउँछन्।
फेरि नेपाली बक्सरलाई बैंककमा थाइ प्रशिक्षकले निकै पेलेर सिकाउँथे।
'अभ्यासमा सकिएन भने मान्छेलाई दास जस्तो व्यवहार गर्थे। बेचेको मान्छे जसरी कुट्थे,' मास्केले भने। अभ्यास कठिन हुँदा मास्के रात परेपछि रून थाल्थे रे।
'कस्तो खेल खेलिएछ भनेर आँखा रसाउँथ्यो,' उनले भने, 'कहिले आँखा सुनिन्थ्यो। कहिले दाँत खुस्किन्थ्यो। राम्रो अनुहार कुनै बेला हुँदैन थियो।'
अनेक दुःख सहेर मास्केले ७२ केजीको शरीर ५२ केजीमा झारे। तौल सोचेअनुरूप घटेपछि सबैले मास्केबाट पदकको आशा बढेको बताएका थिए।
तर आफ्ना प्रतिस्पर्धीको नाम सुनेपछि मास्केको होस फेरि उड्यो।
'नुहाइरहेको थिएँ। विष्णुगोपालले सरले टाइ ड्र भएको र मेरो पहिलो भिडन्त कोरियन खेलाडीसँग भएको सुनाउनुभयो,' उनले भने, 'मलाई त बाघको मुखमा आहारा परेजस्तै लाग्यो। पाकिस्तानी, मलेसियन वा जापानी नै परेको भए पो जितिन्थ्यो।'
तर उनले हिम्मत बटुले र निडर भएर कोरियनसँग भिडे। जित्न भने सकेनन्।
मास्केले बिर्सन नसक्ने खेल १९८३ मा श्रीलंकामा खेलेको क्लिफोर्ड कप हो। उनले यो प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई नकआउट गरेर स्वर्ण जितेका थिए। उनलाई 'मिस्टर नकआउट' को उपाधि मिलेको थियो।
दुई वर्षपछि उनले सन् १९८४ मा अमेरिकाको लसएन्जलसमा भएको ओलम्पिकमा भाग लिने मौका पाए। ओलम्पिकका लागि नेपाली बक्सरलाई अमेरिकाकै प्रशिक्षकले सिकाएका थिए।
'अमेरिकन प्रशिक्षकले खेलसँगै ट्रिक पनि सिकाउँथे,' उनले भने, 'विपक्षीलाई रिस उठाउने खेलका लागि विभिन्न हर्कत गर्न भन्थे।'
त्यति बेला मास्के आफ्नो खेल जीवनको उच्च 'फर्म'मा थिए। ओलम्पिकमा भिड्न आत्मविश्वासी थिए।
'त्यो ओलम्पिकमा राम्रो खेल्न सक्छु भन्ने लागेको थियो। अनुभव र राम्रो प्रशिक्षण पायौं,' उनले भने, 'पैसा छ भने भोक पनि लाग्दैन भनेजस्तै राम्रो तयारी छ भने आत्मविश्वास आउने रहेछ। विपक्षीले दुई हान्यो भने म एकैपटक हानेर लडाउँछु भन्ने बल आउने रहेछ।'
मास्केले उक्त ओलम्पिकमा ६३.५ केजी तौल समूहको लाइट वाटरवेटमा प्रतिस्पर्धा गरेका थिए। 'बाइ' पाएर दोस्रो राउन्ड पुगेका मास्केको भिडन्त अल्जेरियाका अहमेद हाड्जालासँग भयो। तर प्रतिस्पर्धा राम्रो भएन। मास्के दोस्रो चरणबाटै बाहिरिए।
ओलम्पिक खेलेलगत्तै उनले नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिए। यसमा पनि उनको स्वर्ण जित्ने सपना पूरा हुन सकेन।
अनि मास्केले खेलबाट सन्न्यास लिए। बक्सिङ संघको सदस्य बने। यहीक्रममा उनले तत्कालीन युवराज दीपेन्द्रलाई बक्सिङ सिकाउने मौका पाए।
'मसँगै बक्सिङ खेलेका रविराज थापा दीपेन्द्रका सुरक्षागार्ड थिए। रविकै सम्पर्कमा दीपेन्द्रलाई बक्सिङ सिकाउन नियुक्त भएँ,' उनले भने।
दीपेन्द्रलाई उनी हरेक शुक्रबार बुढानीलकण्ठ स्कुल गएर सिकाउँथे।
'खेलमा राजकुमार भन्ने हुन्न। स्पाइरिङ र किक हान्ने सबै हुन्थ्यो,' उनले भने, 'दीपेन्द्र निकै ध्यानपूर्वक बक्सिङ सिक्थे।'
उनले दीपेन्द्रलाई २ वर्षसम्म सिकाए। त्यसपछि दीपेन्द्र र मास्केको भेट सन् १९९९ मा आठौं दक्षिण एसियाली खेलकुद क्रममा भयो। त्यति बेला मास्के बक्सिङ संघका अध्यक्ष भइसकेका थिए। साहान्सा होटलमा भएको प्रतिस्पर्धा हेर्न दीपेन्द्र आएपछि उनले नेपालको खेलबारे बिफ्रिङ गरे। साथै आफूले उनलाई बक्सिङ सिकाएको पनि सम्झाए।
'मैले हजुरलाई बुढानीलकण्ठ स्कुलमा बक्सिङ सिकाएको याद छ,' उनले दीपेन्द्रसँग जिज्ञासा राखे।
'ल तिमी त्यही मास्के हो र! म नै बुढो हुन लागिसकेँ, तिमी त जस्ताको तस्तै छौ त,' दीपेन्द्रले जवाफ दिए।
मास्केलाई पनि दीपेन्द्रलाई जिस्केरै जवाफ दिन मन थियो।
'तर राजकुमारसँग जिस्कने कसको आँट?,' मास्केले भने।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुहोस्ः