ओलम्पिकमा नेपाली
रघुराज वन्तकी पत्नीको एउटै गुनासो छ, पतिले आफ्ना लागि खाना बनाएर खुवाउँदैनन्।
६८ वर्षीय ओलम्पियन वन्तको दिन भने खाना बनाएरै सुरू हुन्छ, तर खेलाडीहरूका लागि। खेल र खेलाडीप्रतिको उनको मोह देखेर पत्नीले माफ गरिदिएकी छन्।
रानीबारी बस्ने वन्त बिहानै खाना बोकेर भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको ट्रयाकमा पुग्छन्। त्यहाँ उनलाई कुरिरहेका हुन्छन्, आधा दर्जन धावक। उनी एथ्लेटिक्स प्रशिक्षक हुन्। जागिरे होइन, स्वयंसेवी।
पैसा नभइ पाइलो नसर्ने जमानामा उनी आधा दर्जन धावकलाई दिनहुँ खाना खुवाउँछन्, प्रशिक्षण दिन्छन्। नेपालका लागि ओलम्पिकमा भाग लिने पहिलो स्प्रिन्टर वन्त २०३० को दशकदेखि एथ्लेटिक्स प्रशिक्षक छन्।
जिन्दगीमा सोख र सन्तुष्टि ठूलो कुरा हो उनका लागि।
'खेल मेरो सोख हो। खेलाडीलाई सहयोग गर्दा सन्तुष्टि मिल्छ,' यति भन्दै उनले आफ्नो सोखको कथा सुनाए।
उनको परिवारै खेलप्रेमी थियो। बुबा गणेशराज फुटबल खेलाडी। नेपालबाट कलकत्ता गएर फुटबल खेल्ने पहिलो व्यक्ति थिए गणेशराज। बुबाले कलकत्तामा खेलेको फुटबल हेर्न अहिलेजस्तो टिभी थिएन। खेलेर फर्किँदा बुबाले ल्याएका हकी र बास्केटबलको सम्झना वन्तलाई अझै छ।
उनमा खेलप्रति रूचि जगाउने पनि बुबा नै हुन्। भने, 'बुबाकै कारण खेलकुदमा सुविधा पाएँ, उत्प्रेरणाले अघि बढेँ।'
उनी पढ्ने शान्ति विद्यागृहमा पनि खेलकुदको माहोल थियो। त्यति बेला काठमाडौंका सबैजसो स्कुलमा टेबलटेनिस बोर्ड हुन्थे। शान्ति विद्यागृहमा अन्तभन्दा धेरै थिए। प्राध्यापक विश्वम्भर प्याकुरेल र डाक्टर केदारनरसिंह केसी उनका 'क्लास मेट' हुन्। प्याकुरेल र वन्तको टेबलटेनिसमा खुब टक्कर पर्थ्यो। प्याकुरेल त इन्टरस्कुल च्याम्पियन नै भए।
२०२२ सालमा एलएलसी पास गरेपछि वन्त अमृत साइन्स क्याम्पस भर्ना भए। त्यति बेलासम्म उनको मन फुटबलमा बसिसकेको थियो। 'ठमेल ११' को टिममा परिसकेका थिए। डिफेन्डर वन्त अलि 'रफ र टफ' खेल्थे।
'आजकाल त पछाडिबाट ट्याकल गर्न पाइँदैन। हाम्रो पालामा कैंची हान्ने भनेर ट्याकल गर्थ्यौं। पछाडिबाट लडाइदिन्थ्यौं,' वन्तले सम्झिए, 'रूपपाल शमसेर एकदमै छिटो बल लैजान्थे। रंगशालामा भएको एउटा खेलमा एक दुईपटक उनले बल लगे। तेस्रोपटक मैले पछाडिबाट गज्जबसँग छिर्के लगाएँ। ट्र्याकमा लडेर उनी घाइते भए।'
त्यसरी घाइते भएका रूपपाल खेल्नै छोडे।
त्यति बेला आनन्दराज श्रेष्ठ राष्ट्रिय फुटबल टिमका कप्तान थिए। वन्तका दाजुभाइ पर्थे। आफू एकदम 'फेयर' खेल्ने श्रेष्ठले वन्तको खेल हेरेपछि भने, 'भाइ तैंले अरूको मात्र होइन, आफ्नो खुट्टा पनि भाँच्छस् जस्तो छ!'
श्रेष्ठका कुरा सुनेर वन्तले फुटबल खेल्नै छाडिदिए। अनि सुरू गरे एथ्लेटिक्स। यो खेलले निकै कडा मेहनत माग गर्छ। उनको बानी पनि चुनौतीसँग नडराउने छ।
'एक हजार ९६ दिन नबिराई प्रशिक्षण गरेँ। किनभने त्यसरी प्रशिक्षण नगरी माथि पुगिँदैन भन्ने लाग्थ्यो,' उनी भन्छन्, 'चाडपर्व, दाइभाइको बिहे-व्रतबन्ध कतै गइनँ।'
दरबारनिकट उनको परिवार सम्पन्न थियो। राजसी ठाँटबाँट सिको गर्न गाह्रो थिएन। उनका बुबाले घरमै जिमखाना बनाएका थिए। जिमखानामा वन्त घन्टौ बिताउँथे। कडा परिश्रमको फल केही वर्षमै मिल्यो।
२०२३ सालमा सय मिटर दौडमा पहिलोपटक राष्ट्रिय च्याम्पियन बने। उनले त्यो च्याम्पियनसिप चार वर्षसम्म कसैको पोल्टामा पर्न दिएनन्। कसैले उनलाई पछि पार्न सकेन।
जिमखानामा अभ्यास गरेकाले उनको ज्यान सुगठित थियो। ९० केजी पुगेपछि बडिबिल्डिङ प्रतिस्पर्धामा भाग लिए। २०३० सालमा एक-से-एक बडिबिल्डरलाई उछिन्दै 'मिस्टर काठमाडौं'को उपाधि हात पारे।
यसरी च्याम्पियनसिप र उपाधिको बानी लागेका उनको अर्को सोख हो पढाइ। खेल्ने मान्छेले पढाइ छोड्ने कुरा हामीकहाँ सामान्य हो। उनी दुवैमा अब्बल हुनुपर्छ भन्ने मान्यता राख्छन्। विदेशबाट खेलकुदका नयाँ पुराना किताब मगाउँथे। पढेर खेलसंसारका कुरा थाहा पाउँथे। त्यसैले अरूभन्दा टाठा र बाठा थिए।
विदेशबाट आउने प्रशिक्षकसँग उनीहरूकै स्तरका कुरा गर्ने खेलाडी हत्तपत्त हुन्नथे। वन्त भने उनीहरूसँग अनेक जिज्ञासा राख्थे। त्यसैले विदेशी प्रशिक्षकहरू उनीसँग सजिलै नजिकिन्थे। उनको पढ्ने सोख देखेर एक जापानी प्रोफेसरले भनेका थिए, 'तिमीलाई पढ्न मन भए छात्रवृत्ति मिलाइदिन्छु।'
उनले पत्याएका त थिएनन् तर एकदिन टोकियो विश्वविद्यालयमा छात्रवृत्ति पाएको खबर आयो। जापानको विश्वविद्यालयमा जति सहजै सिट पाए, त्यहाँ जाने पासपोर्ट बनाउन आफ्नै देशमा हम्मे पर्यो। पञ्चायती शासन, सजिलै विदेश जान पाइन्नथ्यो। दरबारमा भनसुनपछि बल्ल पासपोर्ट बनाए। २०३१ सालमा जापान पुगे।
टोकियो विश्वविद्यालयमा अर्थशास्त्रमा स्नाकोत्तर पढिरहँदा उनको मन भने खेलकुद मैदानमै कुद्थ्यो। जापानमा खेलक्षेत्रकै मान्छेसँग चिनजान बढाए। केही प्रशिक्षकसँग कुरा गरेर म्याराथन धावक बैकुन्ठ मानन्धरलाई प्रशिक्षणका लागि उतै बोलाए।
त्यति बेलाका म्याराथनका विश्व च्याम्पियन थिए जापानी धावक। उनकै प्रशिक्षकसँग वन्तको हिमचिम बढ्यो। उनीसँग अभ्यासको विषयमा छलफल गर्ने र तकनिक सुनेर बैकुन्ठलाई सिकाउँथे। त्यसो गर्दा उनलाई म्याराथनको विषयमा सैद्धान्तिक ज्ञान थाहा भयो।
सन् १९७९ मा वन्त नेपाल फर्किए। जापानमा सिकेको ज्ञानकै कारण उनी पूर्णरूपमा प्रशिक्षणमा लागे। खेलाडीसँगै हिँड्दा उनी फिट हुँदै गएका थिए, धावकजस्तै देखिने प्रशिक्षक।
१९८० मा रूसको मस्कोमा हुने ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन धावक किरण श्रेष्ठले उनलाई अनुरोध गरे। उनले आनाकानी गरेछन्।
'छनोटमा दौडिने मेरो मनसाय नै थिएन, किनकि म प्रशिक्षक भइसकेको थिएँ,' उनी सम्झिन्छन्।
श्रेष्ठले उनलाई भनिरहे, 'दाइ पनि दौडिए हामीलाई सजिलो हुन्छ।'
बल्लतल्ल उनी सामेल भए। 'दौड त मैले पो जितेँ,' अहिले पनि उनको अनुहारमा जितको आभाष देखियो।
ओलम्पिकका लागि छनोट भए पनि उनी फेरि प्रशिक्षणमै लागे।
'रंगशालामा इँटा कुटेर बनाइएको ट्र्याक थियो। अहिले जस्तो प्राविधिक ज्ञान थिएन, जस्तो जानेको, त्यस्तै प्रशिक्षण गर्थ्यौं,' वन्तले भने। त्यो बेला सरकारले खेलाडीलाई ट्र्याकसुटसम्म जुटाइदिएन। यत्तिकै जान पनि भएन। त्यसैले वन्तले नै ट्र्याकसुट डिजाइन गरे सूचीकारलाई सिलाउन दिए।
'कट्टु र गन्जी भने आयोजकले व्यवस्था गरिदियो। जुत्ता पनि हामीले नै किन्यौं,' वन्तले सम्झिए, 'सोच्नुस त, हाम्रो हालत कस्तो थियो होला?'
वन्तसहित १३ जना खेलाडी ओलम्पिकका लागि रूस पुगे। त्यति बेला एथ्लेटिक्सतर्फ वन्तसँगै बैकुण्ठ मानन्धर, नरबहादुर दाहाल, लक्ष्मण बस्नेत र मुकुन्द हरि श्रेष्ठले भाग लिएका थिए। बक्सिङमा उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, पुष्करध्वज शाही र विष्णु मालाकार थिए भने भारोत्तोलनतर्फ अशोकुमार कार्की र राजेन्द्र प्रधानले सहभागिता जनाएका थिए।
यी खेलाडीमध्ये वन्त सिनियर थिए। त्यसैले खेलाडीलाई आइपर्ने समस्या समाधान गरिदिने जिम्मा उनकै हुन्थ्यो। बक्सर बिष्णु मालाकारको खेलमा त उनी 'ह्यान्डलर' बन्नुपर्यो।
'अर्का बक्सिर रविराज थापा प्रशिक्षक र म ह्यान्डलर भएर विष्णुलाई रिङमा लिएर गएका थियौं,' उनी भन्छन्, 'तर विष्णुले आत्तिएर खेल्न सकेन। ऊ फ्रिज भयो। विपक्षीलाई एक पञ्च पनि हानेन। हामीले थ्रो टावल (टावल भुइँमा झारेर हार स्वीकार) गरेर उनलाई बाहिर निकाल्यौं।'
अनुभवको कमीले नेपाली खेलाडी ओलम्पिकमा निरुत्साहित भएको वन्तको बुझाइ छ। उनी आफैं त्यसको शिकार हुन्।
'ओलम्पिकको सय मिटर दौडमा मलाई अनुभव कम भएको महशुस भयो। दौड सुरू हुनुअघि म 'नर्भस' भइसकेको थिएँ। 'अन्डरमार्क बस्दा नै कामिरहेको थिएँ,' उनले हाँस्दै सुनाए, 'नेपालीकाअघि पो म ज्याङ्गो। त्यहाँ पुगेपछि बल्ल ज्याङ्गो मान्छे देखेँ। म त निकै सानो।'
जुलाई २५, १९८०।
मस्कोको लेनिन ओलम्पिक रंगशालामा भएको प्रतिस्पर्धामा वन्त सय मिटर दौडको पाँचौं हिटमा थिए। उनीसँगै पूर्वी जर्मनीका युगेन रे, ट्रिनिडाड एन्ड टोबागोका हस्ले क्राउफोर्ड, ब्रिटेनका ड्रेउ म्याकमास्टर, डोमिनिक रिपब्लिकका गेराल्डो सुइरो, लेवनानका रोनाल्ड डाघेर र सियरा लियोनका शेकु बोइमा कुदेका थिए।
'सुरूको ३०-४० मिटर गज्जब दौडिरहेको थिएँ। मेरै हिटमा अघिल्लो ओलम्पिकको गोल्ड मेडलिस्ट हस्ले क्राउफोर्ड थियो। ३०-४० मिटरसम्म सँगसँगै देखेर अचम्मै परेँ,' वन्तले सम्झे, 'बाफ रे, ओलम्पिक च्याम्पियन म सँगसँगै दौडिरहेको छ भन्ने लाग्यो। ७० मिटर पुगेपछि म थाक्न थाले। ८० मिटर पुगेर हेर्छु, ऊ त १० मिटर अघि पुगिसकेछ। सबेले दौड पूरा गर्दा ९० मिटरमा थिएँ। त्यसपछि म रोकिएँ। अचम्म परेँ। त्यसपछि फेरि दौडिएँ।'
वन्तले ११.६१ सेकेण्डमा दौड पूरा गरे। अनुभव भएको भए ११ सेकेन्डमै दौडिन्थेँ होला भनेर अहिले पनि थकथकी मान्छन्। आफूले राम्रो गर्न नसके पनि बैकुन्ठ मानन्धरले राम्रो दौडिने उनको अपेक्षा थियो। बैकुन्ठले २ घन्टा २० मिनेटभन्दा कममा दौडिने आकलन थियो।
तर म्याराथनको अघिल्लो दिन एउटा घटना भयो।
वन्तका अनुसार 'सेभ द मिसन'ले बेलुका ९ बजे सबैलाई भेला गराउने भनेको थियो। त्यो दिन बैकुण्ठ लामो प्रशिक्षण गरेर आएका थिए। 'हट टब'बाट निस्किँदा उनी उभिन सक्ने स्थितिमा थिएनन्। त्यसैले वन्तले मानन्धरलाई सुताएर आफू मात्रै भेलामा गए। मानन्धरलाई नदेखेपछि 'सेभ द मिसन' खुब रिसायो।
'भेलामा नआएको भनेर बैकुण्ठलाई १० बजेदेखि १२सम्म उभ्याइयो,' वन्त भन्छन्, 'त्यसैले भोलिपल्ट उसको म्याराथन बिग्रियो।'
ओलम्पिकबाट आएपछि उनी लगातार दुई वर्ष राष्ट्रिय च्याम्पियन बने। २०३६ सालमा रंगशालामा भएको एथ्लेटिक्स च्याम्पियनसिपमा सय र दुई सय मिटरमा स्वर्ण जिते। बागमती अञ्चल च्याम्पियन बनेर उत्कृष्ट खेलाडी चुनिए।
यसरी चुनिएका खेलाडीलाई तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहले पदक दिने कार्यक्रम थियो। अधिराजकुमारबाट पदक थाप्न कम्ता गाह्रो थिएन। पहिला लाइनमा उभिनुपर्ने, त्यसपछि गएर झुक्नुपर्ने, अघि बढेर नमस्ते गरेर मेडल थाप्ने र पछाडि आएर झुक्नुपर्ने। राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले मेडल थप्नुअघि नै यो विधि 'फलो' गर्न उर्दी जारी गरेका थिए।
वन्तलाई नियम मनपरेन। उनी केही बोलेनन् तर मेडल थाप्न जाँदा शाहको निदर्शेन पनि मानेनन्। धीरेन्द्रसँग हात मिलाए र मेडल थापे।
'मलाई निर्देशन सुनेरै झोंक चलेको थियो। राष्ट्रिय च्याम्पियन भएकाले मेडल लिनु मेरो अधिकार हो भनेर धीरेन्द्रसँग बकाइदासँग हात मिलाएँ र मेडल लिएँ,' वन्तले भने।
पञ्चायतकालमा, अधिराजकुमारसँग हात मिलाएर मेडल थापेपछि हंगामा नमच्चिने कुरै थिएन। सुरूमा त उनले हात मिलाएर मेडल थापेको तस्बिर खिचेका श्याम चित्रकारको क्यामराबाट रिल झिकेर सुरक्षाकर्मीले फ्याँकिदिए र उनीतिर बढे।
'धीरेन्द्र सरकारसँग हात मिलाएकै निहुँमा झण्डै गोली ठोकेका थिए,' वन्तले सम्झिए।
उता सदस्यसचिव शाहले वन्तलाई आजीवन निलम्बन गरिदिए। अझ वन्तमाथि तीन वटा मुद्दा चलाइयो। सदस्यसचिव शाहले जे गरे पनि वन्त हच्किएनन्। मुद्दा लड्छु भनेर जवाफ दिए। यो कुरा धीरेन्द्रले थाहा पाएछन्।
'दरबारमा भेट्न आउनू' भन्ने खबर आयो। 'स्योस्' थपेर नेपालीमा कुरा गर्न अप्ठ्यारो हुने भएपछि वन्तले धीरेन्द्रसँग अंग्रेजीमा कुरा गरे।
'तिमीले गल्ती गरेको छैन। तिम्रो मुद्दा फिर्ता हुन्छ,' धीरेन्द्रको जवाफपछि खुसी हुँदै फर्किए।
त्यसपछि वन्त निरन्तर प्रशिक्षणमा लागे। मुद्दा हालेका सदस्यसचिव शाहले उनलाई जिम्मेवारी दिन थाले। १९९० मा उनी नेपाल एमेच्योर एथ्लेटिक्स संघको अध्यक्ष बने।
'संघमा अहिलेजस्तो पैसा आउँदैन थियो। मैले आफ्नो खल्तीको पैसा हालेर संघ चलाएँ,' उनले भने, 'खेलकुद परिषदले वार्षिक २ लाख छुट्याएको भनेर चिठ्ठी पठाउँथ्यो। तर कहिलेकाहिँ मात्र पैसा पाउथ्यौं। कुनै साल १५ देखि २० लाखसम्म खल्तीबाट खर्च हुन्थ्यो।'
आफू अध्यक्ष हुँदा भारतमा भएको एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा ४५ जना खेलाडी र ७ जना प्रशिक्षकलाई सहभागी गराउनु सक्नु ठूलो उपलब्धि ठान्छन् उनी। प्रशिक्षकलाई सक्षम बनाउन विभिन्न कोर्सका कक्षा सञ्चालन गर्थे। पूर्वओलम्पिनय गंगाबहादुर थापा, भूपेन्द्र सिलवाल, जितबहादुर केसी, बैकुण्ठ मानन्धर लगायतलाई सहायक प्रशिक्षकबाट प्रशिक्षकको नियुक्ति दिलाए।
सन् १९९७ मा संघको अध्यक्षबाट राजीनामा दिए।
'जापानबाट जुनियर च्याम्पियनसिप खेल्ने पत्र आएको थियो। मैले हाइस्कुलका खेलाडीलाई पठाउने कोशिस गरेको थिएँ। भिसा दिइएन,' राजीनामा दिनुको कारणबारे वन्तले भने, 'उल्टो मलाई मानवतस्करी गर्न लागेको आरोप लगाइयो।'
आफ्नो फाइदाका लागि विभिन्न व्यक्तिले आफूलाई गलत आरोप लगाएको उनको दावी छ। त्यसको तीन-चार वर्ष त उनले खेलकुद परिषदमा पाइलै हालेनन् रे।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यो पनि पढ्नुहोस्ः