ओलम्पिकमा नेपाली
देशको इज्जत र प्रतिष्ठासँग जोडिने विश्व खेलकुदको 'कुम्भमेला' ओलम्पिकमा नेपालले १८औं संस्करणदेखि आफ्नो उपस्थिति जनायो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा 'चन्द्रसूर्य' फहराएको थियो।
नेपाली खेलकुदको अन्तर्राष्ट्रिय सहभागिताको औपचारिक पहिलो पाइला मानिने टोकियो ओलम्पिकमा छ जना खेलाडी सहभागी थिए। एथ्लेटिक्सका गंगाबहादुर थापा र भूपेन्द्र सिलवालसहित चार बक्सरहरू नमसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भिमबहादुर थापा नेपाली खेलकुद इतिहासमा स्वर्ण अक्षरले लेखिएका नाम हुन्।
पहिलो पटक ओलम्पिकमा सहभागी हुनु नै नेपालका लागि उपलब्धि थियो। त्यसमा खेलाडीको प्रदर्शन लेखाजोखा गर्नु उचित नहोला !
सन् १९६८ को मेक्सिको ओलम्पिकमा आर्थिक अभावका कारण नेपाल सहभागी भएन। सन् १९७२ को म्युनिख ओलम्पिक नेपालका लागि महत्वपूर्ण थियो।
तत्कालीन पश्चिम जर्मनीमा भएको ओलम्पिकमा धावकद्वय जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। जहाँ भक्तबहादुर सापकोटा ओलम्पिकमा म्याराथन पूरा गर्ने पहिलो नेपाली धावक बने।
१० सेप्टेम्बर १९७२, घडीको उल्टो दिशामा म्युनिख सहर फन्को मारेको क्षण सापकोटाको दिमागमा अझै ताजा छ। नेमफेनवर्ग प्यालेस हुँदै इंग्लिस गार्डेन छेउबाट ओलम्पिक रंगशाला पुगेर टुंगिएको म्याराथनको रुट जर्मन कुकुर 'वाल्डी'को आकारमा थियो।
उनका अनुसार म्याराथनमा ३९ देशका ७४ धावक सहभागी थिए।
'म्याराथन दिउँसो ३ बजे सुरू भएको थियो,' सापकोटाले स्मृतिका पाना पल्टाए, 'ओलम्पिक जस्तो प्रतिष्ठित मञ्चको ट्रयाकमा दौडन पाउनु नै उपलब्धि थियो। दौड पूरा गरेर सकेसम्म राम्रो स्थान ल्याउने लक्ष्य बनाएको थिएँ।'
पहिलो दस किलोमिटरसम्म दौड ठिकठाक थियो। ४२ किलोमिटरको दौडको दबाब अनि प्रतिष्ठाको डर, सापकोटा हतासिन थाले। अझ सँगै कुद्दै गरेका जीतबहादुर केसी 'मसल'को समस्याले गर्दा २१ किलोमिटरपछि ट्र्याकमै ढले। यसले सापकोटामाथि डरसँगै जिम्मेवारी पनि थपियो।
'एक मनमा त दौडन छाडेर बसिदिऊँ जस्तो लागेको थियो,' सापकोटा सम्झिन्छन्, 'तर, देशले विश्वास गरेर पठाएको छ। बीचमा छोड्दा ठूलो घात हुन्छ भन्ने सोचेँ।'
घरीघरी देशको झन्डा आँखै अगाडि आँउथ्यो, अनि प्रण गर्थे रे, 'प्राण गए नि जाओस्, दौड पूरा गरेरै छाड्छु।'
सापकोटाले ६० औं स्थानमा रहेर दौड पूरा गरे। त्यसका लागि उनले २ घन्टा ५७ मिनेट ५८ सेकेन्ड लगाएका थिए।
दौड पूरा गरेमध्येका बोलिभियाका क्रिस्पियन क्युस्पे र हाइटीका माउरास कार्लोटिलाई मात्र पछि पार्न सके उनले। नेपालका जीतबहादुरसहित १२ जनाले बीचमै त्यागेका थिए।
'न लामो तयारी, न कुनै लगानी। दौड पूरा गर्ने साहस कताबाट आयो होला,' उनलाई धेरैले सोध्ने प्रश्न यही हो।
सापकोटाको उत्तर हुन्छ, 'पहाडमा हुर्कनु नै मेरो खेल जीवनका लागि वरदान भयो।'
२००४ साल माघ २८ गते काभ्रेको रयालेमा जन्मिएका उनको बाल्यकाल घाँसदाउरामै बित्यो।
'रयालेबाट पनौती जान अहिले जस्तो बाटो थिएन। हिलैहिलोमा गह्रौं भारी बोकेर उकालीओराली झर्नुपर्थ्यो। त्यही हिँडाइ मेरा लागि अभ्यास बन्यो भनौं न,' उनले पहाडको त्यो दुःखलाई प्रशिक्षणका रुपमा व्याख्या गरे।
ओलम्पिक दौड पूरा गरेपछि सँगै गएका प्रशिक्षक लक्ष्मणविक्रम शाहले सापकोटालाई धाप मार्दै भनेका थिए, 'नेपालको नाम राखिदियौ, बधाइ छ। हामीलाई पनि मुख देखाउने बाटो भयो। उमेर छँदैछ, अर्को ओलम्पिकमा कोशिश गर्नुपर्छ।'
शाहकै प्रशिक्षणमा सापकोटा सेनाको जवानबाट खेलाडी भएका थिए। शाहले दौडको विषयमा प्राविधिक ज्ञान दिएर सापकोटालाई विश्वका उस्ताद धावकसँग भिड्ने बनाएका थिए।
'सेनामा भर्ती नहुँदासम्म लामो दौडिने खेल पनि हुन्छ भन्ने थाहै थिएन,' उनी सम्झिन्छन्, 'भर्ना भएपछि भक्तपुरमा तालिम भयो। पहिलोपटक त्यहीँको सडक र चौरमा दौडिएको हुँ।'
त्यही तालिम उनको खेल जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो। तालिमका दौडमा अग्रपंक्तिमा आउन थाले। सेनाको आन्तरिक प्रतिस्पर्धाका लागि छानिए।
'टोखा अस्पतालबाट कुदेर महाराजगञ्जस्थित शितल निवाससम्म ५ माइल दौडमा पहिलो भएँ,' सापकोटाले २०२५ सालको कुरा सुनाए।
त्यसपछि उनी राष्ट्रिय खेलकुद परिषदको नजरमा परे। परिषदका एथ्लेटिक्स प्रशिक्षक शाहले 'सापकोटालाई प्रशिक्षणका लागि पठाइदिनू' भनेर सेनालाई पत्राचार गरे।
'तिमी विदेशमा प्रतिस्पर्धा गर्न जानुपर्ने भयो। सेना र देशको इज्जत राख्नू,' सेनाको खेलकुद विभागले सापकोटालाई आदेश थियो।
'तर मलाई कुन अन्तर्राष्ट्रिय प्रतियोगीता खेल्न जाँदैछु, थाहा थिएन,' सापकोटा सुनाउँछन्।
परिषद पुगेपछि प्रशिक्षक शाहले सन् १९७० मा थाइल्यान्डको बैंककमा हुने एसियाली खेलकुदमा भाग लिन जाने बताए। एसियाली खेलुकदका लागि शाहसँगै भारतबाट अर्का प्रशिक्षक विद्यासागर झिकाइयो। दशरथ रंगशाला बनिसकेको थिएन, टुँडिखेलमा प्रशिक्षण भयो।
एसियाली खेलकुदमा १० हजार मिटरमा भाग लिएका सापकोटाको त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागीता थियो। टुँडिखेलको माटोमा कुदेर सिधै बैंकक पुगेका थिए। उनले सिन्थेटिक ट्र्याक देखेकै पनि त्यो पहिलो पटक थियो।
'अहिले जस्तो जुत्ता कहाँ पाउनु। जापानले निकालेको 'टाइगर' जुत्ता लगाएर दौडिएको थिएँ। सिन्थेटिक ट्र्याकमा दौडिँदा अद्भूत अनुभव भयो, कपासमाथि गोडा राखेजस्तै,' उनले सुनाए।
एसियाली खेलकुदमा दौड पूरा गरेको सम्झिने उनले कतिऔं स्थानमा परे, बिर्सिसके।
'५० जना जति कुदेका थिए होलान्। त्यस्तै १०-१५ पछि दौड पूरा गरेको याद छ।'
बैंककबाट फर्किएपछि सापकोटाले वीरगञ्जमा भएको राष्ट्रिय एथ्लेटिक्स प्रतियोगीतामा भाग लिए। पथलैयाबाट निजगढ प्रहरी चौकीसम्मको म्याराथन रुटमा दौडिएका उनी र जीतबहादुर केसी म्युनिख ओलम्पिकका लागि छानिएका थिए।
ओलम्पिकका लागि परिषदका प्रशिक्षक शाहसँगै अमेरिकाबाट आएका डा. ब्लेम सोस्मींले प्रशिक्षण दिएका थिए। राम्रो प्रशिक्षण गर्न नपाउने नेपाल जस्ता देशका लागि आयोजकले नै प्रशिक्षण व्यवस्थापन गरिदिएको थियो। त्यसैले सापकोटा र केसी तीन महिनाअघि नै जर्मनी हानिएका थिए।
दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल ओर्लिँदा 'धर्ती छाडेर स्वर्ग' पुगे जस्तै भएको थियो रे उनलाई। सुरूमा एसियाली खेलकुद जस्तै लागे पनि पछि थाहा पाए, 'ओलम्पिकमा विश्वभरका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ।'
अझ प्रशिक्षकको पेलाइ सुरू भएपछि अनुशासन र मेहनतको अर्थ बुझे।
'नेपालमा जस्तो दुख्यो, गाह्रो भयो भनेर बहाना गर्न पाइँदैन थियो। केही भए, औषधि दिइहाल्थ्यो। प्रशिक्षकले पेलेरै सिकाउँथे,' जर्मनीको कुलोन सहरमा भएको प्रशिक्षण अनुभव सुनाए। त्यहाँ टन्नै गाडी र सफा बाटोको छेउमै दौडिने ट्र्याक देखेर उनलाई अचम्म लागेको थियो।
प्रशिक्षणमा भाषा समस्याले सुरूमा अप्ठ्यारो पार्यो। प्रशिक्षक अंग्रेजी बोल्थे। सापकोटा र केसी नबुझे पनि बुझेझैं गरी टाउको हल्लाइरहन्थे रे।
'ब्यारेकमै गएर अक्षर चिनेको मान्छे। युरोपियनले अंग्रेजी बोलेको कसरी बुझ्नु,' सापकोटा भन्छन्।
अंग्रेजी समस्या थपिँदै जाँदा सापकोटाले भारतीय प्रशिक्षक जोगराज सिंहबाट आड पाए।
'डरो मत, मुझसे पुछो,' सिंहले यति भनेपछि उनीहरूलाई कतै कार्यक्रममा जान र प्रशिक्षण तालिका थाहा पाउन समस्या हुन छाड्यो।
कुलोनमा तीन महिना प्रशिक्षण गरेपछि ओलम्पिक खेल्न सापकोटा र केसीसहित प्रशिक्षक लक्ष्मणविक्रम शाह, 'अफिसियल'द्वय सागरशमशेर राणा र मोहनबहादुर शाही तथा परिषदका तत्कालीन सदस्यसचिव कुमार खड्गविक्रम शाह म्युनिख पुगे। उद्घाटन समारोहमा नेपालको झण्डा बोक्ने अवसर जीतबहादुर केसीले पाए।
ओलम्पिक हुन थालेको नौ दिन भएको थियो। ओलम्पिक 'भिलेज'मा हंगामा मच्चियो।
नेपाली खेलाडी बसेको कोठा अगाडि इजरायली खेलाडी बसेका थिए। त्यही घर कब्जा गर्ने उद्देश्यले प्यालेस्टाइन समर्थक आतंकवादी समूहले तार काटेर भित्र छिरे। उनीहरूले इजरायलका ६ जना प्रशिक्षक र ५ जना खेलाडीलाई बन्धक बनाए। इजरायलको जेलमा रहेका आफ्ना २३४ जना कैदीबन्दी रिहा गर्नुपर्ने माग राखे।
बिहान सबेरै घटना भएको थियो। सापकोटाको टोलीले टेलिभिजन हेरेर घटनाबारे थाहा पाए। त्यसपछि प्रशिक्षकहरू आएर 'सुरक्षित रहनू, दायाँबायाँ नजानू' भन्दै निर्देशन दिए।
सापकोटाले त्यो त्रासदीपूर्ण घटना अझै बिर्सन सकेका छैनन्।
'हामीलाई पनि केही हुन्छ कि भन्ने डर थियो। मुखमा पट्टी लाएका उनीहरू यताउति गरिरहन्थे। उनीहरूका नेताले आयोजकसँग वार्ता गरिरहेको छ भनेर हामीलाई जानकारी गराउँदै नडराउन भनिन्थ्यो,' उनले सुनाए।
दुई दिनसम्म वार्ता चलेपछि बन्दी खेलाडी र प्रशिक्षकलाई ओलम्पिक भिलेजबाहिर लान दिने सहमति भयो। तर जर्मन प्रहरीले आतंकवादीलाई आक्रमण गरेर बन्दीहरू छुटाउने प्रयास गरे। सफल भने भएनन्।
एक विमानबाट अर्को विमानमा बन्दी सार्ने क्रममा प्रहरीले आक्रमण गरेको थियो। आक्रमणपछि बन्दी ६ जना प्रशिक्षक र ५ जना खेलाडीको हत्या भयो। जर्मन प्रहरीले ५ जना आतंकवादीलाई घटनास्थालमै मारेको थियो। ३ जना समातिए।
चार दिनसम्म रोकिएर सुरू भएको ओलम्पिकको अन्तिममा म्याराथन प्रतिस्पर्धा भयो। दौडिनुअघि घटना साम्य भए पनि डर नहटेको सापकोटा बताउँछन्। त्रासबीच दौड पूरा गरेर उनले नेपाली खेलकुदमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए।
'पहिला ओलम्पिकमा गंगाबहादुर थापा र भूपेन्द्र सिलवाल दाइले भाग लिए पनि दौड पूरा गर्नु भएको थिएन। त्यसैले म्याराथन पूरा गर्ने इतिहास बनाउन सफल भएँ,' सापकोटाको छाती गर्वले चौडा हुन्छ।
जर्मनी पुगेको ३ महिना १८ दिनपछि नेपाल फर्किँदा सापकोटासहितको नेपाली टिमलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल एअरपोर्ट पुगेका थिए।
'प्रधानमन्त्रीले स्वागत गरेपछि टाँगामा राखेर काठमाडौं एक चक्कर घुमाएर सिन्दूरे जात्रा गरियो,' उनले ४७ वर्षअघिको रोमाञ्चक यात्रा सुनाए।
यसपछि उनले सन् १९७३ मा फिलिपिन्समा एसियन ट्र्याक एन्ड फिल्ड र पाकिस्तानको लाहोरमा भएको प्रतियोगीतामा भाग लिए। त्यसको एक वर्षपछि भारतको बैंगलोर र पाकिस्तानको पेसावरमा दौडन पुगे।
यसरी कुद्न थालेको १८ वर्षपछि उनले सन् १९७८ मा बुट थन्काउने निर्णय गरे।
'पुराना खेलाडीले खेलिरहँदा नयाँले मौका पाउँदैनन्। यसैले संन्यास लिएँ,' खेल जीवनबाट टाढिए पनि उनले सेनाको जागिर खाइरहे। जागिर खाएको अन्तिम दिनसम्म पनि कुद्न भने छाडेनन्।
२०५२ सालमा सेनाबाट पनि मानार्थ लप्टन हुँदै अवकास पाए। काभ्रेमा जन्मिएका उनी ५५ सालदेखि हेटौंडामा बस्दै आएका छन्। तर २४ वर्षयता नेपाली ओलम्पिकका इतिहास सापकोटा गुमनाम नै छन् भन्दा फरक पर्दैन। स्थानीय खेलकुदका एकाध कार्यक्रममा सहभागी हुनुबाहेक उनलाई कसैले सम्झिँदैनन्। नयाँ पुस्ताले चिन्दैनन्।
उनी आफ्नो जमाना र अहिलेको खेलकुद तुलना एक्लै गरेर बस्छन्। सुविधामा धेरै फरक भए पनि स्तर खास फरक हुन नसकेकोमा चिन्ता गर्छन्।
'हामी नुन र कागती पानी खाएर दौडिएका, अहिले दूध पनि नखाने खेलाडी छन्,' यसो भनिरहँदा उनको स्वर उँचो भइरहेको थियो,' अहिले खेलाडीमा अनुशासन पटक्कै छैन।'
उनलाई खेलमा हुने राजनीतिले पनि दिक्क पार्छ।
'त्यति बेला खेल कुनै अमुक पार्टीका लागि थिएन, राष्ट्रका लागि थियो। अहिले पार्टी-पार्टी भनेर मारामार गर्छन्। लाखौं पैसा खर्च गरेर खेलकुदका पदाधिकारी हुन्छन्,' उनी आक्रोशित सुनिन्छन्।
राजनीतिकै कारण हो त अहिलेसम्म नेपाली खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा प्रगति गर्न नसकेको?
उनी सोझो उत्तर दिन्छन्, 'नेपाली खेलाडी कमजोर छैनन्। कमी त हौसला र सुविधाको हो। राष्ट्रले पनि खेलकुद माथि लाने योजना बनाउनुपर्छ।'
नयाँलाई सुविधाको वकालत गरिरहँदा उनी पुराना खेलाडीलाई हेला भएको महशुस गर्छन्।
'ओलम्पिक खेलेको ५३ वर्षपछि खेलकुद परिषदले महिनामा पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो। तर काटेर ३ हजार मात्र दिने भएछ। यो त आँखामा छारो हाल्ने काम होइन र,' उनको प्रश्न छ, 'हामी तीन हजारका ओलम्पिक खेलाडी हौं? नुन र कागती पानीका भरमा राष्ट्रका लागि कुदेको यस्तै अपमान गर्न हो?'
जति नै आक्रोश पोखे पनि खेलकुद राजनीतिले गाँजिसक्यो। अब केही हुँदैन- उनले बुझेको यत्ति हो। त्यसैले होला उनी आफ्नै दैनिकीमा रमाएका छन्।
'खेत किनेको छु। जान-आउन १२ किलोमिटर छ। सके हिँडेर, नभए साइकलमा जान्छु,' ७४ वर्षमा पनि दौडिरहेका सापकोटा भन्छन्, 'अहिले पनि १० किलोमिटर दौडमा भाग लिनुपर्ने अवस्था आयो भने पछि हट्दिनँ।'
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)