नेपाली सेनाले भदौ २३ र २४ गतेको घटनाको वास्तविकता बिर्सेर त्यतिबेला किन बल प्रयोग गरिएन भनेर अहिले आलोचना भएको बताएको छ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्यविभाग प्रमुख अनुपजंग थापाले परिस्थितिअनुसार सेनाले वास्तविकता मूल्यांकन गरेर निर्णय लिइएको भए पनि अहिले छिटपुट आलोचना भइरहेको बताएका हुन्।
'त्यसबेलाको वास्तविकता तथा समग्र नेपालीको मनमा उब्जेको भावनाहरु बिर्सी केही ठाउँमा नेपाली सेनाले घातक शक्ति प्रयोग नगरेको भन्ने लगायतका केही छिटफुट आलोचनाहरु आजभोलि सुन्नमा आएका छन् आजको मिसिन्फर्मेशन र डिसिन्फर्मेशन को वातावरणमा यो आफैमा विरोधाभास पूर्ण देखिन्छ किनभने सेनाको स्पष्ट प्राथमिकता जनधनको सुरक्षा र राष्ट्र एकता नै हो,' उनले भने।
उनले जेनजी आन्दोलनका विश्वव्यापी तरङ्गहरु केही अघि बाटै देखिँदै आए पनि नेपालमा घटनाक्रम भने इभोलुसन भन्दा इरप्सनका रूपमा देखा परेको बताए।
'नेपाली सेनाले तत्कालिन परिस्थितिमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नको लागि सुरक्षा अवस्थाको वस्तुपरक ढंगले मूल्यांकन गरी आवश्यकताको सिद्धान्तलाई मनन गरी आवश्यक पहलता लिएको थियो,' उनले भने।
त्यसपछिको परिस्थितिमा पनि नेपाली सेनाले न्यायपालिका, अन्य सुरक्षा निकायहरु तथा राष्ट्रसेवक कर्मचारीहरुसँगको समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सहकार्य गर्दै आएको उपरथी थापाले बताए।
'सेना को प्रत्येक कदम संयम विवेकपूर्ण सर्वोपरि राष्ट्र हित तर्फ र जिम्मेवारी मा आधारित हुनुपर्छ भन्ने हाम्रो अटल विश्वास रहदै आएको छ,' उनले भनेका छन्।