ओलम्पिकमा नेपालीः वि.सं २०२० दशकमा नेपाली एथ्लेटिक्समा जीतबहादुर केसी र भक्तबहादुर सापकोटाको एक छत्र राज थियो।
नेपाली सेनाका धावकद्वयलाई भेट्टाउन जो कोहीलाई मुश्किल पर्थ्यो।
जीतबहादुर र भक्तबहादुरको दबदबा रहेका बेला दुई जना जुनियर धावकले २०२८ सालमा तहल्का मच्चाए। ती थिए- बैकुण्ठ मानन्धर र मुकुन्दहरि श्रेष्ठ। उनीहरूले जुनियरको प्रतिस्पर्धामा बाजी मारे।
त्यति बेलाको राष्ट्रिय प्रतियोगितामा बैकुण्ठले ५ हजार र १० हजार तथा मुकुन्दहरिले आठ र १५ सय मिटरको जुनियरमा स्वर्ण जितेका थिए। दुवैलाई जीतबहादुर र भक्तबहादुरपछि नेपाली एथ्लेटिक्स धान्ने खेलाडीका रूपमा लिन थालियो। (जीतबहादुर केसीको स्टोरी पढ्नुस्ः दोलखाबाट नुन लिन हिँडेका थिए, म्यूनिख पुगे)
काठमाडौं कालीमाटीका बैकुण्ठ र ठहिटीका मुकुन्दहरि बाल्यकालका दौंतरी थिए। दुवै शान्ति निकुञ्ज स्कुल पढ्थे। दुवैको रूचि पनि खेलकुदमै। उनीहरू स्कुलका प्रतियोगितामा भाग लिन्थे, सधैं पहिला हुन्थे। बैकुण्ठ र मुकुन्दहरि एउटै प्रतिस्पर्धामा कहिल्यै भिड्दैनथे।
'स्कुलमा बैकुण्ठ ८ सय र १५ सय दौडमा भाग लिन्थ्यो, म २ सय र ४ सय दौडिन्थेँ,' मुकुन्दहरिले भने, 'सबै पदक जित्ने हाम्रो लक्ष्य हुन्थ्यो।'
स्कुलका मिल्ने साथी बैकुण्ठ र मुकुन्दहरि अधिकांश समय सँगै हुन्थे। जहाँ जता गए पनि उनीहरूको हल छुट्दैनथ्यो।
२०११ सालमा जन्मिएका मुकुन्दहरि दौडबाहेक फुटबलका स्तरीय खेलाडी थिए। उनले काठमाडौंको अन्नपूर्ण क्लब, सुन्धारा क्लब, संकटा क्लब र भक्तपुर क्लबबाट राष्ट्रिय प्रतियोगितासहित ए डिभिजन लिग समेत खेले।
'मेरो बुवाहरू ठहिटीका पुराना व्यापारी हुनुहुन्थ्यो। म भने खेलकुदमा लागेको थिएँ,' उनले भने, 'खेलेर नाम कमाइने अनि विदेश जाने पाइने भएकाले खेलाडी बन्ने निधो गरेको थिएँ। घरपरिवारको साथ थियो।'
२०२८ सालमा रंगशालामा भारतीय प्रशिक्षक विद्यासागरले जीतबहादुर र भक्तबहादुरलाई सिकाइरहेको देखेर धावक बन्ने लक्ष्य बनाएका थिए मुकुन्दहरिले।
'स्कुलमा दौडिए पनि म्याराथन कति दूरीको हुन्छ भन्ने थाहा थिएन,' उनी भन्छन्, 'जब भारतीय प्रशिक्षकले सिकाएको देखेँ, त्यसपछि धावक बन्छु भन्ने लाग्यो।
सन् १९७२ मा जर्मनीको म्युनिखमा हुने ओलम्पिकका लागि छनोट प्रक्रिया सुरू भएको थियो। जीतबहादुर र भक्तबहादुर पहिलो र दोस्रो हुँदै छनोट भएका थिए। मुकुन्दहरि त्यति बेलासम्म म्याराथन प्रवेश गरिसकेका थिएनन्।
२०३१ सालमा २० वर्षको उमेरदेखि भने उनी पूर्णरूपमा धावक बने। त्यसपछि राष्ट्रिय प्रतियोगितामा ५ हजार मिटर, १० हजार मिटर र म्याराथनमा प्रतिस्पर्धा गर्न थाले।
फुटबल र एथलेटिक्स सँगै अगाडि बढाएका उनले २०३२ सालदेखि फुटबल खेल्न छाडे।
'काठमाडौंका धेरै वटा क्लबबाट खेलेँ। फुटबल टिम खेल भएकाले पदक पाउन एक वर्ष कुर्नुपर्ने,' उनले एथ्लेटिक्स रोज्नुको कारण खोले, 'एथ्लेटिक्स व्यक्तिगत खेल भएकले मिहिनेत गर्यो भने फल आइहाल्ने, वर्षमा चार-पाँच वटा मेडल लाउन पाइने।'
पूर्णकालीन एथ्लेटिक्स खेलाडी भएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर मिल्न थाल्यो। सन् १९७५ मा भारतको बैंगलोरमा भएको अल इन्डिया एथ्लेटिक्स च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। जसमा उनले म्याराथनमा रजत पदक हात पारे।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामा रजत हात पारेपछि उनी निकै हौसिएका थिए।
नेपाल फर्किएपछि क्यानडामा सन् १९७६ मा हुने मोन्ट्रेरियल ओलम्पिकका लागि छनोट प्रतियोगिता भयो। छनोटमा बैकुण्ठले बाजी मारे। (बैकुण्ठ मानन्धरको स्टोरी पढ्नुस्ः जसलाई राजा वीरेन्द्रले अँगालो मार्दै भने- ओहो, हाम्रो देशको हिरो!)
भक्तबहादुर दोस्रो भए भने मुकुन्दहरिले तेस्रो स्थामा चित्त बुझाउनुपर्यो।
पहिलो र दोस्रो हुनेलाई क्यानडा पठाउने कुरा थियो। पछि कोटा काटियो र एक जना मात्र सहभागी हुन पाउने भए।
बैकुण्ठ मात्र क्यानडा जान पाउने भएपछि दोस्रो भएका भक्तबहादुर र तेस्रो भएका मुकुन्दहरि पाकिस्तानमा हुने अन्तर्राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने गए।
पाकिस्तानको म्याराथनमा मुकुन्दले भक्तबहादुरलाई पछि पारे। मुकुन्दहरि दोस्रो भए भने भक्तबहादुर तेस्रो। (भक्तबहादुर सापकोटाको स्टोरी पढ्नुस्ः नुन पानी खाएर ओलम्पिकमा दौडेका हामी तीन हजारका खेलाडी !)
दुई वर्षपछि थाइल्यान्डको बैंककमा भएको आठौं एसियाली खेलकुदमा मुकुन्दहरिले राम्रो प्रदर्शन गरे। ५ हजार मिटरमा सातौं र १० हजार मिटर दौडमा नवौं भएका थिए।
सन् १९७८ सम्ममा मुकुन्दहरि र बैकुण्ठले नेपाली एथ्लेटिक्समा एक छत्र राज गरिसकेका थिए। जीतबहादुर र भक्तबहादुरमाथि यी दुवै दौंतरी हावी भएका थिए।
सन् १९८० मा रसियाको मस्को ओलम्पिकका लागि मुकुन्दहरि र बैकुण्ठको विकल्प थिएन। राम्रो टाइमिङमा भएका दुईलाई ओलम्पिकमा सहभागी गराउने नेपाल ओलम्पिक कमिटीले निर्णय गर्यो।
'त्यति बेलासम्म जीतबहादुर र भक्तबहादुर हराइसकेका थिए। त्यसैले बैकुण्ठ र म सहजै छानियौं,' उनले भने, 'तर छनोट प्रक्रियाको प्रचार नभएको भन्दै निकै विरोध भयो।'
कतिसम्म विरोध भने दबाब थेग्न नसकेर ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष अनुप शमशेर राणाले फेरि छनोट हुने बताए।
'तिमीहरू छनोट भइहाल्छौ। फेरि दौडिए भइहाल्छ नि,' अनुपले मुकुन्दहरि र बैकुण्ठलाई भनेका थिए।
मस्को उड्ने तीन साताअघि दशरथ रंगशालामा भएको पुनः छनोटमा सुरूमा दर्जन खेलाडी सहभागी थिए।
'सहिदगेट पुग्दासम्म बैकुण्ठ र म मात्र बाँकी थियौं, सबैले दौड छाडिसकेका थिए,' उनले भने।
म्याराथनका लागि दौडिरहेका बेला काठमाडौंमा घनघोर वर्षा भएको उनलाई अहिले पनि याद छ।
'हामीले बीचैमा छाड्ने कुरा थिएन। निरन्तर दौडियौं,' उनले भने, 'त्यही बेला ठूलो पानी पार्यो। घुँडासम्म जमेको पानीमा दौडिरह्यौं।'
४२ किलोमिटर म्याराथन पूरा गरेर रंगशाला छिरेपछि पनि उनीहरूले सुख पाएनन्। प्रशिक्षकले थप १० किलोमिटर दौडन निर्देशन दिए।
'फेरि कोटेश्वर पुगेर रंगशाला छिरेपछि मात्र त्यो दिनको छनोट सकियो,' उनले भने।
प्रतिस्पर्धामा बैकुण्ठ पहिला र मुकुन्दहरि दोस्रा भएका थिए। मस्को उड्नुअघि नेपाली खेलाडीलाई बन्द प्रशिक्षणका लागि एक साता महेन्द्र युवालय र त्यसपछि ब्लु स्टार होटलमा राखिएको थियो। त्यो नेपालीले खेलाडीले पाएको एक मात्र सुविधा थियो।
अन्य सुविधामा भने राज्यको ध्यान पुगेको थिएन। खेलाडीले लगाउने ट्र्याकसुट निकै कमसल थियो।
'ट्र्याकसुट जति धोयो, त्यति सानो हुँदै जान्थ्यो,' उनले भने।
१ अगस्ट १९८०, मुकुन्दहरिको जीवनकै अविस्मरणीय क्षण।
त्यो दिन उनी मस्कोको सेन्ट्रल लेनिन ओलम्पिक रंगशालामा ५३ देशका ७६ धावकसँगै म्याराथन कुदेका थिए। बैकुण्ठ मानन्धर पनि सँगै थिए। मुकुन्दहरिले ४५ औं स्थानमा दौड पूरा गर्न २ घन्टा ३८ मिनेट ५२ सेकेन्ड लगाए।
बैकुण्ठ ३७ औं स्थानमा आए। उनले २ घन्टा २३ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेका थिए।
ओलम्पिक प्रतिस्पर्धा अहिले सम्झिँदा उनलाई राम्रो कुदेको जस्तो लाग्छ। कमी थियो, सही प्रशिक्षणको।
'अरूको दाँजोमा कमजोर प्रदर्शन देखिए पनि हामीले राम्रो कुदेको जस्तो लाग्छ,' उनले भने, 'हाम्रो क्षमता नै नभएको होइन। कतिसमय दौडिनुपर्छ भन्ने लगायत प्रशिक्षण र सुझाव दिने मान्छे थिएन। आफैं किताब खोजेर पढ्थ्यौं र आफ्नै हिसाबले दौडिन्थ्यौं।'
ओलम्पिकमा भाग लिएर आएपछि उनी बैंकक म्याराथन कुद्न थाइल्यान्ड पुगे। तेस्रो भएका उनले त्यति बेला १५ हजार भाट पुरस्कार जितेका थिए। उनले दौडिएर पाएको पुरस्कारमध्ये यो सबैभन्दा धेरै थियो।
लगातार दोस्रोपटक एसियाली खेलकुदमा भाग लिने क्रममा उनले सन् १९८२ मा नयाँ दिल्लीको नवौं संस्कणको एसियाली खेलकुदमा भाग लिए। म्याराथनमा उनी सुरूमा अगाडि नै थिए। २२ किलोमिटर कुदेपछि बैकुण्ठले दौड छाडेको खबर सुने।
'बैकुण्ठले दौड छाड्यो भनेपछि मनोवैज्ञानिक रूपमा असर गर्यो,' उनले भने, 'ओहो ! म पनि सक्दिनँ कि भन्ने डरले दौड 'स्लो' हुँदै गएको थियो।'
तै पनि उनले सातौं स्थानमा पूरा गरे।
२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपपछि उनको खेल जीवनले नसोचेको मोड लियो।
म्याराथन प्रतिस्पर्धामा अन्तिम ७ किलोमिटर बाँकी छँदा उनका मांसपेशी बाउँडिए। उनले दौड भने छाडेनन्, तेस्रो स्थानमा पूरा गरे।
त्यति बेला अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक आउन ६ महिना बाँकी थियो। ६ महिनाअघि भएको सो प्रतियोगितालाई ओलम्पिक छनोट मानियो। तेस्रो भएका मुकुन्दहरि ओलम्पिक खेल्न नपाउने भए।
उनी कम्तिमा २ घन्टा २७ मिनेटमा म्याराथन दौडन सक्थे। त्यसैले ओलम्पिक खेल्न धेरैतिर अनुरोध गरे।
'सक्षम खेलाडीको प्रदर्शन कहिलेकाहीँ बिग्रन सक्छ, त्यसैले रेकर्डका आधारमा छनोट हुन्छ कि भन्ने लागेको थियो,' उनलाई ३७ वर्षअघिको त्यो घटना सम्झिँदा अहिले पनि दुःख लाग्छ, 'मेरो अनुरोध नसुनी २ घन्टा ४६ मिनेटमा म्याराथन पूरा गर्नेलाई छानियो।'
यसपछि उनले खेल जीवनै त्याग्ने निर्णय गरे। अनि बागमती खेलकुद विकास समितिमा प्रशिक्षकका लागि निवेदन थिए। एक वर्षपछि उनी प्रशिक्षक भए।
मुकुन्दहरिले खेल जीवन त्यागेकै वर्ष नेपालमा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता भयो। भाग लिने धोको हुँदाहुँदै पनि उनी 'अफिसियल'मा खुम्चिन बाध्य भए।
जब उनले खेलकुद त्यागे, तब बैकुण्ठको खेल जीवनले गति लिन थाल्यो। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने इतिहास बनाएका बैकुण्ठले साग खेलकुदमा लगातार तीन स्वर्ण जितेर कीर्तिमान बनाए।
आफूले बाध्यतावश् खेल जीवन त्याग्नु परे पनि बैकुण्ठको सफलतामा उनी निकै खुसी छन्।
'दक्षिण एसियाली खेलकुदअघिसम्म हामी सँगसँगै हिड्थ्यौं, खान्थ्यौं, खेल्थ्यौं,' मुकुन्दहरिले भने, 'सागपछि उसले निकै सफलता हात पार्यो, यसमा म निकै खुसी छु।'
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुहोस्ः