नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको छ।
सुपर-६ को अन्तिम खेलमा समाओलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो।
नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर-६ मा स्थान बनाएको थियो। सुपर-६ मा नेपालले युएई, कतार, ओमान र समाओलाई हरायो। नेपालले सुपर-६ मा १० अंक जोड्दा दोस्रो स्थानको ओमानको ८ अंक र तेस्रो स्थानको युएईले ६ अंक जोडे। छनोटबाट नेपालसँगै ओमान र युएई विश्वकपमा छनोट भए।
शुक्रबार नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको समोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र जोड्न सक्यो।
समोआलाई सस्तैमा रोक्न नेपालका ललित राजवंशीले ३ विकेट लिए। ब्याटिङमा सामोआका सिन सोलियाले सबैभन्दा बढी ४० न जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफले ४१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६९ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल १५ बलमा १७ रन बनाए।
दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए। आरिफ शेख ९ रनमा आउट हुँदा रोहित पौडेलले नटआउट २१ रन बनाए। रोहितले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
आक्रामक ब्याटिङ गरेका लोकेश बमले १२ बलमा नटआउट ३९ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।