ओलम्पिकमा नेपाली
होचा कदका उनलाई सबैले 'फुच्चे' भनेर बोलाउँथे। फुच्चे भए पनि फुर्तिला थिए। फुर्तिला भएकै कारण नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा बोक्ने ऐतिहासिक अवसर पाएका थिए।
ती 'फुच्चे'जीतबहादुर केसीको फूर्तिको चर्चा कम थिएन। त्यति बेला एक जर्मन पत्रिकाले लेखिदिएको थियो, 'यसपटकको ओलम्पिकमा हिमाली देशको फुच्चेले पदक जित्न सक्छ।'
ओलम्पिक तयारीका लागि तीन महिनाअघि जर्मनीको कुलोन सहर पुगेका जीतबहादुरले अभ्यास दौरान एसियाका सबै खेलाडीलाई पछि पारेका थिए। त्यसैले ओलम्पिकमा मेडल ल्याउन सक्छ भनेर उनी प्रख्यात भएका थिए रे।
'एसियाली खेलाडी मात्र दौडिँदा पहिलो भएको थिएँ,' जीतबहादुर म्यूनिख ओलम्पिकअघिको अभ्यास सम्झन्छन्, 'त्यसैले ओलम्पिकमा तेस्रोसम्म हुन सक्छ भनेर पत्रिकाले लेख्यो।'
जीतबहादुर त्यति बेला जीवनकै उच्च 'फर्म'मा थिए। भाग लिएका सबै खेलाडीलाई पछि पार्न सक्छु भन्ने आँट थियो। त्यो आँट नेपाली सेनामा भर्ना भएपछि प्राप्त भएको थियो।
'२०२१ सालमा नुन लिन बनेपा आएका थियौं। त्यसपछि सुन बनाउन भन्दै भक्तपुर हानियौं,' २००४ सालमा दोलखामा जन्मिएका उनले सम्झिए।
भक्तपुरमा कवाज हेरिरहेका १७ वर्षे जीतबहादुर आफू नजिक सेनाका कर्णेल आउँदै गरेको देखेर झस्किए।
'तेरो घर कहाँ हो? सेनामा जागिर खान्छस्?,' तत्कालीन कर्णेल बलबहादुर कार्कीका दुई प्रश्नपछि उनी क्षणभरमै रोमाञ्चित भए।
भर्तीको लाइनमा खडा भएका उनको उचाइ पुगेन। 'पछि बढ्छ, अहिले भर्ना गर' कार्कीको आदेशपछि नुन लिन हिँडेका जीतबहादुर सेनाका जवान बने।
दौडमा रफ्तारमा उनको उचाइ कहिल्यै बाधक बनेन। सेनाको आन्तरिक प्रतिस्पर्धामा उनलाई पछि पार्ने खेलाडी निस्किएनन्। धनगढीको आफ्नो युनिटमा पहिलो भएका उनी आर्मीको अन्तरिक प्रतिस्पर्धाको रूपमा रहेको ५ माइल दौडमा पनि पहिलै भए।
'आर्मीमा अब्बल भएपछि सन् १९७० को बैंकक एसियाली खेलकुदका लागि छनोट भएँ,' जीतबहादुर भन्छन्।
सेनामा जागिर सुरू गरेकै वर्ष बैंककमा भएको एसियाली खेलकुद उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। भर्खर दशरथ रंगशाला बन्दै थियो। त्यसैले रंगशालाबाट नागढुंगा तथा नागढुंगाबाट रंगशाला दौडाएर छनोट गरिएको थियो।
छनोटमा उनी पहिलो नै भए। दुई महिना टुँडिखेलमा प्रशिक्षण गरेर लक्ष्मण शाह र मधुशमशेर राणासँगै बैंकक गए। प्रतियोगिताबारे केही थाहा थिएन। आयोजनास्थल देख्दै डर लाग्यो रे उनलाई। त्यसैले राम्रो प्रदर्शन गर्न सकेनन्। सातौं भएर फर्किए।
पहिलो सहभागितामा राम्रो प्रदर्शन गर्न नसके पनि प्रशिक्षकहरूले 'यो केटा राम्रो धावक हुन्छ' भनेर हौसला दिइरहे। त्यसैले कडा मेहनत गर्न छाडेनन्। त्यति मेहनतले उनी र भक्तबहादुर सापकोटा म्यूनिख ओलम्पिकका लागि छनोट भए।
तयारीका लागि उनीहरू टुँडिखेलबाहेक काठमाडौं नजिकका डाँडाहरू सुन्दरीजल, गोदावरी, साँखु र साँगा भञ्ज्याङसम्म पुग्थे। त्यति बेला खेलकुदबारे मानिसहरूलाई धेरै थाहै थिएन, झन् दौड त! बिहान सबेरै कुदिरहेको देखेर मानिसहरू छक्क पर्थे रे।
'बिहान बिहानै कहाँबाट चोर आएछ भनेर मानिसहरू कुकुर फुकाइदिन्थे,' जीतबहादुरलाई सम्झना छ। प्रशिक्षण र बैंकक एसियाली खेलकुदको अनुभवले जीतबहादुरको दौड निखारिँदै थियो। अभ्यासमा उनले आफ्नो क्षमता देखाएर सबैलाई प्रभावित पारेका थिए। त्यो क्षमता मैदानमा उतार्न नपाउँदै म्यूनिख ओलम्पिकमा दुःखद घटना भयो।
५ सेप्टेम्बर १९७२, को त्यो कालो रात जीतबहादुरको मष्तिस्कबाट हटेकै छैन।
निद्रा नलागेपछि उनी ओछ्यानमा ढल्किरहेका थिए। नेपाल खेलाडी बसेको 'भिलेज' अन्डरग्राउन्ड थियो। उनी कोठा नम्बर ५ मा थिए।
एक्कासि 'ड्याङ्ग' आवाज आयो। आवाजसँगै आएको कम्पनले उनी बसेको कोठा 'जुरुक्कै उचालेको' थियो रे। तर, उनले खेलकै क्रममा आवाज आएको ठानेर पर्दा खोलेर हेरेनन्।
'लगत्तै अर्को पटक पनि पड्कियो। फेरि कोठा जुरुक्क उचाल्यो। हत्तेरी कति पड्काएका हुन् भन्ने लाग्यो तर, ढोका खोलेर हेरिनँ। त्यत्तिकैमा निदाएछु,' उनी भन्छन्।
बिहान ४ बजे कान फुट्लाझैं ओलम्पिक भिलेजमा घन्टी बज्यो। कोठाअघि 'नेपाली टोपी' मागिरहने एक जना गार्ड बस्थे। उनैले चिया लिएर आएको होला भन्ने लाग्यो उनलाई।
'भर्खर निदाएको मान्छेको निद्रा बिगारिदिने कस्तो कुइरे रहेछ,' गार्डलाई मनमनै गाली गर्दै तौलिया बेरेर ढोका खोले। तर, अघिल्तिर शारदा राज्य लक्ष्मी शाहलाई देखेपछि उनी लाजले रातोपिरो भए। राजा महेन्द्रकी माइली छोरी शारदा खेलकुद परिषदका तत्कालीन सदस्यसचिव खड्ग विक्रम शाहकी श्रीमती हुन्।
ढोका खेलेपछि शारदाले उनलाई रातिको घटनाबारे सोधिन्।
'आवाज सुनेको हो, तर घटनाबारे केही थाहा पाइनँ सरकार,' उत्तर फर्काए।
ढोका खोलेर हेर्दा रगतैरगत थियो। त्यसपछि उनको मुटु ढक्क फुल्यो।
पछि थाहा भयो, प्यालेस्टाइनी विद्रोहीले इजरायली खेलाडीलाई आक्रमण गर्न भित्र छिरेका रहेछन्।
'आक्रमणकारी भिलेजभित्रै थिए। एक जनाले ह्यान्ड ग्रिनेट बोकेको थियो, अर्कोले बन्दुक। त्यो देखेपछि ओलम्पिक भिलेजभर आतंक फैलिएको थियो,' त्रासदीपूर्ण घटनाका प्रत्यक्षदर्शी जीतबहादुरले सुनाए। (घटनाबारे अघिल्लो शृंखलामा पनि चर्चा गरेका छौं)
यसपछि जीतबहादुर निकै डराए।
'घडीको टिकटिक आवाज मात्र होइन, झिँगा उडेको आवाजले पनि डर लाग्थ्यो,' उनी भन्छन्।
ओलम्पिकअघि चर्चित बनेका उनीमाथि पदकको दबाब थियो। यता मन बिचलित भयो। १० सेप्टेम्बर १९७२ मा उनी आफ्ना साथी भक्तबहादुर र ३९ देशका ७४ धावकसँगै म्याराथन दौडिए।
दुर्भाग्य, पदकको आशा गरिएका उनी २१ किलोमिटर दौड पूरा गरेपछि घाइते भए। २१ किलोमिटरका बाँकी छँदा उनको तिघ्राको मांसपेशी पोका पर्न थाले। केही बेर सहेर कुदिनैरहे।
'समस्या नआउन्जेल सबभन्दा अघिल्लो समूहमा कुदिरहेको थिएँ। पछि तिघ्राको मासु यताका उता, उताका यता भए। लगत्तै मलाई अस्पताल लगियो,' उनलाई दौड त्याग्नु परेकोमा अहिले पनि दुःख लाग्छ, 'उपचार क्रममा गोडा तीन ठाउँमा काटियो। जमेको पूरै रगत झिकियो। गोडामा गरिएको प्लास्टर नेपाल आएर काटियो। अहिले पनि खत छ।'
यसरी ओलम्पिकमा नेपालका लागि पहिलो पदक जित्ने उनको लक्ष्यमा चोट बाधक बन्यो। ओलम्पिकको घाउ बिर्सिँदै उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपको तयारी थाले।
त्यति बेला खेलाडीलाई पाँच रुपैयाँको 'डाइट' दिइन्थ्यो। त्यो पनि प्रतियोगिता हुनु १५ दिनअघिदेखि मात्र। त्यसैले खेलाडीले छुट्टै डाइट खाएर प्रतिस्पर्धा गर्ने जमाना थिएन। एक गिलास दूध र एउटा अन्डा खाएरै सकिन्थ्यो।
सन् १९७३, नोभेम्बरमा फिलिपिन्सको राजधानी मनिला पुगेका उनमा ओलम्पिकको सपना त्यहाँ पूरा गर्ने चाहना थियो। एउटै समस्या थियो, दौडँदा लगाउने राम्रो जुत्ता थिएन। कमसल खाले 'टाइगर' जुत्ताको पानी परिहाले कामै थिएन। म्याराथन सुरू हुँदा मनिलामा भारी वर्षा भयो। वर्षा रोकिने कुनै सम्भावना नभएपछि म्याराथन सुरू भयो। प्रतिस्पर्धामा ४२ राष्ट्र सहभागी थिए।
'२० किलोमिटर कुदेपछि एउटा जुत्ता खुस्कियो। कुद्ने ट्र्याकमा घुँडासम्म आउने पानी थियो। जुत्ता कता गयो, खोज्ने कुरा भएन। त्यसैले अर्को जुत्ता पनि फालिदिएँ। एउटी महिलाले मैले फालेको जुत्ता र मोजा टिपेको झ्वाट्ट देखेँ पनि। अनि खाली खुट्टै दौडलाई निरन्तरता दिएँ,' उनी भावुक बने।
केही बेरपछि पानी पर्न छोड्यो। जमेको पानी स्वाट्टै सुक्यो, ट्र्याक क्लियर भयो। तर, समस्या थपियो। सडकबाट तातो बाफ आउँदा खाली खुट्टा कुद्न मुश्किल हुन थाल्यो। तै पनि तातो बाफमा उनका खुट्टा अघि बढ्न थाले। उनीअघि दुई जना कोरियन खेलाडी थिए। दोस्रो स्थानमा रहेकासँग ठूलै प्रतिस्पर्धा चल्यो।
सिंगापुर, श्रीलंका र जापानका खेलाडीले उनलाई पछ्याइरहेका थिए। भारतीय खेलाडी भने 'जुत्ता छैन' भनेर दौडिएका थिएनन्।
'मेरा खुट्टाका दसै औंलाबाट रगत बगिरहेको थियो। तातो पिचले पैताला पोल्थ्यो। जहाँ टेक्यो त्यहाँ रगतका डाम बसेको थियो,' गरिब देशका खेलाडीका दुःख सुनाए उनले।
नेपालका प्रशिक्षक मधुशमशेर ढाडस दिँदै भनिरहेका हुन्थे, 'नछोड, नछोड, तिमी हिँडेर गए पनि तेस्रो हुन्छौ, तिम्रो पछि कोही छैन।' यसले उनलाई थोरै भए पनि हिम्मत मिल्यो।
दोस्रो स्थानका कोरियन खेलाडी र उनी रंगशालामा सँगसँगै पसे। तर कोरियनले स्पाइक जुत्ता लगाएकाले ट्र्याकमा छिट्टै गति पक्रिए। उनी भने रंगशालामा झनै दौडिन सकेनन्।
'खुट्टा पोलेर खपिनसक्नु थियो। कुर्कुच्चा मात्र टेकेर हिँड्न सक्ने अवस्था पनि थिएन। तर पनि कोरियनसँगै पूरा गरेर तेस्रो भएँ,' जीतबहादुरले नेपाली खेलकुदको ऐतिहासिक क्षण सुनाए।
यो नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक हो। उनलाई तेस्रो हुँदा 'पहिलो अन्तर्राष्ट्रिय पदक' हुन्छ भन्ने समेत थाहा थिएन। जितेपछि नेपालका अधिकारीहरूले भनेपछि मात्र थाहा पाए।
उनका गोडाबाट रगत बगिरहेकै थियो। लगत्तै अस्पताल लगियो। खुट्टामा पूरै ब्यान्डेज बाँधेकाले चप्पल लगाएर बिस्तारै हिँड्थे।
'त्यो क्षणको तस्बिर अहिलेसम्म पाउन नसक्दा उनलाई दुःख लाग्छ। अहिलेको जस्तो धेरै मिडिया थिएनन्। हाम्रो फोटो त्यति बेला कसले खिचिदिने ?'
नेपालका लागि पहिलो पदक जितेर फर्किँदा विमानस्थलमा स्वागत गर्न थुप्रै मान्छे भेला भएका थिए। सिन्दुरे जात्रा गरेर नगर परिक्रमा गराइयो। मोटरमा राखेर असन, इन्द्रचोक, न्युरोडलगायत स्थान घुमाइएको थियो। बाटोमा हिँडेका मान्छे छक्क पर्थे। त्यो बेला खेलकुदबारे मान्छेलाई खासै चासो थिएन।
'काठमाडौंमा घर, मधेसमा मौजा' दिने आश्वासन दिइएको थियो। दिनको १० रुपैयाँ भत्ता दिने कुरा पनि गरियो। राजा वीरेन्द्रले 'उसको राम्रो व्यवस्था गरिदिनू' भनेर निर्देशन दिएको उनी बताउँछन्। तत्कालीन खेलकुद परिषदका सदस्यसचिव, प्रधानमन्त्रीलगायतले 'गरिदिन्छौं' भनेका यी व्यवस्था उनले अहिलेसम्म पाएका छैनन्।
त्यसपछि पनि केही वर्ष दौडलाई निरन्तरता दिएका जीतबाहादुरले सन् १९७८ मा बुट थन्क्याउने निर्णय गरे। तीन वर्षपछि सेनाको जागिर त्यागे। नेपाल पुलिसका तत्कालीन आइजिपी खड्गजित बरालले इन्स्पेक्टरमा जागिर खाने प्रस्ताव गरे। तर सेनाका जमदार उनले स्वीकारेनन्।
'आर्मीमा ६-६ महिनामा बढुवा हुने भनिएकै थियो। जता राम्रो पाउँछ, त्यतै दौडिँदो रहेछ भन्छन् भनेर गइनँ,' उनले सुनाए। तर सेनाले कोरियामा भएको एसियन ट्र्याक एन्ड फिल्डमा तेस्रो हुँदा पनि बढुवा दिएन। त्यसैले २०३६ सालमा सेनाको जागिर छाडेर खेलकुद परिषदका अधिकृत भए।
५५ वर्षअघिदेखि दौडन थालेका जीतबहादुर अझै थाकेका भने छैनन्। अहिले पनि जिल्लाहरूमा पुगिरहन्छन्। गत वर्ष नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको 'ज्योति' लिएर उनी सातै प्रदेश पुगे। परिषदबाट अवकास पाइसकेका ७२ वर्षे उनी अहिले ट्र्याकका इन्चार्जको रुपमा काम गर्छन्।
नेपाली खेलकुदका ज्युँदा इतिहास उनलाई नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गरेकोमा खिन्न लाग्छ।
'धनीका छोराछोरी दौडिँदैनन्, गरिबका छोराछोरीलाई खानै पुग्दैन,' उनी भन्छन्, 'त्यसैले छात्रवृत्ति दिएर विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्नुपर्छ।'
'राम्रो खेलाडी उत्पादन गर्न सरकारलाई कयौं पटक सुझाव दिइसकेँ। एक कानले सुनेर अर्को कानले उडाइदिन्छन्। यहाँ त प्रतियोगिता गरेर पैसा खाने मात्र ध्यान छ। राम्रो कुरा कसैले सुन्दैनन्,' उनले दुःखेसो पोखे।
लोकतन्त्र आएसँगै खेलाडी अनुशासनबिहीन बन्दै गएको उनलाई लाग्छ।
'पञ्चायतकालमा खेलकुदमा भयंकर अनुशासन थियो। खेलाडीलाई प्रशिक्षकको मुखमा हेर्न गाह्रो हुन्थ्यो। सबै प्रशिक्षकको नियन्त्रणमा थियो। जब लोकतन्त्र आयो तब खेलकुदको अनुशासन हरायो,' अहिले खेलमा राजनीतिकरण भएको उनको बुझाइ छ।
'फलानालाई पठाएको छु, त्यसलाई जसरी पनि छनोट पारिदिनुपर्यो भनेर फोन आउँछ,' अहिले र पहिलेको माहोल तुलना गर्छन्, 'पहिला त मेरो मान्छे भनेर हुँदैन थियो। राजाले समेत आफ्नो मान्छे हाल भन्थेनन्।'
ओलम्पियनलाई उचित सम्मान दिन नसकेको उनले महशुस गरेका छन्।
'ओलम्पियन हुनु ठूलो उपलब्धि र गौरव भनेर खेलकुदकै मान्छेले बुझेका छैनन्। जनताको के कुरा गर्नु,' जीतबहादुरले खिन्नता प्रकट गरे।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यो पनि पढ्नुहोस्ः