ओलम्पिकमा नेपाली
'हिरोइन बन्नु र? बुवाले के भन्नुहोला!' दिदीले अनकनाउँदै सोधिछन्, 'कुन फिलिमको सुटिङ?'
नेपालगञ्ज सहरमा हिन्दी फिल्मको दबदबा नै अर्कै। नयाँ फिल्म आयो कि सहरभरी डंका पिटिन्थ्यो। त्यसले किशोर मन सबभन्दा चञ्चल बनाउने भइहाल्यो। पार्वती थापा र उनकी दिदीलाई आफ्नै दाइले 'सुटिङ' सिकाइदिन्छु भन्दा नरमाउने कुरै भएन।
'लाटी, हिरोइनवाला सुटिङ होइन, बन्दुक हान्ने क्या,' दाइले भने।
'हामीलाई सुटिङ खेल पनि हुन्छ भन्ने थाहा थिएन,' पार्वतीले सम्झिन्, 'नेपालगञ्जका धेरैलाई सुटिङ भनेको फिलिमकै होला भन्ने लाग्थ्यो।'
कुरा बुझेपछि माइली दिदीले भनिछन्, 'म त खेल्दिनँ, पार्वती खेल्छ, यसैलाई लैजाऊ।'
त्यसपछि सुरू भयो पार्वतीको सुटिङ यात्रा। यसले उनलाई पहिलो नेपाली महिला ओलम्पियनको इतिहास बनाउने ठाउँमा पुर्यायो।
उनी किशोरी हुँदाको कुरा- स्कुलका खेलकुदमा भाग लिनु ठूलो कुरा थिएन। छोरीहरू स्कुलबाहेक घरबाहिर गएको उनका बुवाले निको मान्दैनथे।
'दिदीबहिनी आठ जना थियौं। धेरै भएकाले पनि होला, बुबाले निकै कडाइ गर्नुहुन्थ्यो। त्यो जमानामा छोरीको जिम्मेवारी बोझ नै त थियो। छोरीलाई केही हुन्छ भन्ने डरले पनि होला, नेपालगञ्जबाहिर जान छुट थिएन,' उनले सुनाइन्।
सहरबाहिर जान बन्देज थियो। तर छोरीहरूले घरकै काममात्र गर्नुपर्छ भन्ने पनि थिएन। छोरीहरू स्कुल जान थालिसकेका थिए। खेलकुदमा भाग लिन्थे। स्कुले खेलमा पार्वती अग्रपंक्तिमा थिइन्। भलिबलदेखि दौड, लङजम्प, हाइजम्पमा भाग लिन्थिन्।
एकदिन उनी जिल्लास्तरीय भलिबलमा टिममा परिन्। थाहा पाएर खुसीले उफ्रिइन्। खुसी एकछिन पनि टिकेन- खेल्न सुर्खेत जानुपर्ने थियो।
दिदी र आमालाई आफू टिममा परेको सुनाइन्।
'जाऊ पो भन्नुभयो,' घरको चौखट नाघ्न पाएको त्यो दिन सम्झिँदै पार्वतीले भनिन्, 'बुबाको त अझै डर थियो। उहाँलाई खबरै नगरी जाने आँट गरेँ।'
सुर्खेत गएपछि घरमा ठूलै हंगामा हुन्छ भन्ने उनलाई लागेको रहेछ। तर बुवाले वास्तै गरेनन्। उनको आँट उनीमात्रै होइन उनका साथीका लागि पनि जितको कथा हो।
'म सुर्खेत गएपछि छोरीहरूलाई बाहिर पठाउँदा केही हुन्न भन्ने टोलवासीको दिमागमा घुस्न थाल्यो। सायद सोचाइमा परिवर्तन आउने यसरी नै होला,' पार्वती भन्छिन्।
अब भने उनलाई खेलका लागि बाहिर जान वा अरू निर्णय गर्न सहज हुन थाल्यो। दाइको आग्रह पनि सजिलै मानेकी थिइन्।
सुटिङ रेन्ज उनको घरनजिकै थियो। फलामको बक्समा 'टार्गेट' बनाइएको थियो। आफूले ताकेको गोली त्यही 'टार्गेट' मा हान्नुपर्थ्यो। पार्वतीले पहिलोपटक बन्दुक उठाइन्। मन धुकचुक भइरहेको थियो। हातको निसाना भने सही ठाउँमा लाग्यो।
'पहिले नै सिकेको जसरी गोली हान्यौ त,' उनका दाजु लक्ष्मणले हौस्याए। हौसला पाए पनि पार्वतीलाई सुटिङ खेल्न अल्छी लाग्यो।
'कस्तो अल्छी लाग्दो खेल, ढाड पनि दुख्ने रहेछ, अब त जान्नँ,' पार्वतीले घर आएर दिदीसँग भनिन्।
उनलाई सुटिङ मननपर्नुको कारण थियो- पाइन्ट।
सुटिङ खेल्दा पाइन्ट लगाउनै पर्थ्यो। त्यति बेला उनलाई लाज लाग्ने। केही दिन त घाँघरमै रेन्जतिर ओर्लिइन्। गोली हानिन्।
२०४२ सालको 'शुभजन्मोत्सव कप'मा भाग लिन पार्वती काठमाडौं आइन्। यति बेला मात्र उनले आफ्नै पाइन्ट बोकेकी थिइन्। धेरै मान्छेका अघि पाइन्ट लगाएर खेल्नुपर्दा धकले होला, जुत्ता लगाउनुपर्छ भन्ने होस भने आएनछ।
'खाली खुट्टा खेलेको रहेछु। पछि फोटो हेरेर पो थाहा पाएँ। कस्तो पत्तो नभएको?' सम्झिएर पार्वती हाँसिन्।
त्रिपुरेश्वरको खुला सुटिङ रेञ्जमा भएको प्रतियोगिताको १० मिटर एयर राइफल ७७ स्कोर गरेर उनी सातौं भइन्। त्यसपछि बल्ल उनलाई सुटिङमा मज्जा आउन थाल्यो। त्यही वर्ष वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने मौका पाइन्।
पाँच केजी तौलको ३०० सय एमएम राइफल उचालेर गोली हानेको उनलाई अझै याद छ। पहिलोपटक राष्ट्रिय प्रतियोगितामा भाग लिएकाले पदकको आशा थिएन रे। तर उनले पहिलो सहभागितामै उत्कृष्ट खेलिन्।
'एक जना दाइ आएर 'ल बधाइ छ' भन्नुभयो। मलाई विश्वास लागेन,' उनले सुनाइन्।
एकछिनमै उनका प्रशिक्षक सचिन मामा आएर भने- बेटा बधाइ छ, सोना है।
उनको मुटु बल्ल खुसीले उफ्रियो। त्यो उनको जीवनकै पहिलो स्वर्ण पदक थियो। त्यो दिन कहिल्यै बिर्सिन नसक्ने गरी मनमा बस्यो, जसरी सुटिङ खेल बसेको छ। उनले स्वर्ण जितेको खबर रेडियोमा समाचार बन्यो। सुनेर बुवा खुब खुसी भएछन्। बुवा खुसी भएको सुनेर उनी।
बुवाको खुसीले नै उनको भविष्यको यात्रा तय हुन्थ्यो। नभए उनको मनमा पहिलोपटक बन्दुक उठाउँदा भएको धुकचुक जस्तै केही रहन्थ्यो।
'त्यसपछि छोरीले पनि केही गर्न सक्छे, छोरीलाई पनि बाहिर पठाउनुपर्छ, राम्रो बाटोमा लागेको छ भने विश्वास गर्नुपर्छ भन्ने बुवालाई लागेछ,' पार्वतीले भनिन्, 'अनि उहाँले कहिल्यै रोक्नुभएन।'
राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि उनी सन् १९८६ मा दक्षिण कोरियाको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा परेकी थिइन्। त्रिपुरेश्वरको खुला रेञ्जमा प्रशिक्षण गरेकी उनी ६ महिनापछि कोरिया पुगिन्। त्यहाँ हलभित्र रेन्ज थियो। हलमा अझ 'एसी' थियो। अत्याधुनिक रेन्जमा पहिलोपटक प्रतिस्पर्धाका लागि ओर्लिँदा उनले सुटिङ पोशाक लगाएकी थिइनन्।
लामो बाउला भएको सर्ट, लुज कटराइजको पाइन्ट, पञ्जा पनि बाइक चलाउने जस्तो। पार्वतीलाई एसियाली खेलकुदमा आफूले लगाएको पोशाक सम्झिँदा अहिले पनि दिक्क लाग्ने रहेछ। सिनियर केटाहरूको नापको पोसाक हुन्थ्यो। सर्टको बाउला दोबारेर खेल्नुपर्ने। अझ सबैले एउटै पोसाक पालैपालो लगाएर खेल्नुपर्ने बाध्यता।
'विदेशमा पहिलोपटक खेल्दै थिएँ। त्यसमाथि पोसाकको असजिलो। नर्भस भएछु,' पार्वती भन्छिन्, 'एकपटक त गोली नै नहानी बन्दुक पड्काएछु।'
विस्तारै सम्हालिएर टार्गेटमा गोली हानेको उनले बिर्सिएकी छैनन्। एसियाली खेलकुदमा खेलकुद परिषदका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह पनि गएका थिए। उनी एक–एक खेलाडीलाई बोलाएर गाह्रोसाह्रो सोधिरहन्थे।
अर्की थिइन् दाङकी खेलाडी माया रोका। उनी पार्वतीजति लजालू थिइनन्।
'न राम्रो जुत्ता, न पोसाक। एसियाली खेलकुदमा नेपालको कत्रो बेइज्जत भयो,' मायाले शाहलाई सुनाइछन्। अनि बल्ल परिषदले सुटिङ खेलाडीलाई टोपीदेखि जुत्तासम्म किनिदिएछ।
'सुटिङ पोसाक लगाएपछि खेलमा निकै फरक पर्ने रहेछ। खेलमा केन्द्रित गराउन मद्दत हुँदो रहेछ। गोली हान्न पनि सजिलो हुने,' पार्वतीले सुनाइन्।
पोसाकसँगै बन्दुकको पनि दु:ख थियो। खेलाडीको आफ्नै बन्दुक थिएन। उनीहरू परिषदको स्प्रिङवाला बन्दुक प्रयोग गर्थे। खोल्दा करर कराउँथ्यो। गोली हान्दा उल्टो झड्का हान्थ्यो।
कोरियामा उनलाई एक प्रशिक्षकले निकै ख्याल गरेर सिकाएका थिए। कोरियाबाट फर्केलगत्तै नेपाली टिम भारतको राष्ट्रिय प्रतियोगितामा भाग लिन गएको थियो। पार्वतीले उत्कृष्ट प्रदर्शन गर्दै त्यहाँको राष्ट्रिय रेकर्ड नै तोडिदिइन्।
तर भारतीय आयोजक पार्वतीको स्कोर मान्न तयार भएन। दुई दिनसम्म अंकै दिएनन्। त्यहाँ काम गर्ने गोरखा लाहुरेहरूले आग्रह गरेपछि उनलाई प्रमाणपत्र त दिइयो, तर अंक घटाएर।
भारतीयको व्यवहार देखेपछि नेपाली प्रशिक्षक खुब रिसाए। भारतका तिनै सुटिङ पदाधिकारीसँग पार्वतीको भेट सन् १९८७ मा चीनको बेइजिङमा भएको एसियन सुटिङ च्याम्पियनसिपमा भयो। त्यहाँ भारतको राष्ट्रिय रेकर्ड भएका खेलाडी पनि प्रतिस्पर्धी थिए।
भारतीयको व्यवहार उनको टिमले बिर्सेको थिएन। दस मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुअघि नेपालका सिनियर खेलाडी र प्रशिक्षकले पार्वतीलाई भने, 'भारतीयलाई जितिस् भने जे भन्छेस् त्यही दिन्छौं।'
रेन्जमा ओर्लिएर उनले आफ्नै गतिमा गोली हानिरहिन्। पार्वतीको खेल देखेर चिनियाँ पनि छक्क परे रे। पार्वती समग्रमा पाँचौं भएर फाइनल चरणका लागि छनोट भइन्। भारतीय पहिलो चरणबाटै आउट भए। तर फेरि पनि पार्वतीको अंक भारतीयले पत्याएनन्। चिनियाँले अंक बढाइदिएको आरोप लगाए।
'पहिलो चरणबाट बाहिरिस् भनेर मलाई ड्रेस फुकाल समेत भने,' पार्वतीले सुनाइन्, 'फाइनल स्कोर हेरेपछि उनीहरूको मुख बन्द भयो।'
चीनपछि नेपाली टिम सिधै दक्षिण कोरिया गयो। त्यहीँ उनले आफू ओलम्पिकमा छानिएको खबर सुनिन्।
'तिमीहरूको खेलाडी ओलम्पिकमा छानिइसक्यो। नाम दर्ता नगराएर यहाँ फोटो खिचेर बस्ने!' फोटोसेसन गरिरहेका उनीहरूलाई देखेर पहिल्यै सोलमा चिनेका प्रशिक्षकले भनेका थिए।
पार्वतीका अनुसार चीनमा भएको एसियन च्याम्पियनसिप ओलम्पिकको छनोट थियो। त्यहाँ पाँचौं भएकाले उनले ओलम्पिकमा स्थान पाएकी थिइन्। आफू छनोट पार गरेर ओलम्पिकमा पुगेको पार्वतीको दाबी छ।
कोरियन प्रशिक्षकले सुनाएको खबरपछि सुटिङका तत्कालीन टिम म्यानेजर गम्भीरमान प्रधानले पार्वतीको नाम ओलम्पिक कमिटीमा गएर दर्ता गराइदिए। त्यतिन्जेल कोही नेपाली महिलाले ओलम्पिकमा भाग लिएका थिएनन्।
नेपालले सन् १९६४ मा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएको थियो। पहिलोपटक ६ खेलाडीले भाग लिए। त्यसको ८ वर्षदेखि १० वर्षपछिका चार संस्करणमा २६ खेलाडीलाई नेपालले ओलम्पिकमा पठायो। यसरी ३२ नेपाली जाँदा एउटै महिला परेनन्।
सन् १९८८ (वि.सं २०४४) मा कोरियाको सोलमा भएको ओलम्पिकमा मात्रै नेपालले महिला खेलाडी पठायो। त्यसमा १९ वर्षीया पार्वती, एथ्लेटिक्सकी राजकुमारी पाण्डे र मेनुका राउत सहभागी थिए।
ओलम्पिक खेल्ने पक्का भएसँगै पार्वतीहरू स्वदेश फर्किए। प्रशिक्षक ध्रुवविक्रम शाहले पार्वतीको खेल निखार्न निकै मिहिनेत गरे।
सन् १९८८, सेप्टेम्बर १८। बन्दुक बोकेर सोलस्थित सुटिङ रेञ्जमा खडा हुँदै पार्वतीले नेपालका लागि इतिहास बनाइन्। उनी नेपालका तर्फबाट ओलम्पिक खेल्ने पहिलो महिला बनिन्।
दस मिटर एयर राइफलमा २९ देशका ४५ प्रतिस्पर्धी थिए। पर्वतीका लागि त्यो रेञ्ज नौलो थिएन। दुई वर्षअघि एसियाली खेलकुदमा त्यही रेञ्जमा खेलेकी थिइन्।
निर्धक्क गोली हानिन्। ३७५ स्कोर गरिन्। वरियता भने राम्रो हुन सकेन। उनी ४४ औं स्थानमा रहिन्।
सँगै गएका राजकुमारी पाण्डे र मेनका रावलले पार्वतीले खेलेको ५ दिनपछि म्याराथनमा भाग लिएका थिए।
सन् १९९९ मा नेपालमा आयोजित आठौं दक्षिण एसियाली खेलकुदमा पार्वतीले भाग लिइन्। उनले पहिलोपटक ५० मिटर एयर राइफल इभेन्ट्समा खेल्नु परेको थियो। तर प्रदर्शन बिर्सनलायक भयो। अनि उनले बन्दुक थन्क्याउने निर्णय गरिन्।
आफ्नो खेल जीवनमा ओलम्पिक तथा सुटिङका पाँच वटा विश्वकपमा भाग लिइन्। राष्ट्रियस्तरमा दर्जनभन्दा बढी स्वर्ण जितेर एकछत्र राज गरेकी थिइन्।
२०४६ सालदेखि खेलकुद परिषदको सहायक प्रशिक्षक भएर नेपालगञ्जमा प्रशिक्षण सम्हालेकी उनी अहिले बढुवा भएर प्रशिक्षक बनेकी छिन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यो पनि पढ्नुहोस्ः