चितवनको सिमलताल दुर्घटना सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ।
प्रतिवेदनमा गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको छ।
असार २८ गते काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३–०००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस भेलबाढीले त्रिशूली नदीमा खसाली बेपत्ता बनाएको थियो।
त्यस्तै वीरगञ्जबाट काठमाडौं आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्सको बस पनि त्रिशूलीमा बेपत्ता भएको थियो।
गणपति डिलक्समा ३६ जना यात्रु र एन्जल डिलक्समा २६ यात्रु सवार रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसमध्ये नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हाम फालेर बाँचका थिए। बाँकी ५९ यात्रु बेपत्ता भएकामा २४ जनाको शव फेला परेको छ।
त्यसमध्ये १९ जनाको मात्रै सनाखत भएको छ।
बाँकीको खोजबिन जारी नै रहेको कार्यदलका संयोजक छवि रिजालले जानकारी दिए।
रिजालको नेतृत्वको कार्यदलले दुर्घटनाबाट बाँचेका यात्रु र त्यस समयमा सिमलताल नजिकै रहेका अन्य बसका चालकसँग पनि कुरा गरेको प्रतिवेदनमा उल्लेख छ।
कार्यदलले सिन्धुलीबाट बर्दिबास हुँदै पोखरा जाँदै गरेका ग २ ख. १८२२ नम्बर बसका चालक जीवन सुनारसँग टेलिफोनमा कुराकानी गरेको प्रतिवेदनमा उल्लेख छ।
चालक सुनारले पनि भेलबाढीले बस बगाएको देखेको बताएका छन्।
‘म सिन्धुलीबाट बर्दीबास हुँदै पोखरासम्मको लागि ग २ ख. १८२२ नम्बरको यात्रुबाहक बस लिएर आँउदै थिएँ। राति २ बजेतिर नारायणघाट आइपुगेँ। त्यो समयमा भारी वर्षा भैरहेको थियो। तैपनि सरासर अगाडि बढ्दै नारायणघाट मुग्लिन सडकको सिमलताल भन्ने ठाँउमा पुगेँ। त्यहाँ पुग्दा माथिबाट गैग्रान सहितको लेदो झरिरहेको थियो। सडकमा पनि लेदो जम्मा भइसकेको थियो,’ उनले भनेका छन्।
सोही समयमा दुइवटा बस (दुर्घटनामा परेका एन्जल र गणपति डिलक्सका बसहरू) क्रस हुन खोज्दै रहेको उनले बताएका छन्। सोही समयमा आफूले बस ब्याक गरेको र गाडीमा ओट राख्न लगाएको बताएका छन्।
‘बस रोकेर बसेँ। गेग्रान र लेदो झन् थपिँदै गएको थियो। म झस्केँ। बसहरू क्रस हुने कोसिस गर्दै थिए। सडकको लेदोले गर्दा बसलाई डिस्टर्भ भएको थियो। दुई वटा बसहरू बीचको ग्याप निकै कम थियो। बसहरू एकआपसमा टासिँदै गएको जस्तो देखिन्थ्यो। त्यत्तिकैमा मुग्लिनबाट नारायणघाटतर्फ जाँदै गरेको बस खस्यो। खस्दा पहिला बसको अगाडिको भाग (शो) खस्यो त्यसको लगत्तै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बस पनि खस्यो। खस्दा त्यो बसको पहिला व्याक साइड खस्यो। खस्नासाथ पोखरीमा ढुंगा फ्याँक्दा आउने जस्तो आवाज आयो तर नदीमा केही देखिएन। मैले तुरुन्तै गाडीको स्टार्ट बन्द गरी तल झरें र एकजना यात्रुलाई तानेर सडकमा ल्याएँ। लगत्तै १०० नम्बरमा फोन गरी खबर गरेँ।’
त्यतिबेला डोजरले सडक सफा गर्दा सडकको माथितिर थुप्रिएको लेदो सबै सफा नभएको आफूले देखेको बयान पनि दिएका छन्। ठूलो पानी परेपछि त्यो लेदो समेत सडकमा थपियो र सडक अवरोध भएको पनि उनले खुलाएका छन्।
कार्यदलले आँबुखैरेनी गाँउपालिका वडा नं ५ का गाउँका बासिन्दा जंगबहादुर मगरसँग पनि कुरा गरेको छ।
उनले त्यसदिन बिहानपख डोजर खोलामा बसेको जस्तो लागेको बताएका छन्।
‘त्यो राति निकै ठूलो वर्षा भएको थियो। गाँउको दुईतिर ठूला खोल्सा छन्। पानीले डर पनि लाग्यो। तल त्रिशूली नदी छ। नदीको पारीपट्टी सिमलताल भन्ने ठाँउमा सडक माथिको सिन्दुरे खोल्सीबाट गेग्रान आइरहने हुँदा अघिल्लो दिनदेखि नै डोजरले काम गरिरहेको थियो। ठूलो पानी परेकाले डर लागेर राम्ररी सुत्न सकिएको थिएन। निद्रा पनि लागेन। बिजुली पनि थिएन। परिवारका सदस्यहरू उठेर गफ गर्दै बसेका थियौँ। राति करिब साढे दुई वा तीन बजिसकेको हुँदो हो। त्यस ठाउँमा बत्ती बल्दै कुनै वस्तु तल नदीमा खस्यो। छप्ल्यांग आवाज आयो। हामीले ठान्यौं– राति डोजर त्यहीँ रहेछ पहिरोले तल खसाल्यो। पछि पो थाहा भयो यति ठूलो दुर्घटना घटेको रहेछ!,’ उनले बयानमा भनेका छन्।
कार्यदलले चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका दुर्घटनाका घाइते नन्दन दाससँग पनि कुरा गरेको छ।
उनले टिभी हेरिरहेको अवस्थामा दुर्घटनामा परेको बयान दिएका छन्।
‘मेरो घर रौतहट जिल्ला देवाही गोनाही नरपालिका वडा नम्बर १ हो। दुर्घटना हुनुभन्दा लगभग एक घन्टाजति अगाडि खाना खानका लागि बस रोकिएको थियो। रोकिएको स्थान मलाई याद छैन। खाना पश्चात् टिभी हेर्दै बसेको थिएँ। रातको समय भएकोले बेलाबेला निद्रा पनि लाग्थ्यो। ब्युझिँदा टिभीमा ध्यान जान्थ्यो। त्यो बेला आकाशबाट ठूलो पानी परिरहेको थियो। सिमलतालको बाटोमा गाडी मजाले हिँडिरहेको थियो। माथिबाट एक्कासि पहाड खस्यो कि के भयो एक्सिडेण्ट त भएन! मेरो गाडी हिड्ने बेलामा एकैचोटी पल्टी खायो। अनि गाडी पानीमुनिगयो।’
उनले आफू पाँच–सात मिनेट पानीमा डुबेको बताएका छन्।
‘त्यसपछि पानीले उचालेको थियो। मलाई राम्रोसँग पौडी खेल्न नआए तापनि अलिअलि आउँथ्यो। जसोतसो पौडिएर किनारमा पुगेँ। अनि भिरबाट घिस्रँदैघिस्रँदै माथि सडकमा पुगेपछि सुरक्षाकर्मीले उपचारका लागि अस्पताल ल्याउनुभयो,’ उनले भनेका छन्।
उपचार पश्चात घर फर्केका रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा नम्बर ३ का सरोज साह बानियासँग पनि कार्यदलले कुरा गरेको खुलाएको छ।
उनी गणपति डिलक्स बसबाट गौर जाँदै थिए। उनीसँगै आमा बुबा, दोस्रोमा म अनि दिदी र तेस्रो सिटमा भिनाजु बसेको उनले बयान दिएका छन्।
‘काठमाडौंको बाबा पेट्रोल पम्पबाट बेलुका ८ बजेको समयमा म र मेरो आमा, बुबा, दिदी र भिजानु सो बसमा चढेका हौं। पानी पर्ला जस्तो मौसम थियो। त्यस राति अन्दाजी १०/११ बजेको समयमा गल्छीमा आइ हामीले खाना खाएका थियौं। खाना खाएपछि बस गुडेको करिब एक दुई घण्टापछि मुग्लिन कट्यो। त्यसपछि पानी पर्न थालेको थियो। त्यसपछि बस रोकी बसको सिसाहरू बन्द गरी बसको बत्ती समेत निभाएको थियो। बस हिँडेको केही समयपछि बस खसेको स्थानमा पुगेपछि ढुंगाबाट ठोकिएको जस्तो आवाज आयो,’ उनले बयानमा भनेका छन्, ‘आवाज आएको केही समयमा नै हामी बसेको बस त्रिशूली नदीमा खस्यो।’
बसको सिसा फुटेको देखेर आफू त्यही सिसा फुटेको ठाउँबाट बाहिर निस्किएको बताएका छन्।
आफू सकुशल निस्किएपछि आमा बुबालाई खोज्दा उनीहरू तथा दिदी भिनाजु तथा बस समेत नभेटेको बताएका छन्।
‘त्यसपछि म जसोतसो पौडी खेल्दै पानीबाट बाहिर निस्केको हुँ। बस के कसरी त्रिशूली नदीमा खसेको हो, मलाई केही पनि थाहा भएन। हामी बसेको बस कुनै पनि बसबाट ठोकेको जस्तो थिएन। मेरो स्वास्थ्य अवस्था ठिक छ,’ उनले भनेका छन्।
दुर्घटनामा परेका गणपति डिलक्सकै यात्रु जुगेश्वर राय पनि कार्यदलले टेलिफोनमा कुरा गरेको छ।
‘छोरा–छोरी सहित ५ जना बसभित्र थियौं। अगाडि विपरित दिशाबाट बस आएको देखेको हुँ। सो बस र म बसेको बसको बीचमा १०–१५ फिटको दुरी थियो। अर्को बसमा ठोकिएको थिएन। म, मेरो छोराछोरीसहित ५ जनाको परिवार बसमा चडेका थियौँ। म खाना खाएको ठाउँबाट करिब १५–२० मिनटको दुरीमा जाम लागेको थियो। करिव १५–२० मिनेटपछि जाम खुल्यो। ठुलो पानी परिरहेको थियो। बस पल्टेको ठाउँमा पुगेपछि विपरित दिशातर्फ विरगञ्जबाट आउँदै गरेको बस र हामी बसेको बस आमने सामने थियो। एक्कासी हामी बसेको बस हल्लिन थाल्यो। हामी बसेको बसको ड्राईभरले अगाडि बढाउन खोज्दा बस एक्कासी त्रिशूली नदीमा खसेको थियो।’
उनले बसको चालकले ब्रेक लगाएको भए यात्रुहरू बच्न सक्ने बताएका छन्।
‘हामी बसेको बस ड्राइभरले अगाडिबाट आएको अर्को बसलाई कटाइ अगाडि बढाउने क्रममा उक्त बस नदीमा खसेको हो। त्यसपछि हामी बसेको बस माथिबाट तल पल्टिँदै नदीमा खस्ने क्रममा म आफ्नो छोरा छोरीलाई समाउँदा कोही भेटिनँ,’ उनले भनेका छन्।
सम्बन्धित समाचार: बेहिसाब खनिएका सडकबाट बगेको लेदोले देशैभरि ल्याएको विपत्ति
सिमलताल घटनामा सडक डिभिजन भरतपुरले औंल्याएका तीन कारण
कृपया रोकी हेरी जानुस्, सरकार निदाइरहेको छ!
पहिले फाट्टफुट्ट आउने भेलबाढी अहिले किन बन्दैछन् यति व्यापक?
सामान्य भेल बग्ने ठाउँमा एक्कासि कसरी आयो बस बगाउने भेलबाढी?
ढुंगा लागेर मृत्यु भएका बस चालक मेगराज विकलाई मरणोप्रान्त सम्मान दिन कार्यदलको सुझाव