काठमाडौंलाई पर्यटकीय नगरी पोखरासँग जोड्ने मुग्लिन–पोखरा सडक आयोजनाको काम सकिनै लागेको छ।
दुई लेनको सडकलाई चार लेनमा विस्तार गरेर आयोजनाको काम सकिन लागेसँगै यात्रा छोटिएको मात्र छैन, सहज र सुरक्षित पनि बनेको छ।
सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार मुग्लिनदेखि तनहुँको जामुनेसम्म अब ३ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।
पूर्वी खण्डमा अहिले बिमलनगर, दमौलीमा काम भइरहेको छ। यी दुई ठाउँमा कालोपत्र सकिएसँगै दमौलीको मादी पुलबाहेक कालोपत्रको काम सकिने पाण्डेले बताए।
‘विमलनगरमा मर्स्याङ्दी नदी किनारबाट पर्खाल उठाएर सडक फराकिलो बनाउने काम भइरहेको छ। दमौलीमा पनि कालोपत्र भइराखेको छ। यी दुई ठाउँको काम सकिएपछि मादी पुलबाहेक पूर्वी खण्डमा कालोपत्रको काम सकिन्छ,’ उनले भने।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वीखण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो।
सडक आयोजनाले दमौलीको मादी पुल र पोखराको सेती पुललाई भने छुट्टै ठेक्का लगाएर काम गरिरहेको छ।
पूर्वी खण्डको ४१.४५ किमीअन्तर्गत ३८ किलोमिटर सडक दुईतर्फी कालोपत्र भइसकेको छ। जसमा ३५ किलोमिटर सडकमा कालोपत्रमाथि अस्फाल्ट कालोपत्र पनि सकिएको इञ्जिनियर पाण्डेले बताए।
दुई पटक म्याद थप गरिएअनुसार उक्त खण्डको म्याद आउँदो असार २९ गते सकिँदैछ। म्यादभित्रै कालोपत्रका सबै काम सकिने पाण्डेले बताए।
‘असार मसान्तसम्म मुग्लिनदेखि जामुनेसम्म अस्फाल्ट कालोपत्र सकिन्छ। बर्खामा काम गर्न नमिल्ने भएकाले दमौलीको मादी पुलको काम भने आगामी वर्षसम्म धकेलिने अवस्था छ,’ उनले भने।
सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरा सम्मको सडक पनि जेठ पहिलो सातासम्म एकतर्फी कालोपत्र सकिने उनले बताए।
पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पश्चिम खण्ड ३८.८ किलोमिटर सडकमा हालसम्म दुईतर्फी कालोपात्र १८.५ किलोमिटर सकिएको छ भने एकतर्फी ३५ किलोमिटर कालोपत्र सकिएको छ।
वर्षात सुरू हुनुअघि नै एकतर्फी कालोपत्र सकेर यात्रुलाई हिलो र धुलोबाट मुक्त बनाउन लागेको कुँवरले बताए। उनका अनुसार अब एकतर्फी कालोपत्र गर्न ३ किलोमिटर मात्र बाँकी छ।
‘यो वर्षातदेखि यात्रुले हिलो र धुलो खेप्नुपर्दैन, एकतर्फी भए पनि कालोपत्र सकिन्छ। आउँदो पुस दोस्रो सातासम्म पश्चिम खण्डको म्याद छ, त्यतिबेलासम्म दुइतर्फी कालोपत्र गरेर अस्फाल्ट गर्छौ। पुलहरूका काम पनि समयमै सक्छौं,’ उनले भने।
सडक आयोजनाको पूर्वी खण्डमा अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको छ।
पश्चिम खण्डमा पोखराको सेती पुल, विजयपुर पुल र तनहुँको सेरा पुलको काम सकिन बाँकी छ। जसमा सेती पुलको ठेक्का छुट्टै लगाइएको थियो। सेती पुलको काम ४३ प्रतिशत र विजयपुर पुलको काम ५० प्रतिशत सकिएको छ। बर्खापछि पुलको काम सकिने गरी अघि बढेको उनले बताए।
पश्चिम खण्डमा पर्ने तनहुँको मौरीभीरमा पहिरोको समस्या देखिएकाले पर्खाल उठाएर रोकथामका उपाय खोजिएको कुँवरले बताए।
‘काठमाडौंको ग्वार्को ओभरपासमा जस्तै मौरीभीरमा पर्खाल उठाउन डिजाइन भइराखेको छ, बाँकी ठाउँमा तीव्र गतिमै सडक विस्तारको काम भइराखेको छ,’ उनले भने।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा सडक कालोपत्र गरिए पनि अस्फाल्ट बिच्छ्याउन बाँकी छ। कालोपत्रको काम सकिएसँगै अस्फाल्ट बिच्छ्याइने आयोजना प्रमुख कुँवरले बताए।
सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा १.८ किलोमिटर र पश्चिम खण्डमा २० किलोमिटर सडक ६ लेनको बन्नेछ। सहरी क्षेत्रमा सडक अझ फराकिलो बनाउन ६ लेन बनाउन लागिएको हो।
पूर्वी खण्डका इञ्जिनियर पाण्डेका अनुसार तनहुँको दमौली र डुम्रे बजारमा सडक ६ लेनको बन्नेछ भने पश्चिम खण्डमा पोखरा, तनहुँको आँबुखैरेनीलगायत सहरी क्षेत्रमा ६ लेनको सडक बन्दैछ।
लेन छुट्याउन बीचमा राखिएको डिभाइडरमा पनि ठेकेदार कम्पनीले नै फुल रोप्ने र हरियाली प्रवर्द्धन गर्ने योजना रहेको पश्चिम खण्डका आयोजना प्रमुख कुँवरले बताए।
पृथ्वी राजमार्ग २०२१ सालमा निर्माण थालेर २०३० सालमा सकिएको थियो। त्यतिबेला चिनियाँ सहयोगमा निर्माण भएको सडक दुई लेनको थियो। अहिले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो।
पहिलेभन्दा दोब्बर फराकिलो पारिएको सडकको बीचमा डिभाइडर राख्ने र डिभाइडरमा फूल एवं हरियाली प्रवर्द्धनमा पनि ठेक्का सम्झौतामा उल्लेख छ।
विश्वमै महँगो र टिकाउ प्रविधि मानिएको अस्फाल्ट प्रविधिमा सडक विस्तार गरिएको आयोजनाका पश्चिम खण्ड प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार डुम्रे, दमौली, पोखरालगायत सहरी क्षेत्रमा भने सडक ६ लेनको हुनेछ।
सडकको पूर्वीखण्ड जामुनेदेखि मुग्लिनसम्मको ४१ किलोमिटर सडक विस्तार गर्न चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँमा (मादी पुलबाहेक) ठेक्का पाएको थियो।
सडकको पूर्वी खण्डमा पर्ने मादी पुल बनाउनका लागि १ अर्ब २० करोडमा छुट्टै ठेक्का लगाइएको छ। मादी नदीमाथि निर्माणाधीन पुलको आधाभन्दा बढी काम सकिएको आयोजनाले जनाएको छ। उक्त खण्डमा रहेका १७ वटा पुल निर्माण सकिएको इञ्जिनियर पाण्डेले बताए।
जामुनेदेखि मुग्लिनसम्म पूर्वी खण्डको कालोपत्र गर्ने ठेक्का पाएको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले २०७७ माघ १७ गते सम्झौता गरेर २०७८ वैशाख २ गतेदेखि काम थालेका थिए। यो खण्डको ठेक्का सम्झौता २०८१ वैशाखमा सकिएको थियो। त्यसपछि सरकारले सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई तीन पटक गरी आउँदो असार मसान्तसम्म म्याद थपेको थियो।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड जामुने–पोखरा सडकको ३८ किमी सडक विस्तार गर्न पनि चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाF (सेती पुलबाहेक) मा ठेक्का सम्झौता गरेको थियो।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २/२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ। पोखराको सेती नदी माथि पुल निर्माण कार्यले अहिले तीब्रता पाएको छ। आयोजनाका अनुसार पुलको काम अहिलेसम्म ५० प्रतिशत भन्दा बढी भइसकेको छ।
सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठूला र १२ वटा साना पुल पर्छन्। सेती, विजयपुर र तनहुँको सेरा पुल बाहेक बाँकी पुलहरू निर्माण सकिएका छन्। बाँकी पुलहरू पनि समय सीमाभित्र सकिने आयोजना प्रमुख कुँवरले बताए।
‘कुनै अवरोध आएन र अहिलेकै गतिमा काम भयो भने सडक कालोपत्र र पुल निर्माणको काम तोकिएकै समयमा सकिन्छ,’ आयोजना प्रमुख कुँवरले भने।
सडक आयोजनाको पश्चिमखण्ड अर्थात पोखरादेखि जामुनेसम्मको सडक विस्तार गर्न २०७८ जेठ ३ गते सम्झौता भएको थियो। सम्झौतामा २०८१ भदौ १२ गते सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो। तोकिएको समयमा काम नसकिएपछि सरकारले एक पटक १०१ दिन र दोस्रो पटक ३९० दिन म्याद थप गरेको थियो।
थपिएको म्यादअनुसार पश्चिम खण्डको आयोजनाको काम आउँदा पुस दोस्रो साता अर्थात ३१ डिसेम्बर २०२५ मा सकिनुपर्छ।
सडक निर्माणमा ढिलासुस्ती हुनुका कारण ठेक्का पाएको चिनियाँ कम्पनीले समयमा काम नथाल्नु भएको दुवै तर्फका आयोजना अधिकारीहरू बताउँछन्। ठेक्का सम्झौता भएपछि एक वर्षसम्म कम्पनीले काम नै सुरू नगरेकाले ढिलाइ भएको पश्चिम खण्डका प्रमुख कुँवरले बताए।
ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण सडक विभागले ठेक्का तोड्ने चरणमा पुगेपछि मात्र ठेकेदार कम्पनी काम गर्न तयार भएका थिए।
यसबाहेक सडकमा पर्ने बिजुलीका पोल हटाउन नेपाल विद्युत प्राधिकरणले गरेको ढिलासुस्ती, खानेपानी आयोजनाले पाइपलाइन विस्तारमा गरेको ढिलासुस्ती, स्थानीयको अवरोध र मुआब्जा विवादले सडक विस्तारका काममा ढिलाइ भएको आयोजनाका अधिकारीहरू बताउँछन्।
अहिले भने सडक विस्तारमा कुनै समस्या नभएको उनीहरूले बताएका छन्। ‘अहिले कुनै समस्या देखिएको छैन, छिटो काम सक्न सबैले सहयोग गरेका छन्,’ पश्चिम खण्डका आयोजना प्रमुख कुँवरले भने।
सडक निर्माण सकिन लागेसँगै मुग्लिन पोखरा सडक यात्रा सहज भएको छ। लामो समय सडक भत्काएर छाड्दा यात्रा गर्न असहज भएको थियो भने प्रभावित क्षेत्रका बासिन्दा र यात्रुले अत्याधिक हिलो र धुलो खेप्नु परेको थियो।
सडक विस्तार समयमै नसकिएकै भन्दै पर्यटन व्यवसाय खस्किएको भन्दै पोखराका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए।
तस्बिरहरू:
-1745914594.jpeg)
-1745914594.jpeg)
-1745914593.jpeg)
-1745914593.jpeg)
-1745914590.jpeg)
-1745914590.jpeg)
-1745914591.jpeg)
-1745914591.jpeg)
-1745914589.jpeg)
-1745914589.jpeg)
-1745914589.jpeg)
-1745914589.jpeg)