जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित हत्या गरिएकाहरूको सम्झनामा दाङको तुलसीपुरमा दीप प्रज्वलन गरिएको छ।
वैशाख १० गते पहलगाम भ्रमणमा गएका बखत बुटवलका न्यौपानेसहित २८ जनाको हत्या भएको थियो। आतंकवादी गतिविधि विरूद्ध खेत प्रकट गर्दै र शान्तिको कामना गर्दै तुलसीपुरको बिपी चोकमा मंगलबार बेलुकी दीप प्रज्वलन गरिएको हो।
दीप प्रज्वलन अगाडि सम्बोधन गर्दै लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै पनि आतंकवादका विरूद्धमा एक जुट हुन जरूरी रहेको बताए। घटनाको भत्सर्नाग र्दै उनले आतंकवाद निर्मूल गर्न जरूरी रहेको बताए।
नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता समेत रहेका चौधरीले आतंकवाद विरूद्ध लड्न भारतलाई शक्ति प्राप्त होस् भन्दै सम्पूर्ण नेपाली र लुम्बिनी प्रदेशवासी आतंकवादको विरूद्धमा उभिने बताएका थिए।
बेस संस्था, मटाँवा, बरघर, भलमन्सा संघ, नेपाल तरूण दल दाङको आयोजना र नेपाल प्रेस युनियन दाङको ऐक्यबद्धतामा दीप प्रज्वलन कार्यक्रम भएको हो। कार्यक्रममा नेपाल तरूण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल तरूण दलका जिल्ला पदाधिकारी, सर्वसाधारण लगायतको उपस्थिति थियो।








