जिल्ला अदालतले दाङको घोराहीका मार्सल रोकालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
उनलाई ७ वर्ष जेल र तीन लाख रुपैयाँ जरिवानाको सजाय अदालतले तोकेको हो।
आफूमाथि बलात्कार गरेको भन्दै रोकाविरूद्ध तुलसीपुरकी ३४ वर्षीया एक महिलाले २०८० जेठ १६ गते जाहेरी दिएकी थिइन्। त्यो जाहेरीका आधारमा घोराही उपमहानगरपालिका १६ का २८ वर्षीय रोका २०८० साल जेठ १७ गते घरबाटै पक्राउ परेका थिए।
रोकामाथि प्रहरीले अनुसन्धान गरी २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले वैशाख ११ गते कसुरदार ठहर गरेपछि सजायको फैसला सुनाएको हो।
रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र एक हजार तीन सय पीडित राहत कोषमा जम्मा गर्न फैसला भएको सूचना अधिकारी वलीले बताए।