ग्लोबल नेपाली
भोजपुरका हरिप्रसाद भट्टराई दक्षिण कोरियाको जेबी बैंक भनेर चिनिने जङ्बुक बैंकमा काम गर्छन्। उनी २०१८ जनवरीदेखि नै उक्त बैंकमा कार्यरत छन्।
हरि गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष पनि हुन्।
नेपालमा छँदा उनी एउटा ट्राभल कम्पनीमा काम गर्थे। त्यही कम्पनीमार्फत एउटा सेमिनारमा भाग लिने अवसर पाएर सन् २०१२ मा दक्षिण कोरिया गएका थिए।
तीन महिनाको भिजिट भिसा थियो। दक्षिण कोरियाको विकास देख्दा उनलाई कानुनी रूपमा बस्ने उपाय भए त यतै बस्न पाए हुन्थ्यो जस्तो लाग्यो। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो भयो। भिसा परिवर्तन गर्न मिल्ने रहेछ। भिजिट भिसालाई विद्यार्थी भिसा बनाएर एउटा युनिभर्सिटीमा भाषा पढ्न थाले।
'नेपाल छँदा पनि कोरियामा काम पाइन्छ, कमाइ राम्रो हुन्छ भन्ने सुनेको थिएँ,' उनले भने, 'मेरा दाजुभाउजूले पनि कोरियाबाटै पिएचडी (विद्यावारिधि) गर्नुभएको थियो। उहाँहरूले पनि बस्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो।'
उनको पढाइ लगातार अघि बढ्यो। 'ग्लोबल लिडर' विषयमा पिएचडी पनि सुरू गरे। तेस्रो सेमेस्टरमा थिए, बैंकमा रोजगारीको अवसर खुलेको जानकारी पाए।
कामको विवरण हेर्दा आफ्ना लागि उपयुक्त पाए। बैंकिङ पढेको हुनुपर्ने सर्त थिएन। नेपाली भाषा जानेको र नेपालीहरूलाई बैंकिङ काम; बैंक खाता, ऋण, रेमिटेन्स, मोबाइल बैंकिङ लगायतमा सहजीकरणको काम गर्नुपर्ने भनिएको थियो।
उनले आवेदन गर्ने विचार गरे तर दोधार भयो, पिएचडी पूरा गर्ने कि जागिर गर्ने! अन्ततः बैंकमा पाएको रोजगारीको अवसर छाड्नु हुँदैन भन्ने निष्कर्षमा पुगेर आवेदन गरे।
प्रक्रिया पूरा भयो, उनी छनोट भए। उनले पढाइ र जागिर समानान्तर ढंगले अघि बढाउने प्रयास पनि गरे तर त्यसो हुन सकेन।
'ठ्याक्कै कक्षा हुने दिनमै काम गर्नुपर्ने भयो। मिलाउन सकिन्छ कि भनेर पनि प्रयास गरेँ तर भएन,' हरिले भने।
आखिर पढाइ छाडेर उनी कोरियाली बैंकको जागिरे भए। कोरियामा रहेका नेपालीहरूलाई बैंकिङ सेवामा सहयोग गर्नु उनको मुख्य काम भयो।
हरिका अनुसार उक्त बैंकमा ऋण र अन्य विभिन्न शाखामा १० जना नेपाली काम गर्छन्। परामर्शदाता लगायतका काममा त अझ धेरै नेपाली आबद्ध छन्।
'मैले काम सुरू गर्दा यो बैंकमा विदेशी कर्मचारीमा क्याम्बोडियाका एक जना मात्रै थिए। दोस्रो म नै हो। अहिले मैले काम गर्ने शाखामै चार जना नेपाली छौं,' उनले भने।

उनको मुख्य काम ऋणसम्बन्धी छ। आफूले काम सुरू गरेयता हालसम्म कम्तीमा पाँच हजार नेपालीले उक्त बैंकबाट ऋण लिएको उनले बताए।
'नेपालमा ऋण लिन धेरै झन्झट छ। धितोबिना त ऋणको कुरै हुँदैन, बैंकले पत्याउँदैन,' उनले भने, 'दक्षिण कोरयामा अनलाइनकै भरमा, अझ फोनकै भरमा ऋण पास हुन्छ। यहाँ पनि धेरै नेपालीले ऋण लिन्छन्।'
ऋणको ब्याजदर भने निकै चर्को छ। आप्रवासीलाई ऋण दिँदा जोखिम उठाउनुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याज लिन्छन्। ब्याजदर सबैलाई एकै हुँदैन, न्यूनतम १० प्रतिशतदेखि अधिकतम १७.९० प्रतिशतसम्म हुन्छ। ऋण लिने व्यक्तिको क्रेडिट स्कोर (पेमेन्ट हिस्ट्री) राम्रो छ भने बैंकले सजिलै ऋण पत्याउँछ, ब्याजदर पनि कम हुन्छ।
ऋण पाउन व्यक्ति रोजगारीमा हुनुपर्छ। आम्दानी गरिरहेको र सरकारलाई कर तिरिरहेको हुनुपर्छ। दक्षिण कोरियामा कमाएको पैसा त्यहीँ खर्च गरोस् भन्ने सरकारको नीति हुन्छ। जति बढी कर तिरेको हुन्छ त्यति नै बलियो क्रेडिट स्कोर हुन्छ।
कोठाभाडा, फोनको र बिजुलीको बिल लगायत सबै किसिमको रकम ठीक समयमा तिरेको हुनुपर्छ। यस्तै आधारमा ऋणीका लागि ब्याजदर निर्धारण हुन्छ। यसमा श्रमिक कार्यरत कम्पनीको क्रेडिट स्कोरले पनि प्रभाव पार्छ। खराब क्रेडिट स्कोर भएको व्यक्तिले ऋण पाउँदैन।
हाल दक्षिण कोरियामा दुई बैंकले मात्रै आप्रवासी श्रमिकलाई ऋण दिन्छन्। तीमध्ये एउटा हरि कार्यरत बैंक हो। अर्को बैंक अझ नयाँ हो।
ऋण दिने वित्तीय संस्थाहरू धेरै छन् तर २० प्रतिशत ब्याज लिन्छन्। कतिपय वित्तीय संस्थाले त बैंकले ऋण नदिएका व्यक्तिलाई पनि दिन्छन्। नेपालीहरू यस्ता संस्थाबाट पनि ऋण लिन्छन्। कतिपय नेपाली त बैंकमा ब्याजदर सस्तो हुन्छ भन्ने थाहा नपाएर पनि अन्य वित्तीय संस्थामा पुग्छन्।
दक्षिण कोरियामा नेपालीहरूको कमाइ राम्रो भएको उनले बताए। न्यूनतम मासिक दुई लाख नेपाली रूपैयाँ कमाउँछन्। ओभरटाइम समेत खटेर अझ बढी कमाउनेहरू पनि भएको उनी बताउँछन्।
त्यसरी नेपालीहरूले कमाएको रकम अवैधानिक माध्यमबाट नेपाल आउने गरेको गुनासो छ। राज्यप्रतिको अविश्वासका कारणले कतिपयले वैधानिक माध्यम बेवस्ता गर्ने गरेको हरिको भनाइ छ।
'वैधानिक माध्यमबाट रेमिटेन्स पठाउँदा के सुविधा हुन्छ भन्ने प्रश्न पनि धेरै युवामा रहेको पाउँछु,' उनले भने, 'वैधानिक रूपमा पढाउँदा एक लाख रूपैयाँमा दुई हजार जति खर्च लाग्ने रहेछ। पुग्न पनि ढिलो हुँदो रहेछ। यस कारण कतिपयले हुन्डी प्रयोग गरेको पाइन्छ।'
वैधानिक कागजात नभएका नेपालीले पनि अवैध माध्यमबाट पैसा पठाउने गरेको उनले बताए।
'बैंकिङ प्रणालीबाट एकैचोटि धेरै पैसा पठाउँदा कहिलेकाहीँ राष्ट्र बैंकले कहाँबाट आयो, कसरी आयो भनेर रोकिदिन्छ। नियमन त हुनुपर्छ तर अत्यावश्यक पैसा लामो समय रोकिँदा समस्या हुन्छ,' उनले भने, 'वैधानिक प्रणालीबाट रेमिटेन्स भित्र्याउन सरकारले उपयुक्त नीतिमार्फत प्रोत्साहन गर्नुपर्छ।'
पछिल्लो समय केही नेपाली बैंकले पैसा पठाएको पाँच मिनेटमै खातामा जम्मा गर्ने व्यवस्था ल्याएकाले केही सहज भएको पनि उनले बताए। वैधानिक माध्यमबाट पैसा पठाउने क्रममा पनि कतिपय युवाहरू ठगीमा परेको उनको भनाइ छ।
'ठगी गर्नेहरूले रेमिटेन्स कम्पनीको नाम लिएर, तिनको लोगो प्रयोग गरेर फेसबुक खाता बनाउने रहेछन् र फोन गरेर तपाईंको आवेदन अपडेट गर्ने बेला भएको छ भन्दा रहेछन्,' हरिले भने, 'अनि ओटिपी नम्बर मागेर खाताको सबै पैसा चोरी गर्ने समस्या बढेको छ।'
विदेशमा रहेका युवाहरूमा वित्तीय साक्षरता फैलाउन जरुरी रहेको उनले बताए। यसका लागि नेपाली दूतावासले काम गर्नुपर्छ भन्ने उनको धारणा छ। यसमा आफै पनि सचेत रहन युवाहरूलाई उनको सुझाब छ।
'आवेदन र खाता अपडेट गर्नुपर्यो भन्ने फोन आयो भने आधिकारिक हो कि होइन, सम्बन्धित संस्थाको कलसेन्टरमा फोन गरेर जानकारी लिनुपर्छ,' उनले भने।
छोटो अवधिमा धेरै पैसा कमाइ हुने लोभ देखाएर हुने ठगीमा पनि केही युवा फसेको उनले बताए। त्यसरी लालचमा फस्नेहरूले बैंकबाट ऋण लिएर समेत कारोबार गरेको पाइएको छ।
'मेहनतबिना कसैले कसैलाई पैसा दिँदैन। सजग रहनुहोला, आधिकारिता बुझेर उपयुक्त ठाउँमा मात्र लगानी गर्नुहोला,' उनले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com