यो त्यति बेलाको कुरा हो, जब पृथ्वीमा घोर अन्धकार छाएको थियो। धर्ती पूरै पानीले भरिएको थियो।
त्यही पानीको फिँजबाट ठाकुर पिता र ठाकुर माताको सिर्जना भयो। उनीहरूले आफ्नो शक्तिको प्रतापबाट पृथ्वीको धुवाँ र अन्धकार हटाए अनि हावा निर्माण गरे।
त्यसपछि उमारे पानीमा बिरूवा; र त्यही पानीमा रमाउने एक जोडी हाँस।
सृष्टिको यो क्रम बढ्दै गयो। पानीको परिमाण घट्दै गयो। पृथ्वीको एकचौथाइ हिस्सा जमिनले ढाकियो। विभिन्न जीवजन्तु र वनस्पति विकास भए।
ठाकुरजीले पृथ्वीको नाम 'हिडिडी पिपिडी' राखे। उनले नै 'पिन्चुबूढा' भनिने आदिपुरूष र 'पिन्चुबूढी' भनिने आदिस्त्री सिर्जना गरे। उनीहरूको समागमबाट पाँच छोरा र पाँच छोरी जन्मे।
र, तिनै पाँच छोरा र पाँच छोरीबाट नयाँ मानव जातिको विस्तार भयो, जसलाई आज 'सन्थाल' भनिन्छ।
उनीहरूले आफ्नो विकासक्रममा अनेकौं हन्डर खाएका थिए। अनेकौं दु:खबाट गुज्रेका थिए। खुसीका थुप्रै पल पनि साटेका थिए। तिनै मानवीय भावहरू – हाँसो, आँसु, सौन्दर्य, वीरता, प्रेम, वियोग लगायतलाई उनीहरूले आफ्नै भाषाको गीत (सिरिय) मा सुरक्षित राखे।
गीत यस्तो छ —
हुडिञ हुडिञ रे बाबा पीडा कु लागाएन
लुटा टाका तेकु आखिरिञ
लुटा टाका तेकु आखिरिञ किदिञ
आय ह बाङ तिञ, बाबा ह बाङ तिञ
टाका रेकु जम
टाका रेकु जम किदिञ।
यसको भाव हो —
सानो सानैमा पाहुना लाग्यो बाबा
लुटा रूपैयाँमा बेचे
लुटा रूपैयाँमा बेचे मलाई
आमा पनि हुनुहुन्न, बाबा पनि हुनुहुन्न
रूपैयाँले खाए
रूपैयाँले खाए मलाई।

आफ्ना भावना मात्र होइन, सन्थाल जातिले जन्मदेखि मृत्युसम्मका हरेक कर्मलाई गीतमा लिपिबद्ध गरेका छन्। त्यही भएर आर्थिक र शैक्षिक रूपमा विपन्न भए पनि उनीहरू सांस्कृतिक रूपमा धनी छन्।
सन्थाल गीत–संगीतमा अनुसन्धान गरेका टंक उप्रेतीका अनुसार उनीहरू गीत–संगीतलाई ईश्वरको प्रसाद र परापुर्खाबाट सिकेको ज्ञान मान्छन्। र, यो ज्ञानमा उनीहरूको गहिरो विश्वास पनि छ।
नेपालको लोपोन्मुख समुदाय मानिने सन्थालहरू सयौं वर्षअघि भारतबाट आएको इतिहास छ। संसारभर ७७ लाखभन्दा बढी जनसंख्या भएको यो जातिलाई नेपालमा अल्पसंख्यक समुदायमा सूचीकृत गरिएको छ। पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने उनीहरूको जनसंख्या करिब ५० हजार छ। कसैले सन्ताल भन्छन्, कोही सन्थाल वा स्यान्ताल भनेर पनि चिन्छन्।
सन्थालमाथि अनुसन्धान गरेका सञ्चारकर्मी टंक पनि झापाकै हुन्। उनी २०४७ सालमा पढाइका लागि काठमाडौं आएका थिए। यहाँ आएर नेपाल टेलिभिजनमा जागिर खाए। अहिले पनि कार्यक्रम निर्माताका रूपमा कार्यरत छन्। उनी वृत्तचित्र शृंखला बनाउँछन्। सम्पदा र संस्कृतिमा उनलाई विशेष चासो छ। उनका वृत्तचित्र यिनै विषयमा केन्द्रित हुन्छन्।
एकदिन उनलाई आफ्नो गाउँ झापा वरपरका सन्थाल समुदायको गीत–संगीतमा अनुसन्धान गर्ने रूचि जाग्यो। यसबारे वृत्तचित्र बनाउनुभन्दा किताब लेख्न उनले उचित ठाने। त्यसअघि उनले कविताका किताबहरू 'अनुभूतिका अक्षरहरू', 'शब्दहरूको नेपथ्य', 'गजुर पग्लिएर' लगायत निकालिसकेका थिए।
'सन्थाली गीत' नामको किताबमा टंकले तीन दर्जनभन्दा बढी गीत संकलन र विश्लेषण गरेका छन्। ती गीतबाट सन्थालीहरूको जनजीवन र रीतिथिति थाहा पाउन सकिन्छ।
'सन्थालीहरू नआएसम्म गाउँमा दसैं आउँदैनथ्यो। गाउँमा उनीहरूको नाचगानको ठूलो मेला नै लाग्थ्यो,' बाल्यकालीन दिन सम्झिँदै टंकले भने, 'म झापामा हुर्किएकाले त्यो समुदायका केटाकेटीसँग खेल्न जान्थेँ। त्यसैले उनीहरूको भाषा केही बुझ्छु तर बोल्न आउँदैन। उनीहरूको लिपि पनि फरक छ। अनुसन्धान गर्दा त्यहीँका स्थानीयले मलाई लिपि बुझ्न सहायता गरेका थिए।'
टंकले अनुसन्धान क्रममा स्थानीय शिव मुर्मुलाई आफ्ना मुख्य सहयोगी छानेका थिए। सन्थालहरूको ओलचिकी लिपिबारे ज्ञान भएका शिवले वर्णमालाका किताब पनि लेखेका छन्।
सन्थाली गीत दर्जनौं किसिमका हुन्छन्। कुनै चाडपर्वमा गाइन्छ, कुनै संस्कारमा। कुनै बाह्रै मास गाइन्छ, कुनै खेतीपाती गर्दा। ती गीतमा प्रकृति, बिम्ब र कलात्मकता पाइन्छ। मानवीय भावनाहरू पनि प्रशस्त भेटिन्छन्।
'सन्थालीहरू जीवनको आनन्द (रस्का) मा रम्न चाहन्छन्। हरेक संस्कार र रीतिथितिमा खुला छन्। उनीहरू उदार छन्, अनुशासित छन् र लोभ राख्दैनन्,' सन्थालीहरूको स्वभाव वर्णन गर्दै टंकले भने, 'उनीहरूमा पर्यावरणको चेतना पनि उत्तिकै छ। वन–जंगल, बिरूवा र जडिबुटीको महत्त्व बुझेका छन्। त्यो उनीहरूको गीतमै झल्किन्छ।'
जस्तो, एउटा सन्थाली गीतमा धर्ती, मानव, जीव र वनस्पतिको अन्योन्याश्रित सम्बन्ध यसरी देखाइएको छ –
कुल्ही मुचाद, कुच दालाही
हाँसहाँसी चेणे दादा तुकाब आकाद
कुल्ही मुचाद, कुच दालाही
हाँसहाँसी चेणे दादा तुकाव आकाद
हुडु दादा गेद् रेद तुका दादा आलम बाडिजा।
यो गीतमा हाँसचराले गुँड बनाएको र त्यो गुँड संरक्षण गर्न अनुरोध गर्दै मानिसलाई भनिएको छ, 'धान काँट्नू दाजु, गुँड चाहिँ नबिगार्नू।'

सन्थालीहरू धेरैजसो कृषि मजदुर थिए। चिया बगान खुलेपछि धेरै जना बगानकै काममा संलग्न भए। कतिपय निर्माण कामदारका रूपमा कार्यरत छन्। यी भूमिका उनीहरूको गीतमा पनि झल्किन्छन्।
जस्तो, कान्छो भाइ चिया बगानबाट फर्किएपछि सोहराई पर्व मनाउन पाउँदाको खुसीमा दिदी गाउँछिन् –
होपन बबु चला उनार चला बगान
दिसोम सगार लता लुम्दा तमाक साडा रोहोडेन
सन्थाल समाजमा प्रेम र विरह भावका गीत पनि थुप्रै छन्। यो समाजका महिला आफ्नो प्रेमलाई विवाह नहुञ्जेल गोप्य राख्छन्। उनीहरू आफ्नो प्रेम कलंकित होला कि भनेर एकदमै डराउँछन्। त्यसैले जो प्रेममा छन्, उनीहरू आफ्नो प्रेमीलाई सुगाको प्रतीक बनाएर सम्झन्छन्।
जस्तो, एउटा गीतमा प्रेमीको प्रेमले जुनै ठाउँ गए पनि पछ्याइरहेको वर्णन यसरी गरिएको छ –
होरेज चालाक् मिस हँरिम पाञ्जाय
विरेज चालाक् मिस विरेज पाञ्जाय
जाँहाय दुडंप मिस, तांहांम रागा
नाला किदिज दोम नासुत मिस
आफ्नो प्रेम गोप्य राखे पनि सन्थाल समुदायमा महिलाहरूलाई स्वतन्त्रता छ। उनीहरू आफ्नो श्रीमान आफै छान्न पाउँछन्। श्रीमानको मृत्युपछि अर्को विवाह गर्न पनि स्वतन्त्र छन्।
'सन्थालीहरूसँग भावना, प्रकृति, संरक्षण लगायत हरेक विषयका गीत छन्,' अनुसन्धाता टंकले भने, 'आफ्नो ज्ञानमा सम्पन्न भए पनि आधुनिक समाजबाट त्यसलाई जोगाउने क्षमता उनीहरूसँग छैन। आफ्नो सभ्यता, परम्परा, भाषा, संस्कार र संगीतलाई उनीहरू एक्लैले जोगाउन सक्दैनन्।'
यही बुझेर टंकले २०७५ सालतिर सन्थालहरूको गीत संकलन गर्दै किताबमा लिपिबद्ध गर्न थालेका थिए।
त्यति बेला नेपाल टेलिभिजनको इटहरी कार्यालयमा एक वर्ष काम गर्दा उनले सन्थालीहरूका गतिविधि झनै नजिकबाट नियाल्ने मौका पाए। उनी सन्थालीहरूको मेलामा गएर नाच हेर्थे, गीत सुन्थे। उनीहरूसँग स्थलगत रूपमै घुलमिल भएर नै गीतहरू संकलन गर्न सजिलो भएको उनी बताउँछन्।
अध्ययन क्रममा केही चुनौती पनि आए। पहिलो चुनौती त सुनेका गीत देवनागरी लिपिमा लेख्नु थियो। गीतमा लय र मिटर मिलेको हुनुपर्छ। एउटा भाषाको गीतलाई अर्को भाषामा उतार्दा लय र मिटरको ढाँचा मिलाउन निकै गाह्रो भएको उनको अनुभव छ।
'कतिपय शब्द अनुवाद गर्नै कठिन थियो,' टंकले भने, 'उनीहरूको गीत शब्दमा उतार्दा सकेसम्म न्याय गरूँ भन्ने मेरो मनमा थियो। त्यो केही हदसम्म पूरा गरेँ भन्ने लाग्छ।'

टंक अहिले सन्थालीहरूको कथा र दसैंमा गाइने गीत संकलनको काम गर्दै छन्। झापाको गरामानी भन्ने ठाउँमा दसैं बेला ठूलो अन्तर्राष्ट्रिय मेला लाग्छ। त्यो मेलामा भारतको परगन्नादेखि पश्चिम बंगालसम्मका सन्थाल भेला हुन्छन् र सांस्कृतिक कार्यक्रम गर्छन्। त्यसबाट पनि सन्थालीहरूको गीत संकलनमा मद्दत पुग्ने उनको भनाइ छ।
टंकका अनुसार भारतमा बसोबास गर्ने सन्थाल समुदायमा आधुनिक गीतको प्रभाव परिसकेको छ। त्यहाँको फस्टाउँदो रेकर्डिङ उद्योगका कारण उनीहरू युट्युबमा समेत आफ्ना गीत हाल्न थालेका छन्। त्यहाँका केही सन्थाल गीत यता मोबाइलमा पनि बजाइन्छ।
'ठूलो माछाले सानोलाई निल्छ भन्छन् नि। त्यस्तै उताको गीतको प्रभाव अलि ज्यादा छ। तर मैले ती गीतबारे खासै गहिरो अध्ययन गरेको छैन,' उनले भने, 'नेपालका सन्थालको गीतमा भने जीवन्तता छ। गहिरो साहित्य छ। उनीहरूको नाचमा पनि बढी लचकता भेटिन्छ। गीतमा उनीहरू चराको आवाज र हावाको आवाजलाई समेत गाइरहेका हुन्छन्।'
जस्तो, एउटा गीतमा पानी पर्दाको आवाजलाई यसरी अभिव्यक्त गरिएको छ —
झिपिर झिपिर
ए पानी पर्यो
झिपिर झिपिर
ए पानी पर्यो
सिमसिम पानी बगियो
सन्थाली गीतको स्वरूपमा खासै परिवर्तन नदेखेका टंकले मेला जाँदा उनीहरूले लगाउने लुगामा भने परिवर्तन हुँदै गएको देखेका छन्।
'उनीहरूको लुगा विशेष प्रकारको हुन्थ्यो। लुगाबाटै सन्थाली हुन् भनेर खुट्याउन सकिन्थ्यो। अहिले त कति क्लब र पालिकाले दिएको रेडिमेड जर्सीमा पनि उनीहरू गाउँदै नाचिरहेका हुन्छन्,' उनले भने।
सन्थालीहरू नाचगान र संस्कृतिमा जति धनी छन्, भित्तेकलामा पनि उत्तिकै पोख्त छन्। प्रायः माटोका घरमा बस्ने उनीहरू आफ्नो भित्तामा इम्बोस्ड खालका चित्र बनाउँछन्। गीतमा जस्तै त्यसमा पनि सुगा, लहरा, वनस्पति, पशुपन्छी लगायतका प्राकृतिक बिम्ब देख्न सकिन्छ। पछिल्लो समय आधुनिक घरसँगै त्यस्ता बिम्ब घट्दै गएको टंक बताउँछन्।
'भुइँचालोपछि सरकारले नै आवास योजना भनेर नयाँ इँटाको घर बनाइदिएको छ। त्यसले सन्थाली समुदायमा बुट्टेदार घरहरू कमै देखिन्छन्,' उनले भने, 'एउटा भित्ता मात्र भए पनि माटोको बनाइदिएको भए उनीहरूको कला जोगिन्थ्यो भन्ने लाग्छ।'

सन्थालीहरूमा धर्म परिवर्तनको क्रम पनि बढ्दो रहेको र यसले उनीहरूको संस्कृतिमा असर पुर्याइरहेको टंकको अनुभव छ। आधुनिकीकरणले उनीहरूको भाषा, परम्परागत खुड्डा (ट्याटू) लगायत लोप हुनसक्ला भन्ने चिन्ता पनि उनलाई छ।
'एउटा भाषा मेटियो वा संस्कृति हरायो भने हजार वर्षमा पनि त्यो भाषा र संस्कृति पूर्ण रूपमा बन्दैन। एउटा सभ्यता नै जान्छ। धन्न सन्थालीहरू झुरूप्प भएर एकै ठाउँ बसोबास गर्ने भएकाले अहिलेसम्म धेरै संस्कृति र रीतिथिति जोगिएका छन्,' टंकले भने।
पछिल्लो समय सन्थाली समुदायमा पढेलेखेका मानिसको संख्या बढ्दो छ। उनीहरूमा सांस्कृतिक चेतना फैलिरहेको छ। केही सामाजिक संस्था खुलेका छन्; जो उनीहरूलाई भाषा, संस्कृति र गीतको तालिम दिने अभियानमा खटिएका छन्। उनीहरू आफ्नो ओलचिकी लिपिको अभिलेखीकरण गर्नुका साथै आफ्नै भाषामा पत्रिका र किताब पनि निकालिरहेका छन्।
यसैबीच टंकजस्ता व्यक्ति पनि छन्, जो सन्थालीहरूको समाज, संस्कृति र गीतबारे अध्ययन गरिरहेका छन्। यसले अल्पसंख्यक समुदायको संस्कृति लोप होला भनेर निराश भइहाल्नुपर्ने अवस्था छैन।
'आफ्नो समाजप्रति दायित्व महसुस हुन्छ भने हामीले समग्र समाज र सभ्यताको हितमा काम गर्नुपर्छ। मैले आफ्नो क्षमताले भ्याएसम्म गरेको छु र गरिरहने छु,' उनले भने, 'मैले उनीहरूको कथा अनुसन्धान गरिसकेँ। अब छिट्टै प्रकाशित गर्ने तयारीमा छु।'
***
