चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा ३० जना यात्रुको ज्यान जोगाएका चालक मेगराज विकलाई मरणोप्रान्त सम्मान गर्न सिमलताल दुर्घटना अध्ययन गर्न गठित कार्यदलले सुझाव दिएको छ।
गत असार २८ गते बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालक विक गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा त्यही दिन मृत्यु भएको थियो।
आफू गम्भीर घाइते हुँदाहुँदै पनि चालकले बस नियन्त्रण गरेकोले थप क्षति हुन नपाएको र ३० जना यात्रुको ज्यान जोगिएको थियो।
‘त्यही दिन सिमलतालमा दुई वटा बस भेलबाढीले बगाएको थियो। त्यो घटनामा मानवीय क्षति बढी भएकाले सबैको ध्यान गयो। त्यस्तै प्रकृतिको अर्को दुर्घटनामा मेगराज विकले ३० जनाको ज्यान जोगाए। अरू चालकको आत्मबल उँचो राख्न पनि मेगराजको सम्मान गर्नुपर्छ। हामीले प्रतिवेदनमा यही सुझाव दिएका छौं,’ कार्यदलका संयोजक छवि रिजालले भने।
कार्यदलले मंगलबार प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो।
त्यस्तै सिमलताल दुर्घटनामा बेपत्ता भएका तथा मृत पहिचान भएका परिवारलाई विपद्पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड, २०७७ को व्यवस्था बमोजिम मृतक परिवारलाई राहत उपलब्ध गराउन पनि सुझाव दिएको छ।
बेपत्ता यात्रुको हकमा समेत मृतक सरह निजका परिवारलाई राहत उपलब्ध गराउन सुझाव दिएको छ।
दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ। गत असार २८ गते काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेका दुईवटा बस सिमलतालमा बगेका थिए।
भेलबाढीमा परेर त्रिशूलीमा खसेका बस हालसम्म बेपत्ता छन्। बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले ज्यान जोगाएका थिए।
हराइरहेका ६२ यात्रुमध्ये २४ जनाको शव फेला परेको छ। त्यसमध्ये १९ जनाको सनाखत भएको छ।
यही घटना छानबिन गर्न गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकतत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो।
कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी छन्।
कार्यदलले मंगलबार प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र रोकथामका उपाय समेटिएको प्रस्तुतीकरणसमेत गरेको थियो।