चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए। बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो ।
प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेकी थिइन्। मूर्तीहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ।
भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मुर्तिहरु राख्ने कार्यक्रम रहेको छ।
हेर्नुहोस् तस्बिरहरू