कुनै बेला कास्कीको घान्द्रुकका प्रत्येक घरका कम्तीमा एक जना सदस्य लाहुरे हुन्थे।
बेलायती सेना, सिङ्गापुर पुलिस र भारतीय सेनामा भर्ती नभएका युवा गाउँका कुनै घरमा बाँकी थिएनन्।
कुनै घरका त सबै दाजुभाइ नै लाहुरे भएका थिए। यही लाहुरे संस्कृतिका कारण घान्द्रुकलाई ‘लाहुरे गाउँ’ भनेर लामो समय चिनियो।
घान्द्रुकका विक्रम गुरुङका बुबाका चार जना दाजुभाइ थिए। सबै लाहुरे। विक्रमले पनि लाहुरे बन्न चाहेका थिए।
ब्रिटिस आर्मीमा होस् या सिङ्गापुरे पुलिस। कहीँ पनि उनी छनौट भएनन्। भारतीय सेनामा भर्ती लिन आएको टोलीले पनि उनलाई छनौट गरेन।
त्यसो त विदेशी सेना र पुलिसमा भर्ती लिन ती देशहरूले पनि संख्या कटौती गर्दै थिए। अहिले पनि गरिरहेकै छ। नेपाली युवालाई आफ्नो देशको सेनामा भर्ती गराउन आउँदा बीसौं हजार युवा लाइन लाग्न पुग्छन्।
धेरै युवा लाहुरे बन्ने अन्तिम सपना साँचेर पहिल्यैदेखि लाहुरे तालिम केन्द्रमा भर्ना भएर कसरत गर्छन् त कोही गाउँघरमै लाहुरे बन्न बिहानै उठेर दौडिनेदेखि अरू कसरत गर्छन्।
योग्य हुँदाहुँदै पनि धेरै युवा लाहुरे बन्न सक्दैनन्। कारण उनीहरूले भर्ती लिने कोटा निकै थोरै हुन्छ, भर्ती हुन आउने युवाको संख्या हजारौं। लाहुरेमा छनौट नहुँदै उमेर ढल्किएपछि विक्रम २०४८ सालमा कोरिया हानिए।
गुरुङ गाउँमा अहिले पनि लाहुरे संस्कृति यथावत् छ। लाहुरे बनेर छुट्टीमा आएका युवालाई गाउँलेले दिने मान-सम्मान छुट्टै छ। गाउँमै बसेर काम गर्ने युवालाई भने लाहुरेलाई जस्तो मान-मनितो हुँदैन। गुरुङ गाउँमा उच्च शिक्षा हासिल गरेर शिक्षक भएका युवाभन्दा ८ कक्षा पास भएर लाहुरे भएकाहरूको भाउ ठूलो छ।
विदेशी सेना र प्रहरीमा भर्ती हुन नसके पनि विक्रमलाई गाउँमा लाहुरेको आकर्षणले लोभ्याएको थियो। कोरिया गएर उनी पनि ‘लाहुरे’ भए। कोरियामा ६ वर्ष बसेर फर्केपछि उनी तीन वर्ष नेपालमै बसे। बेलायती सेनामा भर्ती हुने र सपरिवार बेलायत जाने प्रचलन घान्द्रुकमा स्थापित भइसकेको थियो।
घान्द्रुकस्थित होटल वर्ल्ड भिलेज इनका सञ्चालकद्वय कृष्ण गुरूङ र उनका भाइ अमृत गुरूङ। तस्बिर : युवराज श्रेष्ठ/सेतोपाटी उनलाई पनि बेलायत जान मन लाग्यो। बेलायती सेनामा भर्ती हुन नपाएर के भो! उनी जुनसुकै उपायले पनि बेलायत जान चाहे। उनको इच्छा पूरा गरिदिए, नेपालस्थित दलालहरूले।
भारतको बाटो भएर विक्रम दलालको साथ मस्को पुगे। मस्कोबाट दक्षिण अमेरिकी मुलुक क्युवा पुगे। क्युवाबाट स्पेनको राजधानी मड्रिड ओर्लिए। स्पेनबाटै विक्रमलाई दलालले बेलायत छिराइदिए। यतिका लामो यात्रा उनले ११ दिनमा पूरा गरेका थिए। त्यतिबेला उनले ८ लाख रुपैयाँ दलाललाई बुझाएका थिए।
बेलायत जाने उनको धोको त पूरा भयो। के गर्ने, कहाँ जाने उनलाई पनि थाहा थिएन। बेलायतमा उनले आफूलाई शरणार्थी बताए। त्यही रूपमा काम गर्न थाले। सन् २००२ मा बेलायत प्रस्थान गरेका विक्रम सन् २०१० मा मात्र नेपाल फर्किए। बेलायतमा बस्दाको ८ वर्ष उनी सरसफाइ मजदुर भएर काम गरे।
‘जहिले पनि झाडु लगाउने काम कति गर्ने हो,’ उनले भने, ‘काम गर्दा गर्दै रन्किएर म नेपाल आएँ।’
बेलायत गएर छुट्टीमा आएकाहरूको ‘सान’ उनले बेलायतमा बस्दाको ८ वर्षमा बुझिहाले। लाहुरे भएर गएकाहरू होस् या उनीहरूको साथ लागेर गएका परिवार। सबै काममा जोतिनुपर्थ्यो। नेपालमा जस्तो चियागफमा घन्टौं बिताउने फुर्सद उनीहरूलाई मिल्थेन।
त्यसो त पेन्सन आइसकेको भूतपूर्व लाहुरे पनि उसैगरी काममा जोतिएको उनले देखे। वैंश रहिञ्जेल विदेशी सेनामा काम गरेका नेपालीहरू सेवानिवृत्त हुँदा पनि उसैगरी घन्टौं खटिन्थे। ‘गाउँमा आउँदा मात्र रैछ लाहुरेको मान,’ उनले भने।
यी सब देखेर नेपाल फर्किएपछि भने अब उनलाई विदेश जानु छैन। नेपाल फर्केर पोखरामा ‘गुरुङ प्रार्थना डेकोरेसन’ चलाएका विक्रम अहिले भने गाउँमै आनन्दले बाँचेका छन्। पोखराको व्यवसाय सोचेजस्तो अघि बढेन। गाउँमा भने पर्यटकले कोठा नपाएर बेहाल भएका समाचार उनले बारम्बार सुनेका थिए।
उनलाई पनि मन लाग्यो, अब गाउँमै होटल खोल्छु। पोखराबाट गाउँ गएर उनले परिवारसँग सल्लाह गरे। उनकी भाउजुले भनिदिइन्, ‘होटल माउन्टेन भ्यू खाली छ, त्यही चलाउनू।’
भाउजुको सुझाव विक्रमलाई गज्जब लाग्यो, उनले होटल माउन्टेन भ्यू चलाउन थाले।
उक्त होटल उनको परिवारको भने होइन। होटल धनीलाई विक्रमले अहिले वार्षिक सात लाख ५० हजार रुपैयाँ भाडा तिर्छन्। पैसा कमाउन विदेशतिर चक्कर लगाएका विक्रम अहिले गाउँमै रमाएका छन्।
‘गाउँमै रहेछ पैसा त,’ उनले भने, ‘व्यर्थै परदेशमा भौंतारिएछु।’
घान्द्रुक अन्नपूर्ण आधार शिविर पदमार्ग र घोरेपानी-पुनहिल पदमार्गको प्रवेशद्वार हो। अन्नपूर्ण संरक्षण क्षेत्र सुरूवात भएको ठाउँ घान्द्रुक संरक्षणका हिसाबले पनि उत्तिकै प्रसिद्ध छ। गाउँमाथि देखिने अन्नपूर्ण दक्षिण, हिमचुली, उत्तरपूर्वमा टल्किने माछापुच्छ्रे, गंगापूर्णलगायतका हिमालले गाउँलाई उज्यालो बनाएको छ।
घान्द्रुक गाउँ। तस्बिर : युवराज श्रेष्ठ/सेतोपाटीझुरूप्प बसेको गुरुङ गाउँ र उनीहरूको संस्कृतिले पर्यटकलाई झनै मोहित बनाउँछ। यही आकर्षण देखेर विदेशी मात्र होइन, नेपालीको भीड घान्द्रुकमा बढ्दो छ। घान्द्रुकमै होटल चलाएर विक्रमले अहिले अर्को होटल खोल्दैछन्। अर्काको होटल भाडामा लिएर चलाएकै नाफाले उनले अहिले तीन करोड लगानीमा २४ कोठाको होटल बनाउँदैछन्।
‘विदेशमा क्लिनर हेल्पर (सरसफाइ सहयोगी)का रूपमा काम गर्थें,’ उनले भने, ‘यहाँ त मलाई साहुजी भन्छन्, आनन्दको कमाइ छ।’
विदेशको दु:ख गाउँमै खन्याउने विक्रम मात्र होइनन्। अहिले देश-विदेशमा रहेका युवा आफ्नै थातथलो फर्कंदैछन्।
घान्द्रुककै होटल ‘वर्ल्ड भिलेज इन’का सञ्चालक कृष्ण गुरुङ २००६ मा दक्षिण कोरिया पुगेका थिए। उनी २०१७ मा गाउँ फर्किए। गाउँकै लघु जलविद्युत आयोजनामा व्यवस्थापकका रूपमा काम गरिरहेका भाइ अमृत गुरुङसँग मिलेर होटल खोले। कोरियाको कमाइभन्दा होटलबाट आउने मुनाफा बढी देखेर उनलाई पनि अचम्म लागेको छ।
‘विदेशमा कति दु:ख गरिन्थ्यो, गाउँमै विदेशमा भन्दा धेरै कमाइ भइराखेको छ,’ उनले भने, ‘विदेशमा धेरै दु:ख गरियो, त्यति नै दु:ख यहाँ गर्ने हो भने त झनै धेरै कमाइ हुन्छ।’
घान्द्रुकमा पर्यटनको भविष्य अझै उज्जवल भएको उनको ठम्याइ छ। कोरियामा फ्रिज बनाउने कम्पनीमा काम गरेका कृष्ण अहिले गाउँमा होटल मालिक बनेका छन्। अब काम गर्नकै लागि विदेश नजाने निष्कर्ष निकालेका छन्।
काम गर्न विदेश गएकाहरू मात्र होइन, लाहुरे भएकाहरू पनि पेन्सन जिन्दगी गाउँमै बिताउन थालेका छन्। घान्द्रुकका लाहुरेहरू बेलायती सेनामा भर्ती भएर धेरै जसो उतै बस्छन् त केही पोखरा र काठमाडौंमा बस्छन्। अहिले बेलायत जानेहरू पनि गाउँ फर्केर बस्न थालेको उनीहरू बताउँछन्। ‘लाहुरेले पनि गाउँको जग्गाको महत्व बुझेछन्, अहिले त सबै फर्कन पो थालेछन्,’ विक्रमले भने।
घान्द्रुकका सबै जनाले होटल खोलेका छैनन्। पर्यटन व्यवसायी समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङका अनुसार अहिले घान्द्रुकमा ६० वटा होटल छन्। करिब १० वटा होमस्टे छन्। अहिले पनि झन्डै १० वटा होटल बनाउने क्रममा रहेको अध्यक्ष गुरुङ बताउँछन्।
अहिले सञ्चालनमा रहेका होटलमा एक हजार दुई सय जना पर्यटक राख्न सकिने उनको भनाइ छ। होटल खोल्न नसक्ने गाउँलेले कोही कृषिमा लागेका छन् त कोही पशुपालन गर्छन्। स्थानीयले फलाएको सागसब्जी गाउँकै होटलले किनिदिएका छन्, दुध, घ्यू पनि होटलले किनिदिन्छन्। ‘घान्द्रुक आउने पर्यटकलाई सकेसम्म स्थानीय उत्पादन नै खुवाउँछौं,’ अध्यक्ष गुरुङले भने।
घान्द्रुकका प्राय: सबैजसो उत्पादन अर्ग्यानिक हुन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आफ्नो क्षेत्रभित्रका किसानलाई रासायनिक मल र विषादी प्रयोग गर्न दिँदैन। स्थानीय कम्पोष्ट मल र स्थानीयस्तरमा बनाउन सकिने विषादी प्रयोग गर्न गाउँका किसानलाई सिकाएको एक्यापको इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख शैलेन्द्र यादवले बताए।
गाउँ फर्केर कृषि कर्ममा लागेका युवालाई स्थानीय सरकारले पनि साथ दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घान्द्रुकका वडा अध्यक्ष कुमार गुरुङले व्यवसायिक पशुपालन र कृषिमा लागेका युवालाई गाउँपालिकाले सहयोग गरेको बताए। हाल झण्डै छ सय घरधुरी रहेको घान्द्रुकका सबैजसो युवा स्वरोजगार भएको वडाध्यक्ष गुरुङले बताए।
घान्द्रुकका युवालाई अन्यत्रजस्तो रोजगारीको दु:ख पनि छैन। गाउँ आउने पर्यटकको गाइडदेखि पोर्टरसम्मको काम उनीहरूले पाएका छन्। अन्नपूर्ण आधार शिविर र पुनहिल-घोरेपानी जाने पर्यटक स्थानीय युवालाई रोजगारी दिएका छन्।
घान्द्रुकमा २४ वर्षअघि होटल खोल्दा किसम गुरुङले पर्यटक आउने बाटो ढुकेर बस्नुपर्थ्यो। त्यो अवस्थाबाट गुज्रिएर कोरोना भाइरसको महामारी अउनुअघिसम्म पर्यटकलाई कहाँ राख्ने चिन्ताले नै उनलाई सताउन थालेको थियो।
‘हामीले होटल खोल्दा बजार खोज्नुपर्थ्यो, अहिले घान्द्रुक पर्यटनको हब भएको छ,’ उनले भने, ‘यहाँको पर्यटन बजार पनि अन्यत्रभन्दा स्थायी छ।’
घान्द्रुक कसरी भयो पर्यटनको हब?
घान्द्रुकस्थित होटल गुरूङ कटेज र त्यहाँबाट देखिएको अन्नपूर्ण दक्षिण र हिमचुली हिमाल। तस्वीर सौजन्य : युनिश गुरूङघान्द्रुकमा पहिलो पटक २०३८-०३९ तिर विदेशी पर्यटक देखिन थालेका थिए। विदेशी देखिन थालेपछि स्थानीय चकबहादुर गुरुङले गाउँमा होटल खोले।
उनीसँग चार जनाले चार वटै होटल त्यतिबेला सञ्चालनमा ल्याएका थिए। जब २०४१ सालतिर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना बनाउने कुरा हुन थाल्यो, त्यसपछि नै घान्द्रुकमा पर्यटन व्यवस्थापनका कुरा व्यवस्थित रूपमा अघि बढेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना बनाउन तत्कालीन संरक्षणविद् डा. हर्क गुरुङ, चन्द्रबहादुर गुरुङ, मिङ्माम शेर्पालगायत विदेशी संरक्षणविद्समेत घान्द्रुक जान थाले। उनीहरूले होटल चलाउन र पर्यटन व्यवस्थापन गर्न स्थानीयलाई सुझाए।
अन्नपूर्ण संरक्षण क्षेत्र बनाउने प्रस्ताव पारित भएपछि नमूनाका रूपमा तत्कालीन घान्द्रकु गाविसलाई मात्र संरक्षण क्षेत्र घोषणा गरिएको थियो। समुदायमा आधारित संरक्षणको कार्यक्रम सफल भएपछि नै पाँच जिल्लामा एक्याप फैलिएको हो। त्यतिबेलादेखि नै एक्यापले घान्द्रुकलाई पर्यटनकीय क्षेत्रका रूपमा प्रवर्द्धन गरेको गुरुङले बताए।
‘एक्यापले गर्दा नै घान्द्रुक पर्यटनको हब बनेको हो,’ पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष गुरुङले भने, ‘पर्यटक आउँदा होटललाई मात्र होइन, सबै गाउँलेलाई फाइदा पुगेको छ।’
कोरोना भाइरसको महामारीबाट नेपालको पर्यटन क्षेत्र ग्रसित छ। यसबाट घान्द्रुक अलग हुन सक्ने कुरा भएन। घान्द्रुकका स्थानीयले त लकडाउन खुलेर अन्यत्रका पदमार्ग खुलिसक्दा समेत पर्यटकलाई घान्द्रुक आउन निषेध गरेको थियो।
दसैंताका टीका लगाउन अन्यत्र पनि नजाने र आफ्नो गाउँमा पनि कोही नआओस् भनेको घान्द्रुकका स्थानीयले अहिले भने पूर्ण रूपमा पर्यटकका लागि खुला गरेको छ।
माघ १ गतेदेखि पर्यटकका लागि खुलेको घान्द्रुकमा अहिले पर्यटकका लागि आइसोलेसनको व्यवस्था पनि छ। स्थानीय पर्यटन व्यवसायीले गाउँकै एउटा घर मासिक ३० हजार भाडा तिर्ने गरी आइसोलेसन बनाएका छन्।
आइसोलेसनमा बिरामी हेर्न नर्स राखेका छन्। अहिलेसम्म पनि गाउँ आएका कोही पनि पर्यटक बिरामी नभएको गुरुङ कटेज होटलका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी समितिका अध्यक्ष किसम गुरुङले बताए।
पर्यटकका लागि घान्द्रुक खुलेपछि अहिले नेपाली पर्यटकको चाप बढ्दै गएको छ। विभिन्न कलेजका विद्यार्थीदेखि युवा पुस्ताको जमात घान्द्रुकमा देख्न सकिन्छ।
‘होटल खुलाउने निर्णय गरेपछि नेपालीहरू आउन थालेका छन्,’ गुरुङले भने, ‘यही गतिमा पर्यटक बढे भने घान्द्रुक त नेपाली पर्यटकले मात्र पनि भरिन्छ।’