कोरोना महामारीको ११ महिनामा धेरै नेपाली रोजगारविहीन भए। कतिपयका व्यापार व्यवसाय बन्द भए।
रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीलाई भने लकडाउनले तरकारीमा आत्मनिर्भर हुने सीप सिकाइदिएको छ। उनलाई कौसी खेतीमार्फत् कृषक बनाइदिएको छ।
गुल्मीको चोरकाटेबाट ५ वर्षअघि रुपन्देही झरेकी सावित्राका श्रीमान रोजगारीको लागि दुबईमा छन्। एक छोरा र एक छोरीको पालनपोषण र पठनपाठनको रेखदेखसँगै सावित्राले फेन्सी पसल चलाएकी थिइन्। संयोग नै मान्नुपर्ला नेपालमा कोरोना संक्रमण भित्रिनुपहिले नै उनले पसल बिक्री गरिसकेकी थिइन्।
पसल बिक्री गरेलगत्तै कोरोना नियन्त्रणका लागि भन्दै देशभर लकडाउन गरियो। साँझ-बिहान छोराछोरीको हेरचाह र दिउँसो पसलमा व्यस्त रहने सावित्रालाई दिनभरि घरमै बस्दा समय बिताउन गाह्रो भइरहेको थियो। लकडाउनले विद्यालय बन्द भएपछि छोराछोरीलाई विद्यालय पठाउन, ड्रेस धुन र गृहकार्य लेखाउन बित्ने समय पनि बचत हुन थाल्यो।
सुरूका केही दिन टेलिभिजन र मोबाइलमा बिताएकी सावित्राले लकडाउनको सदुपयोग गर्दै तरकारी खेती गर्ने योजना बनाउन थालिन्। रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमामा जग्गा किनेर तरकारी खेती गर्नु महंगो पर्थ्यो। श्रीमानले विदेशमा बगाएको पसिनाको कमाइबाट किनेको १० धुर घडेरीमा घर बनाएकी थिइन्। गाडी पार्किङ र दुई-चार वटा फलफूलका बिरूवा लगाउन सानो बगैंचा बनाएकी भए पनि तरकारी खेतीका लागि उनीसँग जग्गा थिएन।
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै सामाजिक सञ्जालबाटै उनले घरको छतमा गमला र प्लाष्टिकका थैलामा माटो र मल हालेर तरकारी लगाउन सकिने थाहा पाइन्।
टेलिभिजन हेर्ने र मोबाइल चलाएर दिन बिताउनुभन्दा तरकारी खेती गरेर आत्मनिर्भर बन्ने सावित्राको हुटहुटीलाई अहिले त्यही कौसी खेतीले मेटाइदिएको छ। साँझ-बिहानको घरधन्दा पछि उनी अचेल कौसी खेतीमा व्यस्त हुन्छिन्।
‘छोराछोरीको हेरचाह र साँझ-बिहान घरधन्दापछि तरकारी र फलफूलको गोडमेल, सिंचाइ र स्याहारमै दिन बित्ने गर्छ,’ सावित्राले भनिन्,‘कौसी खेती गरेपछि शारीरिक तथा मानसिक रूपमा पनि निरोगी भएजस्तो लाग्छ, तरकारी गोडमेल गर्ने, पानी राख्ने, मल र विषादी छर्ने गर्दा शारिरीक व्यायाम पनि हुने गर्छ।’
सावित्राले एकतले घरको छतमा साढे चार सय बढी प्लाष्टिकका थैला, माछाका क्यारेट र गमलामा विभिन्न मौसमी तरकारी र फूल लगाएकी छन्। अझै आधा जति छत खाली रहेको र त्यतिकै संख्यामा प्लाष्टिकका थैला र गमलामा तरकारी र फलफूल लगाउन सकिने उनले बताइन्।
‘आधा छत अझै पनि खाली छ, छतको भुइँ पानीले नबिग्रियोस् र थोरै ठाउँमा धेरै बिरूवा राख्न सकियोस् भनेर फलामका स्ट्याण्ड पनि बनाउने तयारीमा छु, केही समयपछि एक हजार बढी प्लाष्टिकका थैला र गमला पुर्याएर तरकारी लगाउने हो,’ सावित्राले योजना सुनाइन्।
पछिल्लो समय सहरमा थोरै जग्गा किनेर घर बनाएर बस्ने र हरियो तरकारीको लागि दैनिक हाटबजार र पसल धाउनेका लागि सावित्रा प्रेरणा बन्न थालेकी छन्।
लकडाउन पहिलेसम्म आफू पनि एकदिन बिराएर तरकारी किन्न बजार धाउने गरेको सावित्रा बताउँछिन्।
१० महिनायता भने हरियो तरकारीको लागि उनी बजार गएकी छैनन्। वर्षायाममा, तितेकरेला, घिरौंला, लौका, कांक्रा, भिन्डी, फर्सी, भन्टाजस्ता तरकारी कौसीमै लगाएकी सावित्राले अहिले तरकारीको प्रकार संगै क्षेत्र पनि बढाएकी छन्।
घर बनाएर खाली रहेको थोरै जग्गामा मेवा, धुपी, टमाटर, साग, काउलीजस्ता तरकारी लगाएकी सावित्राको छत विभिन्न तरकारी र फूलले हरियै बनेको छ।
‘खेती गर्नलाई जग्गा छैन भन्ने त बहानामात्रै रहेछ, मलाई पनि पहिले त्यस्तै लाग्थ्यो, जमिन नभएपछि कहाँ खेती गर्ने भनेर विषादी हालेर उब्जाएकै तरकारी किनेर खाने गरियो परिवारलाई पुग्ने तरकारी त कौसीमै पनि लगाउन सकिने रहेछ,’ उनी भन्छिन्।
सावित्राको छतमा दुई सय बढी प्लाष्टिकका थैलामा बन्दा, काउली, धनियाँ, प्याज, साग, सिमी, भिन्डी, खुर्सानी, कांक्रालगायत तरकारी हुर्किरहेका छन्। उनले तरकारीमात्र होइन त्यतिकै संख्याका गमला र प्लाष्टिकका थैलामा सयपत्री, गोदावरी, मखमली, धुपी, स्वीकस, बेगमबेली, डग फलावर, गुलाफ लगायतका फूल फूलाएकी छन्।
कौसी खेतीका लागि कुनै तालिम नलिए पनि सामाजिक सञ्जालमा हेर्दै र सानो छँदा बुवाआमाले गरेको तरकारी खेती सम्झिँदै खेती सुरू गरेको उनले बताइन्।
‘किसान परिवारमै हुर्किएकोले सानो छँदा बुवाआमाले खेती गरेको देखेकी थिएँ, कुन सिजनमा कस्तो तरकारी लगाउने, त्यसलाई कस्तो मल माटो चाहिन्छ भन्ने कुरा भने सामाजिक सञ्जालमा हेरेर पनि थाहा पाएँ तालिम भने कतै लिनु परेको छैन,’ सावित्राले भनिन्।
सावित्राले छतमै एउटा कोठा निकालेर च्याउ खेती पनि गरेकी छिन्। उनले तरकारीको लागि चाहिने मल र विषादी पनि घरमै तयार गर्छिन्। सुरूमा एकै पटक धेरै थैलामा तरकारी लगाएकोले बजारबाट कौसी खेतीको लागि बनाइएको मल किन्नु परे पनि अब भने घरको भान्साबाट निस्किने फोहोर र कौसी खेतीबाट निस्किएको तरकारीका पात, बोक्रा र झारपातबाटै मल तयार गर्ने उनले बताइन्।
कौसीमा तरकारी लगाउँदा एकातर्फ घरको आवश्यकता पूरा हुन्छ भने अर्कातर्फ हरियालीले घरको सौन्दर्यता बढ्ने र कुहिने फोहोरलाई मलको रूपमा प्रयोग गरेर फोहोर व्यवस्थापन गर्न समेत सकिने उनको भनाइ छ।
वर्षायाममा परिवारलाई पुग्ने मात्र तरकारी लगाए पनि अहिले लगाएको तरकारी भने घरपरिवारले खाएर नसक्ने भएकोले बिक्री गर्ने उनको योजना छ।
‘अहिले छतमा धेरै नै तरकारी लगाएकी छु, तीन जनाको परिवारले खाएर सकिँदैन होला बिक्री गर्ने सोच छ,’ उनले भनिन्।
सावित्राले कोरोनापछि यता कौसी खेतीको लागि मात्रै एक लाखभन्दा बढी लगानी गरेकी छन्। प्लाष्टिकको थैला, गमला, बिरूवा, मल, माटो, स्ट्याण्ड गरेर एक लाख भन्दा बढी लगानी भइसकेको र अझै छतभरि खेती गर्दा त्यतिकै लगानी थपिने उनको अनुमान छ।
लगानी धेरै भए पनि घरमा उत्पादन भएको अर्गानिक र ताजा तरकारी खान पाउनु ठूलो कुरा भएको उनी बताउँछिन्।
‘बजार गएर बासी र विषादी राखेको तरकारी खानुभन्दा घरको छतमै फलाएको अर्गानिक र ताजा तरकारीको स्वादै नै फरक हुन्छ, जतिबेला खान मन लाग्यो टिप्यो ताजै पकायो,’ उनले भनिन्।
तरकारीमा लाग्ने किराको लागि पनि घरेलु उपाय प्रयोग गर्ने गरेको उनले बताइन्। ‘अहिलेसम्म किराले खासै सताएको त छैन, साग र काउलीमा देखिएको ‘लाई’ किरामा सर्फ र साबुनको पानी राख्ने गरेको छु, हुस्सु लागेपछि टमाटर नमरोस् भनेर बजारबाट औषधी ल्याएर छरेकी छु,’ उनले भनिन्।
हरियो तरकारी घरकै छतमा उत्पादन गरेकी सावित्राले छिमेकमा खाली रहेको अर्कैको जग्गामा आलु लगाएको बताइन्। लकडाउनपछि तिलोत्तमा नगरपालिकाले बांझो रहेका खेत र खाली रहेका घडेरीमा जग्गा धनीले खेती नगरे छरछिमेकी तथा टोल समितिहरुलाई खेती गर्न आग्रह गरेपछि आफूले पनि खाली जग्गामा आलु लगाएको उनले बताइन्।
सावित्राको कौसी खेती हेरेर अहिले मणिग्रामका अरू महिला पनि कौसी खेतीमा आकर्षित भएका छन्। सावित्राकै टोलका कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता प्रोखेल, सुनिता पोख्रेलले पनि कौसी खेती गर्दै आएका छन्। टोलले अघि सारेको ‘एक घर, एक बगैंचा तथा कौसी खेती’ अभियान अनुसार टोलमै कौसी खेतीको सुरूवात गरिएको स्थानीय विष्णु गौतमले बताइन्।
‘मैले लगाएको कौसी खेती हेर्न छिमेकी दिदीबहिनीहरू आउनुहुन्छ, कतिपयले त आफूले पनि लगाउनुभएको छ। नलगाए पनि तरकारी फूलसँगै बसेर फोटो खिचेर जानुहुन्छ। मलाई पनि खुसी लाग्छ,’ सावित्राले भनिन्।
एक-दुई वर्षदेखि दुई-चार वटा गमला र प्लाष्टिकको थैलामा कौसी गर्न सुरू गरिएको भए पनि रुपन्देहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह लगायतका क्षेत्रमा अहिले भने ठूलै परिमाणमा कौसी खेती गर्न थालिएको छ। घरको छत, पेटी तथा बाल्कोनीमा माटो, सिमेन्ट र प्लाष्टिकका गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लाष्टिकको थैलामा माटो र मलको सही मात्रा मिलाउन सके कौसी खेती राम्रोसँग फस्टाउने कृषि प्राविधिकहरू बताउँछन्।
कृषि प्राविधिक फननारायण ढकाल माटो र मलको मात्रा मिलाएर नियमित रेखदेख र सिंचाइ गर्न सके जमिनमा भन्दा गमला र थैलामा लगाएको तरकारी राम्रोसँग हुर्कने बताउँछन्।
सावित्रा पनि गमला र प्लाष्टिकको थैलामा राखेको मल र पानी बाहिर जान नपाउने भएकोले बिरूवाले मात्र लिन पाउँदा बिरूवा राम्रो हुने बताउँछिन्।
‘बाहिर नपोखिने गरेर मात्र बिरूवामा नियमित पानी राख्न सके बिरूवालाई चिस्याउन पनि पुग्ने र मल पनि बग्न पाउँदैन,’ उनी भन्छिन्।
कौसी खेती गर्नेका लागि स्थानीय तहले तालिम दिएमा तरकारीमा सबै परिवार आत्मनिर्भर बन्न सक्ने सावित्राको सुझाव छ। तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री पनि जमिनमा खेती गर्ने किसानलाई प्रविधि, मल र बिउमा अनुदान सहयोग गरेजस्तै कौसी खेतीका लागि पनि बजेट छुट्याएर सहयोग गर्दै आएको बताउँछन्।
‘खेतीयोग्य जमिन घटिरहेको अवस्थामा घरको छतमा दुई-चार वटा प्लाष्टिकका थैला र गमलामा खुर्सानी, साग, धनियँजस्ता वस्तु लगाए पनि घरको आवश्यकता पूरा हुन्छ, त्यसका लागि प्राविधिक सहयोग सँगै बिउ र मलका लागि नगरपालिकाले सहयोग गर्दै आएको छ।’ श्रीले भने।
उनले सम्बन्धित वडा कार्यालयमार्फत् सहयोग उपलब्ध हुने भएकाले वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरे।