पोखराको अमरसिंह चोक निवासी सुरज सुनारले बिरामी छोरी उपचार गर्न बुधबार पोखराकै गण्डकी मेडिकल कलेज लगे।
कलेज अगाडि गाडी पार्किङ गरेर छोरीलाई अस्पतालभित्र लगे। अस्पतालमा भर्ना गरेर उनी बाहिरिए।
गाडी निकाल्न लाग्दा उनको नजिक एक युवा आए र पार्किङ शुल्क भनेर ३० रुपैयाँ मागे। पार्किङ शुल्क तिरेर उनी घर गए।
केहीबेरमा फेरि उनी स्कुटर लिएर बिरामी छोरीलाई भेट्न आइपुगे। अस्पताल अगाडि स्कुटर राखे, छोरी भेटेर फर्कँदा फेरि उनले पार्किङ शुल्क तिर्नुपर्यो।
‘म भित्र गएर छोरीको अवस्था हेरेर मात्र फर्केको हो’, उनले भने, ‘५ मिनेट राख्दा पनि पार्किङ शुल्क तिर्नु पर्ने यो देशमा नियम कानुन भन्ने केही हुँदैन?’
सार्वजनिक होस् या निजी सवारी। पोखराका सडकमा रोक्दा पुष १ गतेदेखि सबैले यसरी नै शुल्क तिर्नुपर्छ। त्यो पनि घन्टाका हिसाबले। यद्यपी मोटरसाइकल र स्कुटरलाई भने दिनभर पार्किङ गरेर राखे पनि १० रुपैया तिरे पुग्छ। तर सार्वजनिक बसलगायत ठूला सवारी साधनले पोखराका सडकमा पार्क गर्दा प्रतिघन्टा ३० रुपैयाँ तिर्नुपर्छ भने मझौला सवारीले २० रुपैयाँ दिनुपर्छ। सडक किनारमा हरियो पोशाक लगाएका युवा सडकमा केहीबेर रोकिँदा पनि पार्किङ शुल्क उठाउन आइहाल्छन्, नदिए धम्क्याउँछन्।
यसरी सडकबाट पार्किङ शुल्क उठाउने युवा ठेकेदार कम्पनी फेवा सावित्री जेभीले खटाएका कर्मचारी हुन्। उनीहरूलाई पोखरा महानगरले गत मंसिर १४ गते सडक पार्किङका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का दिएको थियो।
ठेकेदार कम्पनीले २०७६ फागुनमा २७ गते नै शर्तअनुसार पहिलो किस्ता बापत ६३ लाख ३४ हजार रुपैयाँ महानगरलाई बुझाएको थियो।
सम्झौता हुन नपाउँदै भएको लकडाउनले ठेकेदार कम्पनीसँग सम्झौता गरेर सडकमा पार्किङ शुल्क उठाउन ढिलाइ भएको ठेकेदार कम्पनीले दाबी गरेको छ। लकडाउन खुलेपछि स्थिति सामान्य भयो। पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत महेश बराल र ठेकेदार कम्पनीका सञ्चालक ठाकुरप्रसाद गुरूङले मंसिर १४ गते सम्झौतामा हस्ताक्षर गरे। पुष १ देखि ठेकेदारले पार्किङ शुल्क उठाउन थाले।
पोखरा महानगरले सडकलाई पाकिङका लागि ठेक्का दिन पहिलो पटक २०७५ असोज ६ गते न्यूनतम ७ करोड ५७ लाख रुपैयाँमा ठेक्का आह्वान गरेको थियो। तीन पटकसम्म ठेक्का आह्वान गर्दासमेत कसैले दर्खास्त नहालेपछि मूल्य घटाएर चौथो पटक २०७६ भदौ २० गते ३ करोड ६ लाख रुपैयाँ न्यूनतम मूल्य राखेपछि दुइटा ठेकेदार कम्पनीले दरखास्त दिएका थिए।
दरखास्त दिनेमा फेवा सावित्री जेभीले ३ करोड १६ लाख ७० हजार रुपैयाँ र अर्को कम्पनी सुकृति निर्माण सेवाले ३ करोड ७ लाख रुपैयाँ कबोल गरेका थिए। धेरै मूल्य राखेको कम्पनीलाई छनौट गर्ने कानुनी व्यवस्थाअनुसार फेवा सावित्री जेभीले ठेक्का पाएको पोखरा महानगरका आय ठेक्का शाखा प्रमुख गणेश पाण्डेले बताए।
महानगरले ठेकेदार कम्पनीसँग गरेको सम्झौताअनुसार उक्त कम्पनीले पोखराका मुख्य सडकसहित १५ वटा सडकबाट पार्किङ शुल्क उठाउन पाउँछ। पार्किङ शुल्क उठाउन थालेको दुई साता नबित्दै ठेकेदार कम्पनीले भने सम्झौतामा उल्लेख नभएका सडकबाट समेत पार्किङ शुल्क असुलिरहेको छ।
पोखराभित्र रहेका भित्री सडक, व्यक्तिको घरसम्म जाने सडकबाट ठेकेदारले शुल्क उठाउन पाउँदैनन्। पोखरा महानगरको कार्यालय अगाडिसमेत ठेकेदार पक्षले शुल्क लिन नपाउने सम्झौता पत्रमा उल्लेख छ। महानगरका ठेक्का आय शाखाका प्रमुख पाण्डेले आफू मोटरसाइकलमा महानगरको कार्यालय आउँदासमेत ठेकेदारका कर्मचारीले शुल्क मागेको बताए।
‘मलाई अफिस आउँदासमेत मोटरसाइकल पार्क गरेको शुल्क लिए’, उनले सेतोपाटीलाई भने, ‘निषेध गरेको ठाउँबाट पनि शुल्क उठाएको खबर आइराखेका छन्, अनुगमन गरेर ठेकेदारलाई सचेत पार्नुछ।’
महानगरभित्रका पृथ्वीचोक, न्युरोड, नयाँ बजार, लेकसाइड, महेन्द्र पुल, चिप्लेढुङ्गालगायत मुख्य सडकहरू अहिले पार्किङका लागि ठेक्का गइसकेका छन्। महानगरले शहरका सम्पूर्ण मुख्य सडक पार्किङका लागि ठेक्का दिँदा सडक सवारी गुडाउन भन्दा पनि पार्किङ गर्न बनेको सन्देश जाने पोखराका स्थानीय नारायण तिवारी बताउँछन्।
तिवारी र अधिवक्ता राजेन्द्रमान श्रेष्ठले सडकमा पार्किङ गर्न ठेक्का दिएको भन्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतलाई विपक्षी बनाएर जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरे। अदालतले महानगरलाई कारण देखाउ आदेश जारी गरेको छ। आदेशमा व्यवस्थित बनाएर पार्किङ गर्न र व्यवस्थित नहुँदासम्म तत्कालका लागि शुल्क उठाउन रोक्न आदेश दिएको अधिवक्ता श्रेष्ठले बताए।
सडक निर्माणको प्रयोजन सवारी गुडाउन भएको भन्दै सार्वजनिक सडकमा निजी सवारी पार्किङ गर्न निजी कम्पनीलाई दिनु गलत हुने तिवारीको भनाइ छ। सडकमा पार्किङ गर्न दिनु गैरकानुनी हुने अधिवक्ता श्रेष्ठले बताए।
त्यसो त पोखरा महानगरका मेयर मानबहादुर जिसीले यसअघि ‘सडकमा पार्किङ गर्न दिएर महानगरलाई आम्दानी गर्नु छैन’ भन्दै आएका थिए। सडक पार्किङ गर्ने ठाउँ होइन, यो कुरा नागरिक आफैंले बुझ्नुपर्छ भन्दै उनले अब सडकमा पार्किङ जर्दा शुल्क लाग्ने बताए। तर शहरमा व्यवस्थित पार्किङका लागि उनीसँग कुनै योजना छैन।
मेयर जिसीले सडकलाई पार्किङ गर्न ठेक्का दिएपछि पार्किङ शुल्क नभई पार्किङ व्यवस्थापन शुल्क लिएको बताए।
महानगरले बनाएको कानुनअनुसार नै ठेक्का दिएको भन्दै उनले पार्किङ व्यवस्थापन ठूलो 'इस्यू' नभएको बताए।
‘हामीले पार्किङ गर्न खाली ठाउँ खोज्यौं, तर पाएनौं’, उनले भने, ‘कहाँ पार्किङ गर्ने त?’
सडकलाई पार्किङको ठेक्का दिएपछि शहरमा गुण्डागर्दी पनि मौलाउन थालेका घटनाक्रमले देखाउँछ।
पोखरामा ट्याक्सी चलाएर जिविका चलाउने गणेशबहादुर पुलामी मगरलाई ठेकेदार पक्षका युवाहरूले थर्काए। गत बुधबार बिहान न्युरोडमा पार्किङ शुल्क माग्न आएका ठेकेदार कम्पनीका कर्मचारीलाई गणेशले ‘अदालतले पार्किङ शुल्क नलिनु भनेको च छ त’ के भनेका थिए मोटरसाइकलमा ६-७ जनाका युवाको समूह नै आयो।
त्यो समूहले गणेशलाई थर्कायो। घन्टाको हिसाबले २०-२० रुपैयाँ तिर्न भन्यो। नतिरे ‘ठिक’ पार्ने चेतावनी दियो। अदालतले दिएको अन्तरिम आदेश जानकारी गराउँदा अर्का युवा अशोक खड्का पनि ती युवाहरूको समूहले आफूलाई त्यसरी नै थर्काएको बताउँछन्।
‘पोखराको न्युरोडमा पार्किङ शुल्कका विषयमा कुरा गर्दैगर्दा युवाहरू आए र मलाई घेरा हालेर थर्काए’, खड्काले सेतोपाटीसँग भने, ‘म चुप नलागेको भए जे पनि गर्न सक्थे।’
ठेकेदार कम्पनी फेवा सावित्री जेभीका सञ्चालक ठाकुरप्रसाद गुरूङले भने गुण्डागर्दी नगरेको दाबी गरे।
‘गुण्डागर्दीबारे महानगरमा जानकारी गराउनुस,’ उनले भने, ‘महानगरले नै कारबाही गर्ला।’
उनले सम्झौतामा उल्लेख भएकोबाहेक अन्य सडकबाट शुल्क असुली नगरको पनि दाबी गरे।
पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत महेश बरालले सडकमा पार्किङका विषयमा अनुगमन गर्न नसकिने बताए।
‘सडकमा कहाँ-कहाँ कति ठाउँमा पार्किङ छन्, कहाँ अनुगमन गर्न भ्याइन्छ र’, उनले भने, ‘कुनै समस्या आए लिखित निवेदन नआइकन कारबाही गर्न सकिँदैन।’