कोरोना महामारी नहुन्थ्यो र हामी लकडाउनले घरभित्रै थुनिएका हुन्थेनौं भने यति बेला काठमाडौं आफ्नो सबभन्दा ठूलो सांस्कृतिक उत्सव मनाइरहेको हुन्थ्यो।
यो 'येँया पुन्ही' अर्थात् इन्द्रजात्राको समय हो। नेपाल भाषामा ‘येँ’ भनेको काठमाडौं, ‘या’ भनेको उत्सव र ‘पुन्ही’ भनेको पूर्णिमा। अर्थात्, यो पूर्णिमामा मनाइने कुनै एउटा जात्रा वा पर्व मात्र होइन, काठमाडौंको भव्य उत्सव हो। यो उत्सवमा लिंगो ठड्याइन्छ, देवी नाच नचाइन्छ, लाखे प्याखँ देखाइन्छ, पुलुकिसी दौडाइन्छ, पाल्चामा बत्ती बालेर सहर घुमाइन्छ, भजन गाइन्छ, इन्द्रलाई बाँधेर राखिन्छ, कुमारी रथयात्रा गरिन्छ र अरू पनि के-के गरिन्छ के-के।
सबभन्दा रोचक त, इन्द्रकी आमालाई पछ्याउँदै स्वर्गको यात्रामा पनि गइन्छ।
भूमिगत जलस्रोत विज्ञ तथा काठमाडौं सम्पदा र संस्कृतिमा दख्खल राख्ने पद्मसुन्दर जोशीले गत वर्ष सेतोपाटीमै लेखेका थिए, 'जो इन्द्रजात्रामा रमेका छैनन्, उनीहरू काठमाडौंमा जमेका छैनन्।'
यसपालि भने काठमाडौंमा जमेका र वर्षौं वर्षदेखि इन्द्रजात्रामा रमेकाहरूले पनि आफ्नो सबभन्दा ठूलो उत्सव मनाउन पाएनन्। रथयात्रा लगायत अरू विधि स्थगन गरिएकाले सम्बन्धित मठ-मन्दिरमा क्षमापूजा मात्र गरियो। यो खल्लो इन्द्रजात्रामा हामी रंग भर्न सक्छौं, आफ्नो पुरानो एल्बम पल्टाएर।
तपाईं पनि नारायण महर्जनले खिचेका तस्बिर र सबिना श्रेष्ठका शब्दमा इन्द्रजात्राको रौनक हेर्दै-पढ्दै 'नोस्टाल्जिक' हुन चाहनुहुन्छ भने आउनुस् हामी येँया पुन्हीको 'भर्चुअल टूर' गरौं।
येँया पुन्हीमा सार्वजनिक विदा हुने आज एकदिन मात्र हो। तर, यो उत्सव एक दिनको होइन। इन्द्रजात्रा सुरू हुनु केही साताअघिदेखि नै वसन्तपुर दरबार स्क्वायर परिसरका मठ-मन्दिरहरूमा लगाइने रंगरोगनले उत्सव आगमनको झलक दिन्छ।
उत्सवको खास सुरूआत वसन्तपुरमा लिंगो अर्थात् य:सिँ ठड्याएर हुन्छ। लिंगो ढालेपछि उत्सव सकिन्छ। ३६ हात लामो र ४ हात चौडा लिंगोका लागि भक्तपुर नालाको सल्लाघारीबाट रूख काटेर ल्याउने चलन छ। यसको निम्ति मानन्धर समुदायका व्यक्तिहरू वसन्तपुरस्थित नासल चोकमा पूजाआजा गरेर ‘वनयात्रा’ मा निस्कन्छन्।
पहिले–पहिले रूख काट्ने मान्छे हिँडेरै जान्थे। अचेल गाडी चढेर जाने छुट छ। नेपाल पञ्चांग निर्णायक समितिले तय गरेको साइतमा बन्चरोको ‘चोट’ पारेपछि भोलिपल्ट झिसमिसेबाट रूख काट्न सुरू हुन्छ।
पहिलो दिन नालाबाट रूख तानेर ठिमीको राधेराधेसम्म ल्याउने चलन छ। त्यसपछि चौथीको दिन त्यहाँबाट तानेर काठमाडौंको भोटाहिटी ल्याइन्छ। भोटाहिटीमा सडकछेउ एउटा मण्डल छ। वर्षभरि सवारी साधन गुड्ने भएकाले यो मण्डल छोपेर राखिएको हुन्छ। धेरैले मण्डल छ भन्ने थाहै पाउँदैनन्। येँया पुन्ही सुरू भएसँगै मण्डलको ढक्कन खोलिन्छ। नालादेखि वनयात्रा गरेर ल्याएको रूख यही मण्डलमा राखेर पूजा गरिन्छ।
त्यसपछि अष्टमीको साइत पारेर नगर प्रवेश गराइन्छ। नगर प्रवेशपछि एकादशीको दिन लिंगोमा डोरी बाँध्न थालिन्छ। सनाःगू खलःका मानन्धरहरूले डोरी बाँध्छन्। मानन्धर समुदाय पहिल्यैदेखि प्राविधिक काममा संलग्न रहँदै आएकाले रूख काट्ने र डोरी बाँध्ने जिम्मा दिइएको स्थानीय बताउँछन्।
द्वादशीको दिन हनुमानढोका दरबारअगाडि लिंगो उठाइन्छ। यसलाई ‘इन्द्र ध्वजोत्थान’ भनिन्छ। लिंगो उठेपछि आधिकारिक रूपमा येँया पुन्ही सुरू हुन्छ।
स्थानीयहरू यो प्रचलन राजा रणबहादुर शाहको पालादेखि सुरू भएको मान्छन्। यसको लिखित वा आधिकारिक अभिलेख भने छैन। येँया पुन्ही नै मल्लकालदेखि चलिआएकाले लिंगो उठाउने पनि त्यही बेलाको चलन हुनुपर्छ भन्ने कतिपयको मत छ।
‘पृथ्वीनारायण शाहले कान्तिपुर जितेपछि यो प्रथा रोकिएको हुन सक्छ। पछि राजा रणबहादुरले फेरि चलनमा ल्याएकाले त्यस्तो मान्यता रहेको हो कि?’ केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धरले भने।
किलागलमा हुने देवी नाच येँया पुन्हीको एक मुख्य आकर्षण हो। सात देवदेवी भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक) ले यहाँको डबलीमा आएर नाच देखाउँछन्।
देवी नाचले छोरीहरूको साहसको कथा भन्छ।
पौराणिक कालमा दैत्यहरू बलिया हुन्थे। मान्छे र देवतालाई दुःख दिन्थे। एकचोटि दैत्य र भैरवको घमासान युद्ध भयो। भैरव हारे। त्यसपछि युद्धमा अघि सरिन् कुमारी। उनी आफ्ना सहयोगी कंकाल र भैरवका बहान बेताल लिएर मैदानमा आइन्। घमासान लडाइँ भयो। दैत्य ढल्यो। तै कुमारीको रिस मरेन। उनले दैत्यलाई मार्न खोजिन्। कंकाल र बेताल कुमारीको रिस शान्त पार्न आए।
उनीहरूले बल्लतल्ल कुमारीलाई थामथुम पारे। पराजित दैत्य त्यही मौकामा मैदानबाट कुलेलाम ठोके। दैत्यमाथि कुमारीले विजय पाएको यही पौराणिक कथा छ देवी नाचमा, जसलाई स्थानीय नेपाल भाषामा ‘दी प्याखंः’ भनिन्छ।
देवी नाच देखाइने सात डबली छन्। दी प्याखंः सञ्चालन समितिका सदस्य नरेन्द्र महर्जनका अनुसार यो नाचमा सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै घन्टा हुन्छ।
यति महत्वको नाच कहिले सुरू भयो भन्ने आधिकारिक अभिलेख छैन। यसमा गाइने भैरव देवताको चचा (चर्या) गीतले भने गुणकामदेव राजाकै पालामा सुरू भएको जनाउँछ।
गीतमा भनिएको छ:
‘नेपालया भुवन पति
श्री गुणकर राजा
जुगांजुग जिवय् भुक्तिमुक्ति’
यहाँ गुणकर राजाले गुणकामदेव बुझाउँछ। यिनै राजाले काठमाडौंलाई ‘कान्तिपुर’ नामाकरण गरेका थिए। उनैले काठमाडौंको चारैतिर अष्टमातृका गणलाई उपत्यकाको संरक्षिकाका रूपमा स्थापना गरेका थिए।
भनिन्छ– उपत्यकामा जति पनि देवीदेवता छन्, त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे छन्। तिनैमध्ये एक 'मजिपा: लाखे' येँया पुन्हीको एउटा मुख्य आकर्षण हो।
रातो मुखौटा लगाएको डरलाग्दो अनुहार। रातै कपाल। च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा। हातका औंलामा लामा–लामा नंग्रा। यो पात्र ‘मजिपाः लाखे’ हो।
लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा दैत्यका रूपमा व्याख्या गरिएको छ। येँया पुन्हीमा मजिपाः लाखेलाई ‘लाखे आजु’ का रूपमा आस्थापूर्वक पुज्ने गरिन्छ। यो लाखे राक्षसी वर्ग भए पनि उसमा प्रेम, बलिदान र त्याग छ। त्यसैले मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ।
किम्बदन्तीअनुसार मजिपाः टोलकी एक ज्यापुकी छोरीसँग लाखेको प्रेम बस्छ। त्यो लाखेले मान्छेको रूप लिई ज्यापुकी छोरीलाई खेतको काममा सघाउन थाल्छ। यसरी खेतको काम चाँडै सकिएको देखेर केटीका आमाबुवा आश्चर्यमा पर्छन्।
पछिपछि त्यो लाखे केटीको घर मजिपा:मै आउन थाल्छ। कहिले त रातभरि नै बस्न थाल्छ। यस्तो हुँदै जाँदा टोलभरी त्यो केटी र लाखेको प्रेम सम्बन्धको चर्चा हुन्छ। उनीहरूको प्रेमचर्चासँगै त्यही समयमा उक्त टोलका बच्चा पनि एक-एक गरी हराउन थाल्छन्। टोलबासी लाखेले गर्दा नै आफ्ना बच्चा हराउन थालेको शंका गर्छन्। त्यसपछि उनीहरूले लाखेलाई समातेर पिट्दै केरकार गर्न थाल्छन्। लाखेले आफ्नो गल्ती स्विकार्दै केटीसँग प्रेम भएको र कुनै हालतमा आफ्नी प्रेमिका छाड्न नसक्ने बताउँछ।
लाखेले टोलका बालबालिकाको रक्षा गर्ने र भूतप्रेतबाट सुरक्षा दिने बाचा गर्छ। अनि सबै टोलबासी मिलेर लाखेलाई एउटा घरमा बन्द गर्छन्। त्यही घरलाई 'लाखे ननि' (लाखेघर) भनिन्छ।
गुणकामदेवको पालादेखि लाखे नाच सुरू भएको मानिन्छ। नेपाल सम्बत् ८०० तिरको अभिलेखमा यसको उल्लेख छ। कतिपयले भने राजा हरिसिंह देवले सिम्रौनगढबाट आफूसँगै लाखे नाच उपत्यका भित्र्याएको बताउँछन्।
माथि तस्बिरमा मजिपाः लाखेसँगै सानो बालक पनि देखिन्छ। यी बालक ‘झ्यालिँचा’ हुन्। झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ। लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्छ। ‘लाखे–झ्यालिँचा’ को प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिन्छ।
लाखे र झ्यालिँचाको पनि एउटा किम्बदन्ती छ। लाखेलाई तलेजु भवानीको संरक्षकका रूपमा लिइन्छ। तत्कालीन समयमा मान्छे खाने र हेर्दैमा डरलाग्दो भएकाले लाखेलाई सहरमा राख्न कसैले स्विकारेनन्। त्यसैले शोभा भगवतीपारिको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो। मान्छे खाँदिन भन्ने बाचामा उसलाई इन्द्रजात्रामा प्रस्तुत गर्ने चलन सुरू भएको मान्यता छ।
लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो बालकलाई नाचमा उपस्थित गराइन्छ। लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ। झ्यालिँचाको उमेर ३ देखि १२ वर्षको हुन्छ।
येँया पुन्हीमा कुमारी रथयात्राका अतिरिक्त सबैले सम्झने दृश्य पुलुकिसीको यात्रा हो।
पुलुकिसी भनेको सेतो हात्ती हो। यसलाई स्वर्गलोकका राजा इन्द्रको वाहन अर्थात् ऐरावत हात्तीको प्रतिरूप मानिन्छ।
यो ऐरावत हात्ती काठमाडौं कसरी आइपुग्यो त?
किम्बदन्तीअनुसार एकपटक इन्द्रकी आमा बसुन्धरालाई भाद्र सप्तमी तिथिमा ब्रत बस्नु थियो। त्यसका लागि उनलाई पाल्जा स्वाः (पारिजातको फूल) चाहियो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो। उनले छोरा इन्द्रलाई पाताल पठाइन्। इन्द्र फूल खोज्दै काठमाडौं आइपुगे। एउटा किसानको बगैंचामा फूल देखेपछि लुकेर टिपे। किसानले इन्द्रलाई चोर ठानेर समाते। घरको भित्तामा बाँधेर राखे।
आमा बसुन्धरा अबेरसम्म छोरा नफर्किएपछि आत्तिइन्। अनि इन्द्रको बाहन सेतो हात्तीलाई पाताललोक पठाइन्। हात्ती इन्द्र खोज्दै किलागल आइपुग्यो। त्यहाँका स्थानीयले हात्तीलाई पनि समातेर राखे।
हात्ती खबर लिएर स्वर्गलोक नफर्किएपछि इन्द्रकी आमा आफैं पाताल झर्नुपरेको भनाइ छ।
यही कथा बुनिएको छ, पुलुकिसी नाचमा। पुलुकिसीले सहर परिक्रमा गर्नु नै सेतो हात्तीले इन्द्रलाई अनवरत खोज्नु हो। जात्रा सुरू भएदेखि अन्तिमसम्मै यो हात्ती विभिन्न ठाउँ पुग्छ।
पुलु किसीको शरीर दुई जना मान्छे पस्न मिल्ने गरी बनाइएको हुन्छ। दुई जनाले बाँसको शरीर सन्तुलनमा राख्छ। बाहिर अर्को एक जनाले हातमा चिलाखः (मसाल) बोक्छन्। ‘पुलु किसी’ बन्ने मान्छे भने निश्चित हुँदैनन्।
येँया पुन्हीका अवसरमा लिंगो ठड्याएको दिनदेखि साताभरि नै आकाश भैरवको मूर्तिलाई फूलै फूलले सजाएर बाहिर प्रदर्शनीमा राखिन्छ। भैरवको सजावट मात्र नभई सजाइएको फूल पनि दैनिक परिवर्तन गर्ने चलन छ। अर्थात, आज जुन फूल छन्, भोलि त्यही प्रयोग हुन्न।
यो काममा ६२ घरपरिवारको गुठी संलग्न हुन्छ। यसमा इन्द्रचोक, चोखाछेः गल्ली, यखाः बहाल, तमो गल्ली, नरदेवी, केबछेःको दबौ गल्ली, मख्खन हुँदै इन्द्रचोकका परिवार छन्। तीमध्ये वर्षमा आठ घरको एकपटक पालो आउँछ। त्यो घर सकिएपछि नजिकैका अन्य आठ घरको लगातार पालो हुन्छ। यसरी आठै वर्षमा पालो फेरिँदै पुनः त्यही घरमा पुग्छ।
भाद्र शुक्ल एकादशीको दिनमा आकाश भैरवका गुठीयार मिलेर भैरवको मूर्तिलाई तल एउटा खटमा बसाउँछन्। त्यही दिन आकाश भैरवका आठ जना गुठीयार तर्फबाट नातागोता, छोरी–ज्वाइँ, भाञ्जाभाञ्जी लगायतलाई छायेकेगु (पूजा गर्ने) अवसरमा प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिन्छ। करिब १५० घरमा निम्ता पठाइन्छ। त्यही दिन उनीहरूले विभिन्न फूल ल्याउँछन्। सबै मिलेर फूलमाला गाँस्छन्।
द्वादशीको रात चित्रकारहरूले भैरवनाथको अनुहार रङ्गरोगन गर्छन्। त्यसपछि गुठीयार मिलेर मूर्ति बाहिर ल्याई खटमा विराजमान गराउँछन्। ताम्राकारहरूले उक्त मूर्तिमा गरगहना लगाइदिन्छन्। गुठीयारहरूले एकदिन अगाडि गाँसेको फूलमालाले मूर्ति सजाउँछन्।
इन्द्रजात्राको रथयात्रा क्रममा माथिल्लो टोल (थने) मा रथ परिक्रमा गर्दा इन्द्रचोक पनि पुग्छ। त्यो दिन कुमारीको सामुन्ने भैरवलाई पाँचवटा जिउँदो माछा चढाइन्छ।
येँया पुन्हीमा भक्तपुरका विभिन्न समूह महाकाली नाच देखाउन काठमाडौं आउँछन्। महाकाली नाचले असत्यमाथि सत्यको जित देखाउँछ।
हिन्दु पुराणअनुसार पहिले दानवहरूको राज्य थियो। ती दानवले मानिस र देवीदेवतालाई दुःख दिए। भगवान विष्णुले पार्वतीलाई महाकालीको रूप धारण गर्न लगाए। महाकाली दायाँ–बायाँ कुमारी र महालक्ष्मीका साथ युद्ध गर्न आइन् र दानवको वध गरिन्। यसैको विजयोत्सव हो, महाकाली नाच।
महाकाली नाच करिब दुई घन्टाको हुन्छ। त्यसमा पात्रले विभिन्न तालमा नाच्छन्। महाकालीले ‘पर्ताल’, कुमारीले ‘चलती’, कवन्चाको ‘कवन्चा’, ख्याकले ‘धमाक’ तालमा नाच देखाउँछन्। यी देवदेवीको भूमिका पुस्तौंदेखि पुरुषले गर्दै आएका थिए। अहिले महिलालाई सहभागी गराइन्छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार यो नाचको सम्बन्ध नरदेवी नाचसँग छ। मल्लराजा सुवर्णको समयमा यो नाच लोप भएको थियो। त्यसलाई नेपाल सम्बत् ६३३ मा उनले ब्युँताए।
नरदेवी नाचको विशेषता के भने, यो वर्षको नौ महिना देखाइन्छ। बीचको तीन महिनामा नाच नहुँदा महाकाली, भैरव नाच लगायत देखाइन्छ। यी नाच नवदुर्गाकै स्वरुप हुन्।
वसन्तपुरको हनुमानढोकास्थित नौझ्याले घरमा झन्डै १५ फिट अग्लो मूर्ति सधैं बन्द रहन्छ। येँया पुन्हीमा सार्वजनिक प्रदर्शन गरिने यो मूर्ति हाथु द्यः अर्थात् श्वेत भैरवको हो।
जात्रा अवधिभरि श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड-रक्सी अनवरत खुवाउने परम्परा छ। खानेको पनि उधूम भीड हुन्छ।
एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (थने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खान्छन्। करिब सात वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यस्थापन समिति’ ले यो परम्परा सुरू गरेको हो।
यसको सुरूआत सहज थिएन। सबभन्दा पहिला कुमारी रथ तान्नमा महिलाहरूलाई सहभागी गराएर परम्परा बदलिएको थियो।
रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रूपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने मान्यता थियो। त्यो सोच कसरी तोड्ने भन्ने अन्योलजस्तो थियो।
त्यही अन्योलबीच समाजसेवी मोहनकृष्ण डंगोलले ‘कुमारीको रथ नानिचाको दिन नानीहरूले नै तान्छ’ भनेर सञ्चारमाध्यममा बताइदिए। त्यसपछि ‘कसरी तान्छन् महिलाहरूले?’ भनेर चुनौती भयो। सबभन्दा पहिला ज्यापू महिला गुठीको सहयोगमा रथ तानियो। अहिले त रथ तान्न २६० समूह दर्ता भएको छ।
त्यसको दुई वर्षपछि महिलाको छुट्टै ‘हाथा हायकेगु’ पनि सुरू भएको हो।
श्वेत भैरव इन्द्रजात्रासँग जोडिएको धेरै भएको छैन। सामान्य अर्थमा श्वेत भैरव भनेको सेतो भैरव हो। तर, यो सेतो छैन। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरूपमा निर्माण गरेका थिए।
येँया पुन्हीको मुख्य आकर्षण कुमारी जात्रा हो। माथिल्लो, तल्लो र बीचको गरी ३२ टोलमा कुमारी रथयात्रा गर्ने चलन छ।
भित्री काठमाडौंमा तीनवटा टोल छन्। तल्लो टोल (कोहने), माथिल्लो टोल (थने) र बीचको टोल (नानिचा) गरी तीन दिन रथ तानिन्छ।
कुमारी रथयात्राको पहिलो दिन तल्लो टोल (कोहने) मा ‘जीवित देवी’ कुमारीलाई घुमाइन्छ। वसन्तपुरबाट सुरू जात्रा मरु, चिकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल लगायतमा रथयात्रा गरेर वसन्तपुरमै समापन हुन्छ।
दोस्रो दिन माथिल्लो टोल (थनेचा) मा रथ परिक्रमा हुन्छ। यो दिन वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, टेँगल, न्ह्योखा, न्हेकतला, असन हनुमानढोका हुँदै वसन्तपुरमै सकिन्छ।
त्यसपछि दुई दिन विश्राम हुन्छ। तेस्रो रथयात्रा बीचको टोल (ननिचा) मा हुन्छ। यो जात्रा यट्खा, नरदेवी, किलाघः, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुग्छ।
ननिचा जात्रा सकिएपछि लिंगो ढालिन्छ र येँया पुन्ही सकिन्छ।
अन्न र जलका देवता रातो मच्छिन्द्रनाथको नेपाल (काठमाडौं) प्रवेशसँगै कुमारी प्रतिस्थापन गर्ने परम्परा बसेको हो। मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउँदा कोदुवाल दह आइपुगेपछि उनले भनेछन्, ‘कुमारी प्रतिस्थापन नभएसम्म म बुङमती प्रवेश गर्दिनँ।’
त्यसपछि तान्त्रिक बन्धुदत्त बज्राचार्यले आफ्नै छोरीलाई बुङमतीमा कुमारीका रूपमा प्रतिस्थापन गरेको किम्बदन्ती छ।
बुङमतीमा आजभन्दा १४४० वर्षअघि नै कुमारी परम्परा बसेको संस्कृतिविद् दुर्गा शाक्यले आफ्नो पुस्तक ‘हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान’ मा लेखेकी छन्। लिच्छवि राजा गुणकामदेवले कन्या केटीलाई कुमारी बनाई पूजा गर्ने परम्परा बसाएको दुर्गाको किताबमा छ।
मल्लकालमा काठमाडौं, पाटन र भक्तपुर तीनै राज्यमा दरबारको राजकीय कुमारी र टोलटोलमा स्थानीय कुमारी स्थापना गरी नित्य पूजा गर्ने परम्परा सुरू भएको पाइन्छ। वसन्तपुरको घरमा प्रतिस्थापित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीक मानिँदै आएको छ।
यससँग सम्बन्धित अर्को किम्बदन्ती पनि दुर्गाले उल्लेख गरेकी छन्।
बिक्रम सम्बत् १३८१ मा सिमरावनगढका राजा हरिसिंहदेव तुलजा भवानीसहित काठमाडौं आएका थिए। त्यसै बेला हरिसिंहदेवकी रानी देवलदेवीले भादगाउँको दरबारमा तुलजा भवानी स्थापना गरेकी थिइन्। त्यसपछि मल्ल राजाहरूले तुलजा भवानीलाई इष्टदेवीका रूपमा मान्न थाले।
मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यसको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्थे रे। राजकाजसम्बन्धी सरसल्लाह लिन्थे रे। र, समयसमयमा पासासमेत खेल्थे रे।
एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले तान्त्रिक यन्त्र खोलेर हेरिछन्। त्यो यन्त्र कुनै स्त्रीले हेर्न हुँदैनथ्यो रे। तुलजा भवानीले रिसाएर राजालाई भनिछन्, ‘अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। बरू म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।’
तुलजा भवानीले आदेश दिइछन्, ‘शाक्य कूलकी कन्यालाई कुमारी बनाउनू।’
पछि कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोग समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’
जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार विसं १८१३ फागुनमा कुमारीघरको जग हालेको भनाइ छ। यसको निर्माण ६ महिनापछि १८१४ भदौमा पूरा भएको थियो।
उनले त्यसै वर्षबाट कुमारी, गणेश र भैरव रथयात्रा सुरू गराए। कुमारीघर व्यवस्थापन र कुमारीको रेखदेख निम्ति चिताइदारको व्यवस्थासमेत गरे। यसैको प्रभावले जयप्रकाशको राज्यकाल १२ वर्ष थपियो भन्ने भनाइ छ।
‘बालबालिकाको हृदय पवित्र हुन्छ। छल, कपट, राग, द्वेषको भावना हुँदैन। त्यसैले तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्। र, शाक्य कूलकी कन्यालाई कुमारी बनाएर तुलजा भवानीको प्रतीकका रूपमा पूजा गर्ने चलन चल्दै आएको हो,’ दुर्गाको भनाइ छ।
कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन्। इन्द्रजात्रा, घोडेजात्रा, मच्छिन्द्रनाथ जात्रा लगायत गरी वसन्तपुरकी कुमारीलाई वर्षमा १३ पटक कुमारीघरबाट बाहिर निकालिन्छ। अन्य नेवारी चाडपर्वमा पनि उनको रथयात्रा हुन्छ।
येँया पुन्हीको अन्तिम विधि भनेको इन्द्रकी आमा वसुन्धरा (दागीं) सँग स्वर्गको यात्रा हो।
काठमाडौंबासीले बाँधेर राखेका छोरा इन्द्रलाई छुटाउन वसुन्धराले स्थानीयलाई खेतीपातीका लागि कुहिरो ल्याउने र स्वर्ग पुर्याइदिने बाचा गरेकी हुन्छिन्। दागींका अनुसार इन्द्रदहमा नुहाउँदा स्वर्ग पुगिन्छ। यही विश्वासका साथ बर्सेनि मानिसहरू चन्द्रागिरिस्थित इन्द्रदह पुग्छन्। त्यहाँ नुहाउँछन्, पूजाआजा गर्छन्।
इन्द्रदह पुग्नुअघि दागींले कुमारी, भैरव र गणेश घुमेको तल्लो टोलको यात्रा गर्नुपर्छ। यात्रा क्रममा दाजुभाइले उनका दुई हात दुईतिरबाट समाउँछन्। दागींसँगै वर्षभरि दिवंगत भएकाहरूको परिवार नौथरी गेडागुडी छर्दै हिँड्छन्। दागींको पछि हिँड्दा स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सियोस् भनेर छरिएको भन्ने भनाइ छ।
गत वर्ष हामी पनि दागींसँगै इन्द्रदह गएका थियौं।
दिउँसो पानी परेकाले बाटो चिप्लो थियो। घुमाउरो, चिप्लो, भिरालो बाटो कट्दै करिब दुई घन्टामा स्विट्जरल्यान्ड पार्क भनिने ठाउँ पुगेपछि बस रोकियो। त्यसपछिको बाटो झनै खराब भएकाले हामीले इन्द्रदहसम्म पुग्न करिब आधा घन्टा हिँड्नुपर्यो।
यिनै यात्राका सकसबीच एक जना बूढा मान्छेले भनेको सम्झिएँ, 'पहिले पहिले त काठमाडौंदेखि हिँडेर इन्द्रदह पुग्नुपर्थ्यो। अहिलेजस्तो बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सिधै स्वर्ग।'
करिब १२ किलोमिटर पार गरेर राति ३ बजेतिर इन्द्रदह पुग्दा भव्य मेला चल्दै थियो। रातभर जागा पसलहरू, पुजारी र तिर्थारूहरू। त्यहाँ पुगेर मानिसहरू नुहाउन र कुण्डको पानीले मुख धुन थाले। मान्छेको हुलमुलमा दागीं बनेका मंगलमान डंगोल कहाँ हराए कहाँ, यताउता हेर्यौं, फेला परेनन्।
किम्बदन्ती नै छ- दागीं जीवित रहेका मान्छेलाई स्वर्ग लान नमिल्ने भएपछि त्यहीँबाट चलाखीपूर्वक भाग्छन्।
दहबाट फर्किँदै गर्दा डाँडाबाट तलतिर कुहिरोले बादलजस्तो बनाएको देखिन्थ्यो। सायद दागीं अर्थात् इन्द्रकी आमाले एउटा बाचा चाहिँ पूरा गरिन्- कुहिरो ल्याएर।