चीनमा कोरोना भाइरस संक्रमणले महामारी रूप लिएपछि 'फेस मास्क' को माग बढेको छ। चीनसहित दक्षिण तथा पूर्वी एसियाली मुलुकमा मान्छे मास्कले नाक–मुख ढाकेर हिँडेका दृश्य प्रशस्त देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय सामान्य मास्कको माग सय गुणा र मूल्य २० प्रतिशत बढेको छ।
स्वास्थ्य विशेषज्ञहरू मास्कले अनुहार ढाकेर मात्र भाइरस संक्रमणबाट सुरक्षित नहुने बताउँछन्। उनीहरूका अनुसार पटक–पटक राम्ररी हात धुनु भाइरसबाट बच्ने उत्तम उपाय हो।
धेरैलाई स्वास्थ्य विशेषज्ञहरूको यो भनाइ थाहा नभएको होइन। तै पनि अनुहार ढाकेर हिँड्नबाट उनीहरू आफूलाई रोक्न सक्दैनन्। चाहे त्यो कोरोना भाइरसजस्तो महामारी बेला होस्, वा सहरमा प्रदूषण बढेका बेला।
हामीले मास्कको ऐतिहासिक र सांस्कृतिक सन्दर्भ हेर्ने हो भने, चिनियाँहरू यसलाई भाइरस संक्रमणबाट सुरक्षित हुने उपायभन्दा बेसी नै मान्छन्। उनीहरूका निम्ति यो स्वास्थ्य सेवासँग जोडिएको आधुनिकताको प्रतीक हो।
यति मात्र होइन, मास्क लगाएर हिँड्दा मान्छे आफूलाई सुरक्षित ठान्छन्, जसले यस्तो महामारी बेला समाजलाई गतिशील राख्न मद्दत गर्छ।
अब प्रश्न उठ्छ, चिनियाँहरू मास्कलाई किन यति धेरै विश्वास गर्छन्?
थाइल्यान्डको बैंककमा गत महिना मास्क उत्पादन गरिँदै। तस्बिर: द न्यूयोर्क टाइम्सप्रमुख कारण के भने, जुन मास्क आज संसारभरि स्वास्थ्य सेवामा अपरिहार्य छ, त्यसको आविष्कार सय वर्षअघि चीनबाटै भएको थियो।
यो सन् १९१० को कुरा हो। तत्कालीन चिनियाँ साम्राज्यको उत्तरपूर्वी प्रान्तलाई त्यति बेला 'मन्चुरिया' भनिन्थ्यो। त्यही प्रान्तमा प्लेग रोगको महामारी फैलियो। चिनियाँ सरकारले प्लेगविरूद्ध देशव्यापी अभियान चलायो। यसको जिम्मेवारी वी लीन–तेह नाउँका युवा डाक्टरलाई दिइयो।
वी लियान्डेसमेत भनिने ती चिनियाँ डाक्टर बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पढेका थिए। चीनले महामारी नियन्त्रण गर्न ब्रिटिस–मलायाबाट उनलाई झिकाएको थियो।
अहिले कोरोनो भाइरसले जसरी आक्रान्त बनाएको छ, त्यति बेला पनि प्लेग संक्रमण र त्यसलाई रोक्ने अभियानबीच प्रतिस्पर्धा नै थियो।
फिल्डमा ओर्लनेबित्तिकै डाक्टर वी लीन–तेह बिरामीको उपचारसँगै रोग थप फैलिन नदिनेतर्फ चनाखो भए। उनी आउनुअघि फिल्डमा खटिएका डाक्टरलाई लाग्थ्यो, प्लेग मुसासँगको सम्पर्कबाट मात्र फैलिन्छ। रोग लागिसकेका बिरामी छुँदा वा बिरामीसँग नजिक रहेर उपचार गर्दा पनि रोग सल्किन सक्छ भन्ने उनीहरूलाई भेउ नै थिएन।
डा. वीको निष्कर्ष थियो, मुसासँग प्रत्यक्ष सम्पर्कले मात्र प्लेग सल्किने होइन। रोग लागिसकेको बिरामी नजिक जाँदा पनि सर्न सक्छ। बिरामीको थुक, खकार वा पसिनाबाट पनि भाइरस फैलिन्छ।
सन् १९११ मा उत्तरी चीनको हार्विनस्थित प्रयोगशालामा डा. वी लीन–तेह। तस्बिर: द न्यूयोर्क टाइम्सयसरी बिरामीसँग निकट सम्पर्कले रोग फैलिनबाट रोक्न उनले 'फेस मास्क' आविष्कार गरे। उपचारमा संलग्न डाक्टर, नर्सदेखि सरसफाइका कर्मचारीसहित प्रत्येक बिरामी र बिरामी नजिक जाने आफन्तलाई समेत कपासबाट बनेको मास्क लगाउन अनिवार्य गराए। स्थानीय समुदायलाई भीडभाड भएको ठाउँ निस्कँदा अनिवार्य मास्क लगाउन प्रोत्साहित गरे।
स्वस्थ व्यक्तिले आफ्नो नाक र मुख टम्म छोपिने गरी मास्क लगाउँदा भाइरस संक्रमणबाट जोगिन सक्ने डाक्टर वीको निष्कर्ष थियो। संक्रमणबाट जोगिन मद्दत गर्ने र लगाउन पनि सजिलो भएपछि वीको सिफारिस सदर भयो।
यति हुँदाहुँदै डाक्टर वीसँग सबै सहमत थिएनन्।
उनीसँगै फिल्डमा खटिएका जापानी तथा युरोपेली डाक्टरले वीको कुरा पत्याएनन्। बिरामीसँगको सम्पर्कले नै भाइरस सर्न सक्छ भन्ने आधारभूत कुरा त्यति बेला स्थापित भइसकेकै थिएन।
उनीहरूले तब मात्र वीलाई विश्वास गरे, जब उपचारमा संलग्न एक वरिष्ठ फ्रेन्च डाक्टरको प्लेग लागेरै मृत्यु भयो। उनले पनि अरू डाक्टरले जस्तै वीलाई पत्याएका थिएनन्। वीको लाख कोशिस बाबजुद ती डाक्टरले आफ्नो नाक–मुख नछोपी असुरक्षित ढंगले बिरामी जाँचिरहेका थिए।
यो घटनापछि सबैलाई वीको सल्लाह मान्न कर लाग्यो।
प्लेगले निमोनिया हुन्थ्यो। रोग लागेका अधिकांशको ज्यान जान्थ्यो। पहिलो लक्षण देखिएको चौबीस घन्टाभित्र बिरामीले अन्तिम सास फेर्थे।
सन् १९११ सम्म प्लेगले चीनमा करिब ६० हजार बढीको ज्यान गएको थियो। वीले आविष्कार गरेको मास्क प्रयोग नगरिएको भए योभन्दा बढीको मृत्यु हुन सक्थ्यो।
एउटा भयावह महामारी नियन्त्रणमा सघाउ पुर्याएको यो घटनापछि संसारभरि मास्कलाई स्वास्थ्य उपचारमा अनिवार्य मानियो, जुन आजपर्यन्त छ।
चिनियाँहरू आफ्नै भूमिबाट सुरू मास्कलाई रोगव्याधीसँग जुध्न सहयोगी मात्र मान्दैनन्, उनीहरूका निम्ति यसको महत्व त्योभन्दा बढी छ।
चीनका लागि मास्क यस्तो वस्तु हो, जसका माध्यमबाट उनीहरू आफूलाई आधुनिक र वैज्ञानिक मुलुकको श्रेणीमा उभ्याउँछन्। मास्कले कुनै समय यति महत्वपूर्ण दर्जा पाउनेछ भन्ने डाक्टर वीले त्यति बेलै भाँपेका थिए। त्यही भएर उनले प्लेगविरुद्ध अभियान गर्दा व्यापक रूपले तस्बिर खिच्न लगाए।
बिरामीसहित उपचारमा संलग्न डाक्टर तथा नर्सले मास्क लगाएको तस्बिर संसारभरि फैलियो। सन् १९११ जनवरीदेखि मार्चसम्म संसारभरिका अखबारमा वीले आविष्कार गरेको मास्कका थुप्रै तस्बिर प्रकाशन भए। यसले अन्तर्राष्ट्रिय जगतमै मास्कको महत्व बढाइदियो।
डाक्टर वीको मास्क उत्पादन गर्न सजिलो र सस्तो थियो। लगाउन अप्ठ्यारो थिएन। मान्छेको ज्यानै जोगाउँछ भनेपछि सुरक्षा दृष्टिले पनि यो कता हो कता उपयोगी सावित भयो।
पश्चिमी उपचार पद्दतिलाई यो चीनको ठूलो टक्कर थियो।
कोरोना भाइरस संक्रमण फैलिएपछि थाइल्यान्डको बैंकक विमानस्थलमा मास्क लगाएका चालक दलका सदस्य। तस्बिर: द न्यूयोर्क टाइम्सयो घटनाको केही वर्षपछि सन् १९१८ मा स्पेनिस इन्फ्लुयन्जाको महामारी फैलिँदा पनि सबैले सहजै मास्क लगाउन थाले। कम समयमै यो वस्तु मान्छेको स्वास्थ्यसँग जोडिएको अभिन्न अंग बन्यो।
पश्चिमी जगतमा मास्क प्रयोगले दोस्रो विश्वयुद्धपछि खासै निरन्तरता पाउन सकेन। चीनमा भने त्यसपछि पनि यसलाई स्वास्थ्य क्षेत्रमा आधुनिकीकरणको मानक मानियो र कुनै पनि स्वास्थ्य संकटसँग जुध्न अपरिहार्य हतियारका रूपमा लिइयो।
कोरियाली युद्धक्रममा मास्क प्रयोग अझ व्यापक भएको पाइन्छ। त्यति बेला चिनियाँ नेता माओले नयाँ कम्युनिस्ट राष्ट्र तहसनहस पार्न अमेरिकाले जैविक हतियार प्रयोग गरेको दाबी गरेका थिए। जैविक हतियार भनेको मानव स्वास्थ्यका लागि हानिकारक भाइरस वा जीवाणु हो, जसलाई 'दुश्मन' मुलुकको हावामा फैलाएर आक्रमण गरिन्छ। यस्तो विषाक्त हावामा सास फेर्दा ती जीवाणु शरीरभित्र गएर मान्छे बिरामी पर्छन्, मृत्युसमेत हुन सक्छ।
यस्तो भयावह आशंकाको घडीमा ज्यान जोगाउने भरपर्दो साथी मास्क नै बन्यो।
बीसौं शताब्दीको अन्तिम समयदेखि संसारभरि औद्योगिकीकरण र तीव्र सहरीकरणले बढेको वायु प्रदूषणबाट बच्न पनि मान्छेले मास्ककै सहारा लिए।
त्यसपछि आयो सन् २००२–०३, जब अहिलेजस्तै चीनमा सार्स महामारी फैलियो। सार्ससँग जुध्न चीनमा मात्र होइन, पूर्वी एसियाका अधिकांश मुलुकमा मास्कलाई 'एन्टि–भाइरल' उपकरणका रूपमा प्रयोग गरियो। त्यति बेला हङकङका ९० प्रतिशतभन्दा बढी व्यक्तिले मास्क लगाएर हिँडेको तथ्यांक छ।
सन् १९११ मा जस्तै फेरि एकचोटि मास्क लगाएका मान्छेको तस्बिर विश्वव्यापी बन्यो। एक्काइसौं शताब्दीको यो प्रचारले मास्कलाई सार्स संक्रमणसँग जुध्ने मानक बनाइदियो।
पश्चिमी जगतमा कहिलेकाहीँ क्षेत्रगत वर्गीकरण झल्काउन पनि मास्क प्रयोग गरिन्छ। कसैलाई गैरअमेरिकी वा गैरयुरोपेली व्यक्ति हो भनेर चिनाउन मास्क लगाएको तस्बिर वा चित्र प्रयोग गर्ने चलन छ। पूर्वी एसियामा भने यसको प्रयोग स्वास्थ्य सुरक्षासँग मात्र जोडिएको छैन, महामारी बेला आपसमा ऐक्यबद्धता जाहेर गर्ने माध्यम पनि बनेको छ।
यसपालि कोरोना भाइरस संक्रमण फैलिएपछि चीनका सबै प्रान्तमा मास्क व्यापक प्रयोग भयो। हुँदाहुँदा दक्षिण तथा पूर्वी एसियाली मुलुकमा धेरैले भीडभाडमा निस्कँदा मास्क लगाउन थाले। स्वास्थ्य सतर्कता र जोखिममा रहेका समुदायप्रति ऐक्यबद्धता प्रकट गर्ने माध्यम बन्यो।
सार्स प्रकोप बेला भएका विभिन्न अध्ययनअनुसार मास्कले जोखिमको समय अपनत्व र सद्भाव झल्काउने काम गरेको थियो।
समाजशास्त्री पिटर बेहर यसलाई 'मास्क संस्कृति' का रूपमा वर्णन गर्छन्। भन्छन्, 'मास्कले एकअर्काप्रति सद्भाव, विश्वास र नागरिक उत्तरदायित्व झल्काउँछ।'
(स्कटल्यान्डको युनिभर्सिटी अफ सेन्ट एन्ड्रियुसका मेडिकल मानवशास्त्री क्रिश्टोस लिन्ट्रेसको यो लेख हामीले द न्यूयोर्क टाइम्सबाट अनुवाद गरेका हौं।)