चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व अर्थतन्त्रलाई धक्का दिन थालेको छ। विगतमा यस्तै महामारी फैलिँदा वा अरू किसिमका संकट आउँदा विश्व अर्थतन्त्रमा कस्तो प्रभाव परेको थियो?
सन २००३ मा 'सार्स' फैलिँदा चिनियाँ अर्थतन्त्रको वृद्धिदर सुस्त भएको थियो। त्यसलगत्तै अर्को वर्ष त्यहाँको आर्थिक वृद्धिले गति लियो। यसपालि पनि रोग नियन्त्रणमा आएपछि अर्थतन्त्रले त्यति बेलाको जस्तै गति लिनेमा विश्लेषकहरू आशावादी छन्।
कोरोना भाइरसबाट ज्यान जानेको संख्या सार्सको तुलनामा बढी छ। आइतबारसम्म बिरामी संख्या ६० हजार र मृत्यु संख्या १ हजार ६ सय नाघेको छ। हरेक दिन संक्रमित संख्या घट्दो रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
रोगको प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको छ। यसले व्यावसायिक मनोबलमा ठूलो गिरावट ल्याएको छ।
यसअघिका महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभावबारे थोरै अध्ययन भएका छन्। विश्व बैंकले २००६ मा गरेको एक अध्ययनअनुसार सार्सको महामारीले रेस्टुरेन्ट, हवाई यातायात र सामान्य उपभोग्य वस्तु उत्पादनमा २० प्रतिशत कमी आएको थियो।
विश्व बैंकको त्यही अध्ययन पछ्याउने हो भने कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चिने अनुमान छ।
अमेरिकाबाट सुरू २००८ को वित्तीय संकटले विकसित मुलुकको अर्थतन्त्र ३.४ प्रतिशत, विकासशील मुलुकको २.९ र समग्र विश्व अर्थतन्त्र ०.१ प्रतिशत मात्र घटेको थियो।
चिनियाँ नयाँ वर्षको सेरोफेरोमा कोरोना भाइरस फैलिएकाले यसको आर्थिक असर व्यापक हुने अनुमान छ। पर्वको सेरोफेरोमा चीनमा खुद्रा व्यापार र यातायात गतिविधिमा ठूलो असर परेको छ। सिनेमा व्यापार लगभग शून्यमा झरेको समाचारहरूमा जनाइएको छ।
विदाको समय भएकाले अन्तर्राष्ट्रिय आपूर्तिमा भने खास असर परेको छैन। चिनियाँ विदाको समयलाई हेरेर विदेशी आयातकर्ताले पहिल्यै आवश्यक वस्तु जोहो गरेकाले ठूलो असर नदेखिएको हो।
हुबेइ प्रान्तका १५ सहर पूर्ण बन्द छन्। उद्योग, कलकारखानाले विदा लम्ब्याएका छन्। विदा मनाउन गएका र फर्किएर आफ्नो गन्तव्यमा जान चाहनेहरू थुनिएका छन्। रोग नियन्त्रणमा आउने र विदा चाँडै टुंगिनेमा कामदार आशावादी छन्। यसपछि पनि आर्थिक गतिविधिले गति लिन समय लाग्ने विश्लेषकको भनाइ छ।
सन् २००३ ताका चीनले विश्व अर्थतन्त्रको ४.४ प्रतिशत हिस्सा ओगट्थ्यो। हाल यो अनुपात बढेर १५.४ प्रतिशत पुगेको छ। विश्व अर्थतन्त्रमा चीनको बढ्दो प्रभावका कारण उसको अर्थतन्त्रमा आउने मन्दीको असर पहिलेभन्दा व्यापक हुनेछ।
हाल चीन विद्युतीय सामग्री तथा अन्य प्राविधिक वस्तुको सबभन्दा ठूलो आपूर्तिकर्ता हो। चिनियाँ उपभोक्ताले विश्व उत्पादनको ठूलो हिस्सा खपत गर्छन्। आन्तरिक तथा बाह्य वस्तुको खपतमा चिनियाँ उपभोक्ताको हिस्सा पछिल्ला वर्ष बढिरहेको छ। त्यसैले चिनियाँ उपभोक्ताको आम्दानी घट्नु र उपभोगलाई उनीहरूले स्थगित गर्दै लैजाँदाको असर पनि विश्व अर्थतन्त्रमा ठूलो हुन सक्छ।
चिनियाँ केन्द्रीय बैंक एउटा आशाको केन्द्र हो। उसँग ठूलो परिमाणमा विदेशी मुद्रा सञ्चित छ। सम्भावित आर्थिक मन्दीबाट उतार्न उसले आफूसँग भएको धनराशी प्रयोग गर्न सक्छ। उसले चिनियाँ बैंकहरूलाई अनिवार्य मौज्दात अनुपातको प्रावधान थोरै लचिलो बनाइदियो भने पनि झन्डै ५०० अर्ब डलर बराबर रकम लगानीका लागि खुला हुन्छ।
यसअघि चीन सरकारले २००३ मा पनि आर्थिक उत्थानका लागि व्यावसायिक र कर्पोरेट करमा कटौती गरेको थियो।
सार्स महामारी बेला चिनियाँ सेयर बजार परिसूचक ४ प्रतिशत मात्र घटेको थियो। सार्स नियन्त्रणलगत्तै उक्त परिसूचक द्रुत गतिमा उकालो लागेको थियो। छिमेकी मुलुक खासगरी दक्षिण पूर्वी एसियाका बजारमा भने ढिलो बढोत्तरी भएको थियो।
(एजेन्सीको सहयोगमा )