कञ्चनपुर–१ बाट निर्वाचित तारा लामा तामाङले आइतबार पूर्वशिक्षामन्त्री विद्या भट्टराई टेम्पो चढिरहेको फोटो सार्वजनिक गरे।
गत वैशाख ८ गते शिक्षा मन्त्रीबाट राजीनामा दिएकी भट्टराईले टेम्पो चढिरहेको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ।
त्यसो त नेताहरू टेम्पो चढेका दृश्य यसअघि पनि सञ्चारमाध्यममा आउने गरेका थिए।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी सार्वजनिक सवारी साधनमै ओहोरदोहोर गर्छन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कुनै बेला सार्वजनिक सवारी चढेर नै चर्चामा आएका थिए।
एमाले सचिव गोकर्ण विष्ट मन्त्री पद छाड्नेबित्तिकै ट्याक्सी चढेर गएको दृश्यले पनि प्रशंसा बटुलेको थियो।
अहिले पूर्वशिक्षा मन्त्री भट्टराईको त्यसै गरी प्रशंसा भइरहेको छ।
सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको तस्बिर एमाले सांसद तारा लामा तामाङले नै खिचेका हुन्।
‘प्रतिनिधि सभा २०७९, छैटौं अधिबेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि पठाओ मोटरसाइकल पर्खाइमा थिएँ। निवर्तमान मन्त्री माननीय विद्या भट्टराईज्यू संसद बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पुमा चढ्दै गरेको देखेँ। र, मैले लिएका उहाँका केही फोटोहरू मन परेकोले पोष्ट गरे हैं,’ उनले फेसबुकमा लेखेका छन्।
यसबारे हामीले पूर्वमन्त्री भट्टराईलाई पनि सोध्यौं।
उनले सार्वजनिक यातायात चढ्ने आफ्नो नियमित दिनचर्या भएको बताइन्। बाहिर निस्कँदा सार्वजनिक सवारी साधन नै प्रयोग गर्दै आइरहेको बताउँदै समाचार नै बन्नुपर्ने विषय भने नरहेको प्रतिक्रिया दिइन्।
उनका अनुसार अहिले प्रसार भएरहेको तस्बिर शनिबारको संसदीय दल बैठक आउँदाको हो।
‘हाम्रै सांसद तारा लामा तामाङले मलाई उक्त फोटो देखाउनुभयो। उहाँले आफै खिच्नुभयो कि, अरूले नै खिचेको हो थाहा भएन। उहाँले हाल्छु भन्नुभयो। मैले हुन्छ नि त भनेँ। तर सबैतिर सेयर भइरहेको देखेँ,’ उनले भनिन्।
पूर्वमन्त्री भट्टराई अहिले चाबहिल बस्दै आएकी छिन्। २०७८ सालमा गाडी बेचेयता आफूसँग निजी सवारी नभएको उनले बताइन्।
‘गाडी बेचेकाले म सार्वजनिक सवारी नै प्रयोग गर्दै आएको छु। त्यसअघि मानिसहरूको आँखा परेको थिएन होला। अहिले चर्चा भयो। यति चर्चा गर्नुपर्ने विषय हो जस्तो लाग्दैन,’ उनले भनिन्।
भट्टराई २०७९ सालमा दोहोर्याएर सांसद जितेकी हुन्।
पति रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको राजनीतिमा पुनरागमन भएको हो। त्यसअघि एमालेनिकट अनेरास्ववियुमै क्रियाशील भए पनि अधिकारीसँग विवाह भएपछि उनी राजनीतिमा सक्रिय भएकी थिइनन्।


-1745751009.jpg)
