नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बलियो उड्डयन सेवा विधेयक पास गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक छ।’
उनले नेपाली पर्यटन क्षेत्र भ्रष्ट क्षेत्रमा बदनाम रहेको भन्दै यसलाई सफा गर्नुपर्ने बताए।
‘मैले धेरै अघिदेखि नै नेपालको उड्डयन सुरक्षाको अवस्था अत्यन्तै कमजोर रहेको र सुधार आवश्यक रहेको कुरा उठाउँदै आएको छु। नेपाल अझै पनि युरोपियन युनियनको कालो सूचीमा परेको छ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले लगातार निगरानी गरिरहेको अवस्था छ। हाम्रो हवाई सुरक्षा मापदण्ड निकै न्यूनस्तरमा रहेको तथ्य सबैलाई थाहा छ,’ उनले भने।
नेपालको हवाई सुरक्षाको कमजोरीले हाम्रो हिमाल पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको पनि उनले बताए।
‘यो वर्ष सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरू आएका छन् र यदि तिनीहरूको सहयोगी समूह र भरिया समूहलाई समेत गणना गर्ने हो भने २००० भन्दा बढी व्यक्तिहरू आरोहण टोलीका रूपमा रिपोर्ट हुनेछन्। तर पर्यटन मन्त्रालयसँग भविष्यमा सम्भावित विपद् व्यवस्थापनको योजना छैन, न त सुरक्षित आरोहण मार्ग पहिचान गरिएको छ,’ उनले भने।