अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धले चर्काएपछि चीनले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन आफ्ना एअरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको छ।
चीन सरकारले नयाँ जहाजका लागि खरिद सम्झौता मात्रै नभएर पहिल्यै सम्झौता भइसकेका जहाजको पनि डेलिभरी रोकिन सक्ने ब्लुमबर्गले लेखेको छ।
हवाई जहाजसम्बन्धी कुनै पार्टपुर्जा पनि अमेरिकी कम्पनीहरूसँग नकिन्न पनि चीन सरकारले उर्दी जारी गरेको छ।
आफ्नो ७३७ म्याक्स मोडलमा समस्या आएका कारण संकटमा परेको बोइङ कम्पनी चीनले जहाज नकिन्ने भएपछि थप संकटमा परेको छ। यो समाचार सार्वजनिक भएको केही घण्टामै बोइङको सेयरको भाउ ४.६ प्रतिशतले घटेको भनेर ब्लुमबर्गले जनाएको छ।
द्रुतगतिमा आर्थिक विकास गरेको र एक अर्बभन्दा बढी जनसंख्या भएको चिनियाँ बजारमा बोइङको पहुँच बन्द भएपछि अमेरिकीले राष्ट्रिय गौरवका रूपमा लिने सो कम्पनीलाई समस्या पर्नेछ।
आगामी दुई दशकमा विश्वमा ठूला हवाई जहाजको मागको २० प्रतिशत हिस्सा चिनियाँ एअरलाइन कम्पनीहरूले ओगट्ने प्रक्षेपण छ। यति ठूलो हिस्सा पहुँच बाहिर भएपछि समस्याग्रस्त बोइङलाई उठ्न थप मुस्किल पर्नेछ।
पहिलो कार्यकालमा पनि चीनसँग व्यापार युद्ध सुरू गरेका ट्रम्पले दोस्रो कार्यकालमा यसलाई झन् धेरै चर्काएका छन्।
पहिले ट्रम्पले चिनियाँ उत्पादनमा भन्सार बढाउने अनि चीनले त्यसको जबाफ दिने क्रम पटक पटक हुँदा अब चीनलाई घटीमा १४५ प्रतिशत र अमेरिकालाई १२५ प्रतिशत भन्सार लाग्नेछ।
चीनलाई गलाउन भनेर ट्रम्पले सोमबार १०४ प्रतिशत भन्सार घोषणा गरेलगत्तै चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत भन्सार लगाउने घोषणाले रिसाएका ट्रम्पले बिहीबार भन्सार बढाएर १४५ प्रतिशत पुर्याउने घोषणा गरेका थिए।
त्यसको जबाफमा शुक्रबार चीनले पनि अमेरिकी उत्पादनमा लाग्ने भन्सार दर बढाएर १२५ प्रतिशत पुर्याएको छ।
पछिल्लो वृद्धि घोषणा गर्दै चिनियाँ मन्त्रिपरिषद स्टेट काउन्सिलको भन्सार महसुल आयोगले यसपछि भने चीनले अमेरिकी उत्पादनमा थप भन्सार नबढाउने जनाएको भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।
अमेरिकाले भन्सारमा संख्याको खेल खेलिरहे पनि चीनले भने अब त्यसलाई बेवास्ता गर्ने सो आयोगले जानकारी दिएको छ।
अहिलेकै दरमा नै अमेरिकी वस्तु चिनियाँ बजारमा बिक्न गाह्रो हुने भन्दै अमेरिकाले अझै चीनमाथि थप भन्सार लगाए पनि चीनले अझै बढाउनुको आर्थिक रूपमा केही पनि अर्थ नहुने आयोगले स्पष्ट पारेको छ।
यसरी ट्रम्पको दोस्रो कार्यकालमा विश्वका सबभन्दा ठूला दुई देशबीच व्यापार युद्ध चर्किएको छ।
चीनले ठगेर अमेरिकालाई धेरै व्यापार घाटा भएको आरोप लगाउँदै ट्रम्पले चीनसँग व्यापार युद्ध चर्काएका हुन्।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार सन् २०२४ मा अमेरिकाको चीनसँग दुई खर्ब ९५ अर्ब ४० करोड डलरको व्यापार घाटा थियो।
गत वर्ष दुई देशबीच कुल पाँच खर्ब २८ अर्ब ४० करोड डलरको व्यापार भएको थियो। त्यसमा चीनले अमेरिकालाई चार खर्ब ३८ अर्ब ९० करोड डलरको सामान बेचेको र अमेरिकाले चीनलाई एक खर्ब ४३ अर्ब ५० करोडको वस्तु बेचेको थियो।
अमेरिकाले चीनबाट मुख्यतः इलेक्ट्रोनिक्स, मेसिनरी, उपभोग्य वस्तुहरू, औषधि र चिकित्सा सामग्री, अटो पार्ट्स र सोलार प्यानल अनि ब्याट्री आयात गर्छ।
इलेक्ट्रोनिक्समा आइफोन लगायत स्मार्टफोन, ल्यापटप, टेलिभिजन, र त्यसका सामान लगायत पर्छन्। त्यस्तै मेसिनरीमा औद्योगिक उपकरण, विद्युत उत्पादनमा प्रयोग हुने उपकरण र निर्माण सामग्री लगायत पर्छन्।
उपभोग्य वस्तुमा लुगा, जुत्ता, खेलौना र फर्निचर लगायत पर्छन्।
चीनले भने अमेरिकाबाट मुख्यतः कृषि उत्पादन, हवाई जहाज अनि त्यसका र एरोस्पेसका पार्टपुर्जाहरू, इन्धन, सवारी साधन र अटो पार्ट्स, रासायनिक पदार्थ, आणविक भट्टीका लागि चाहिने मेसिनरी र अत्याधुनिक प्रविधिका लागि चाहिने चिप्स लगायत वस्तु आयात गर्छ।
चीनले अमेरिकाबाट किन्ने कृषि उत्पादनमा भटमास, सुँगुरको मासु, मकै, र कपास लगायत पर्छन्। चीन अमेरिकी भटमासको सबभन्दा ठूलो ग्राहक हो।
त्यस्तै, इन्धनमा तरल प्राकृतिक ग्यास (एलएनजी), कच्चा तेल, र कोइला लगायत पर्छन् भने रासायनिक पदार्थमा प्लास्टिक, मल, र विशेष रसायनहरू पर्छन्।
चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने ट्रम्पले निर्णय गरेका छन्।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार राति सूचना जारी स्मार्टफोन, कम्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा भन्सार छुट दिने जानकारी दिएको छ। विभागको सो निर्णय अनुसार त्यस्ता सामानमा १० प्रतिशत विश्वव्यापी भन्सार पनि नलाग्ने भएको छ। तर दोस्रो कार्यकालको सुरूमा १० प्रतिशतको दरले दुईपटक गरेर बढाएको २० प्रतिशत दर भने लाग्नेछ।
अरू चिनियाँ उत्पादनमा भने ट्रम्पले दोस्रो कार्यकालमा लगाएको १४५ प्रतिशत भन्सार दर लाग्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)