राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा राष्ट्रपतिले चासो देखाएको उनको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न आग्रह गरेका हुन्।
सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारूकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताएका थिए।
लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।