राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरूले तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनसहित पार्टीका नेताहरूले शनिबार रजकका परिवारका सदस्यहरूसँग भेटघाट गरेका हुन्।
एभिन्युज टेलिभिनमा कार्यरत पत्रकार रजकको तीनकुनेस्थित आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।
रजकको परिवारसँगको भेटपछि अध्यक्ष लिङ्देनले न्यायिक छानबिन समिति बन्नुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने बताए।
साथै मृतकलाई शहीद घोषणा गरिनुपर्ने उनको भनाइ छ। यस विषयमा राप्रपाले सडक र सदन दुवै मोर्चामा आवाज उठाउने प्रतिबद्धता उनको थियो।
राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो।